
सुर्खेत १०, चैत्र
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले फागु पूर्णिमा (होली) को अवसरमा भिडभाड हुन नदिने र कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेशन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा भएको वैठकमा स्वास्थ्य केन्द्रहरुबाट प्रदान गरिने सेवालाई अझ प्रभावकारी बनाउने, कोभिड–१९ संक्रमण थप फैलन नदिन विद्युतीय माध्यमबाट चेतनामुलक सन्देश प्रसारण गर्ने र स्वास्थ्य परीक्षण गराई संक्रमणको अवस्था पहिचान गर्ने लगायतका निर्णयहरु भएको थियो।
वैठकले स्वास्थ्य मापदण्ड पालना गर्न कडाइ गर्ने, मास्क नलगाउनेहरुलाई संक्रामक रोग ऐन बमोजिम कारवाही गर्ने र सिमा नाकाहरुबाट आउने व्यक्तिहरुको अनिवार्य रुपमा अभिलेख राख्ने व्यवस्था मिलाउने जस्ता निर्णयहरु गरेको छ।
कंचनपुरमा निषेधाज्ञा
भारतमा कोरोनाले पुनः महामारीको रुप लिदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार राति १२ वजेदेखि अर्को व्यवस्था नभएसम्म आंशिक निषेधाज्ञा जारी गरेको छ।
भारतका केही राज्यहरूमा कोरोना संक्रमणको दर ह्वात्तै बढिरहेको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना रहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर प्रशासनले विभिन्न आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोद्वारा हस्ताक्षरित आदेशमा होली लगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भीडभाड वा जुलुस गर्न पाईने छैन। यस्तै, सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्न समेत भनिएको छ।
गौरीफन्टा र गड्डाचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला रहने छ। यी बाहेकका नाका र बिन्दुबाट आवतजावत पूर्णरूपमा बन्द हुने भएको छ। यस्तै, नाकामा रहेका हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराउनु पर्ने र विवरण टिपाउन आग्रह गरिएको छ।
आदेशमा अत्यावश्यक बाहेकका व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, यातायात लगायतका सेवा एवं मानिसहरुको आवागमन बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी गर्न पाउने भनिएको छ।
त्यसैगरी सबै व्यक्तिहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको मापदण्ड कडाइका साथ पालना गर्नु पर्ने लगायतका आदेश जारी गरिएको छ। यी आदेशमा भएको व्यवस्थाको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गरिने उल्लेख गरिएको छ।