२०८३ वैशाख ११ , शुक्रबार

अझै भेटिएनन् ब्यारेकबाटै बेपत्ता भएका नेपाली सेनाका मेजर



सुर्खेत । आइतबार साँझदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको डोल्पाका गुल्मपति ३८ वर्षीय विमल पण्डित अझै सम्पर्कमा आएका छैनन् । डोल्पाको दुनैस्थित नन्द बक्स गुल्मका प्रमुख पण्डित आइतबार अपराह्नपछि सम्पर्कविहीन भएका थिए । अपराह्न चार बजेपछि उनी सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए ।

 

करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए । एकाएक सम्पर्कविहीन भएपछि निरन्तर सम्पर्क गर्ने र खोजी कार्य जारी रहे पनि पाँचौँ दिन बितिसक्दा पनि अहिलेसम्म सम्पर्कमा नआएको पोखरेलले बताए । अहिले डोल्पा, रुकुम, जाजरकोट र जुम्लामा उनको खोजी भइरहेको पोख्रेलको भनाइ छ ।

‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरू परिचालन गरिएको छ। रातदिन नभनी डोल्पाका प्रत्येक घरघर, खोला–खाल्सा सबैमा सुरक्षाकर्मी पुगेका छन्। तैपनि पत्ता लाग्न सकेको छैन,’ पोख्रेलले भने । ‘काठमाडौं कागेश्वरी नगरपालिका डाँछी घर भएका मेजर पण्डितले हराएकै दिनमा त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट पुगेर नगद २६ हजार साटेका रहेछन्।

 

  झोला पनि किनेछन्, त्रिपुराकोटमै मोबाइल चार्ज गरेको र त्यसपछि एक होटेलमा पुगेर कोठा छ–छैन भनी सोधेको कुरा पनि अनुसन्धानबाट खुलेको छ,’ उनले थपे । यी सबै कुरा नियाल्दा मेजरले सुसाइड गरेको हुन नसक्ने प्रजिअ पोख्रेलको दाबी छ । एउटा जिल्लाका सुरक्षा निकायको प्रमुख हराउँदा समग्र जिल्ला नै दुःखी भएको र अन्तिम अवस्थासम्म खोजीकार्य जारी राख्ने उनले बताए ।

 

मेजर पण्डित हराएको दिनदेखि पुलिस र आर्मीको गाडी प्रत्येक दिनजसो त्रिपुराकोट बजारमा देखिएको छ ।  उनकै खोजीका लागि जुम्लाबाट कर्णेल सुमन श्रेष्ठ पनि रामवाण गुल्म सुलिगार्ड आइपुगेका छन्। स्वभावले कमै बोल्ने बानी भएका मेजर पण्डित मानसिक हिसाबमा ठीक रहेकाले घरायसी विवादले कतै गएको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

प्रकाशित मिति : २०८० भदौ १६ गते शनिबार