२०८३ वैशाख १२ , शनिबार

एमाले प्रदेश अधिवेशन : नेताहरू विलासी र गुटबाज बनेको कार्यकर्ताको आरोप



कल्पना हमाल, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अधिवेशन सुरु हुन अब केही दिन बाँकी छ। अधिवेशनको संघारमा सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीको प्रदेश अधिवेशनलाई लिएर कार्यकर्ता तहमा भने गम्भीर बहस सुरु भएको छ।

एमालेले जुन वर्ग र समुदायको मुद्दा उठाउने गर्दथ्यो, पछिल्ला दिनहरूमा त्यो त्यो वर्ग र समुदायको एजेन्डाबाट टाढा हुँदै गएको, विलासिता र जाँडरक्सीमा नेताहरूको दिनचर्या बित्ने गरेको स्वयं उक्त पार्टीका जिम्मेवार तहमा बसेका कार्यकर्ताहरूले नै उठाएर एउटा अलग बहसको सिर्जना गरिदिएका छन्।

नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटी सदस्य एवम् वडा नं ३ का इन्चार्ज लोकेन्द्र थापाले आइतबार एक फेसबुक स्टाटस लेख्दै पार्टीको अधिवेशनमा कार्यकर्ताले जम्मा गरेको लेवी उठाएर नेताहरूले जाँडपानीमा खर्च गर्ने गरेको गम्भीर आरोप लगाए। उनले पार्टी अधिवेशनका नाममा सदस्यबाट उठाइएको लेवीबाहेक प्रत्येक प्रतिनिधिबाट प्रतिव्यक्ति ४ हजार ५ सय रकम उठाएर भ्रष्टाचारजन्य अपराध गरेको बताए।

थापाले अधिवेशनका नाममा व्यापारीहरूबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूबाट प्रतिव्यक्ति ५० हजार भन्दा बढी उठाइएको खुलासा गरे। उनले सर्वहारा वर्गको प्रतिनिधि बनेकाहरू नै पुँजीवादी अहङ्कार बोकेर हिँडेको बताए। उनले कम्युनिस्ट पार्टीका नेताहरूले उपभोग गर्ने परिकारहरू कम्तीमा ११ देखि १७ आइटमसम्म हुने गरेको व्यङ्ग्य गरे।

उनले खानाको जिम्मा ठुला तारे होटेललाई दिने गरेको बताए। थापाले नेताहरू सानो होटेलमा बस्न नमान्ने र कार्यकर्ताको पैसाले ठुला तारे होटेलमा बस्ने गरेको भन्दै रोष प्रकट गरे। उनले नेताहरू कार्यकर्ताहरूले उठाएको पैसाबाट मदिरा सेवन गर्ने गरेको आरोप लगाउँदै भने, ‘सकभर बिजुली पानी पनि यसो न हान्ने हो। बिजुली पानीको बिल देखाउन मिलेन भने यसो खानाको सङ्ख्या बढाएर विल बनाउने हो।’

अधिवेशनका नाममा नेताहरूले ठुलो रकम उठाइरहेको भन्दै प्रतिनिधिबाट उठेको पैसाले पुगेन भने बजारमा रहेका व्यापारीबाट रकम उठाइरहेको आरोप लगाए। उनी लेख्छन, रसिद लिएर ५ सयभन्दा माथि करकाप गरेर उठाउन लागिएकै छ। व्यापारीले दिनमानि हाल्छन् यसो हामी नेता भयौ भने ब्याज कम गर्ने आन्दोलन गरौला नि भनेर भन्ने नै हो।’

आन्दोलन र अधिवेशनका नाममा जनता र कार्यकर्ताहरूलाई दुख दिने गरेको उल्लेख गर्दै सुर्खेतका नेता कार्यकर्ता प्रयोग गरेर जनसागर उतार्ने गरिएको र अधिवेशन र आन्दोलन सफल भएपछि सुर्खेतका कार्यकर्ताहरूको अवमूल्यन गर्दै बाहिरका जिल्लाका कार्यकर्ता बढी उपस्थित भएको भन्दै सुर्खेतको योगदानको अवमूल्यन गर्न पार्टी नेतृत्वसँग खुरापाति गर्ने गरिएको उल्लेख गरे।

नेताहरू चरम गुटबन्दीमा फसेकोले अधिवेशनले एमालेलाई गति नदिने उनले सङ्केत गरे। कर्णाली प्रदेश अधिवेशन सर्वसम्मत नहुँने भन्दै थापाले सहमतिमा नेतृत्व चयन गर्न कार्यकर्ता नभै नेताहरूले नै नदिने बताए।

नेकपा एमालेका नेता एवम् प्रदेश कमिटी सदस्य धनसिं खड्काले पार्टी गलत बाटोमा हिँडेको बताए। उनले जुन उद्देश्य राखेर पुष्पलालहरूले पार्टी स्थापना गरे र मदन भण्डारीले जनताको बहुदलीय जनवादको व्याख्या गरे अहिले आफूले त्यो कहीकतै नभेटेको उनको भनाइ छ।

खड्काले अधिवेशनका लागि  प्रतिनिधि छनौट गर्दा कार्यकर्ताको त्याग र इतिहासको पूर्णरूपमा अवमूल्यन गरिएको भन्दै दुख व्यक्त गरे। ‘प्रतिनिधि छनौट गर्दा गुटलाई प्राथमिकतामा राखिएको छ। प्रदेशका प्रमुख नेताहरू नै गुटबन्दीमा रमाइरहेका छन्।

पार्टीको तल्लो तहका कार्यकर्ता र जनताबिचको सम्बन्ध लगभग विच्छेद भएको छ’ उनले भने। नेता सुध्रन बित्तिकै पार्टीले सही गन्तव्य फेला पारिहाल्ने उनको तर्क छ। नेताहरू विलासिता र मोजमस्तीमा लागेको आरोप लगाउँदै जनतासँग टुट्न लागेको सम्बन्ध जोड्न अहिलेको प्रदेश अधिवेशन सफल बनाउन र कम्युनिस्ट चरित्र भएको नेतृत्व ल्याउन लागिपरेको उनको भनाइ छ।

यसबारेमा प्रतिक्रिया लिन खोज्दा एमाले कर्णाली प्रदेशका सचिव टेकराज पछाइले पार्टी सदस्यहरूबाट पैसा उठाउनु स्वाभाविक भएको तर्क गरे। सामाजिक सञ्जालमा आरोप लगाउनेहरूले आरोप लगाउँदैमा पार्टीलाई कुनै असर नपर्ने  प्रष्ट पारे। आलोचना गर्नु सजिलो तर काम गर्न गाह्रो भएको उनको भनाइ छ।

पार्टीले पैसा र लेवी नउठाए पार्टी नै नचल्ने भन्दै अहिले पार्टीका नाममा भइरहेका गतिविधिहरूको बचाउ गरे। पछाइले एमालेको अधिवेशन वीरेन्द्रनगरको सिटीहलमा हुने जानकारी दिए। अधिवेशनका लागि कति भाडा तिर्ने भन्नेबारेमा अहिलेसम्म छलफल नै नभएको र पहिले दैनिक ५० हजार तिर्ने गरेको आफूलाई जानकारी भएको बताए।

उनले अधिवेशनमा ६ सय १४ जना जति प्रतिनिधि सहभागी हुने निश्चित भएको जनाए। उनले अधिवेशनको अवधि असोज १२ गतेसम्म गर्नेगरी तोकिएको र निर्वाचन प्रक्रियामा गए १३/१४ गतेसम्म जानसक्ने बताए। अधिवेशनमा सहभागी प्रतिनिधिको लागि खानाको व्यवस्था पार्टीले गर्ने र अरू सबै व्यवस्थापन प्रतिनिधि आफैले गर्नुपर्ने उनले जानकारी दिए।

प्रकाशित मिति : २०८० असोज ७ गते आइतबार