
पूर्ण कुमार, डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ को जिउ गाउँमा टेलिफोनको टावर बन्न नसक्दा स्थानीयहरूले सास्ती खेप्नु परेको छ । त्रिपुरासुन्दरी नगरपालिकाको अन्य वडाहरू सञ्चार पहुँचमा जोडिँदै गर्दा जिउँ गाउँमा भने टेलिफोनको टावर नहुँदा नागरिकहरूले वर्षौदेखि सास्ती खेप्नु परेको हो ।
गाउँमा सामान्य फोन गर्न पनि कहिले रुखमा चढ्नुपर्ने त कहिले डाँडाकाँडा धाउनुपर्ने बाध्यता रहेको स्थानीयहरू बताउँछन् । देश सङ्घीयतामा गएको वर्षौँ भइसक्दा पनि तीनै तहको सरकारले जिउँ गाउँप्रति खासै चासो नलिएको स्थानीयहरू बताउँछन् ।
कसैसँग सम्पर्क गर्नु परेमा घरभन्दा बाहिर छत, डाँडाकाँडा, अग्लो रुखमा जानुपर्ने बाध्यता रहेको महादेव आधारभूत विद्यालयका प्रधानाध्यापक राम बहादुर गुरुङले बताए । गाउँ टावरविहीन भएको वर्षौँ भइसक्दा पनि कसैको ध्यान नजाँदा जिउ गाउँका बासिन्दा इन्टरनेट सेवाबाट समेत वञ्चित हुनु परेको छ ।
जिउँ गाउँ कर्णाली प्रदेश सरकार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री उर्मिला विश्वकर्माको गाउँ समेत हो । २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कर्णाली प्रदेशको समानुपातिक सांसद बनेकी उर्मिला विश्वकर्मा अहिले प्रदेश सरकारकी मन्त्री समेत छिन् । आफ्नो गाउँ नै यसरी वर्षौँसम्म सञ्चारविहीन हुँदासमेत मन्त्रीसँग कुनै योजना भने देखिँदैन ।
निर्वाचनको बेला गाउँमा सञ्चार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा विकास गर्ने प्रतिबद्धता जनाएकी मन्त्री विश्वकर्मा निर्वाचनपछि २ पटक मात्रै गाउँमा आएकी छन् । गाउँ आउँदा पनि मन्त्रीसँग सञ्चारका लागि विस्तृत योजना भने नदेखिएको स्थानीयहरू बताउँछन् । मन्त्री विश्वकर्माले केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म आफ्नै पार्टी सत्तामा रहँदा पनि आफ्नो गाउँलाई सञ्चारको पहुँचमा पु¥याउन नसकेको गाउँवासीहरूको गुनासो छ ।