
सुर्खेत । नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन बुधवारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । मंगलबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै एमाले प्रदेश अध्यक्ष विनोदकुमार शाहले अधिवेशनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
‘अधिवेशनको सबै तयारी पूरा भइसकेको छ, अधिवेशनलाई हामीले ठूलो अवसरका रूपमा लिएका छौं,’ उनले भने । पत्रकार सम्मेलनमा अध्यक्ष शाहले सुर्खेतस्थित सिटी हलमा हुने प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे गर्ने जानकारी दिए । अधिवेशनमा महासचिव शंकर पोखरेल पनि अतिथिको रूपमा सहभागी हुनेछन् ।
कर्णाली प्रदेश अधिवेशनमा ६०४ जना प्रतिनिधि सहभागी हुने र तीमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने प्रदेश अध्यक्ष शाहले बताए । अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूमध्ये १९५ जना महिला छन् । यसभित्र समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन् । पार्टी सदस्यको आधारमा छनोट गरिएका १० जिल्लाका ५५४ जना प्रतिनिधि रहेका छन्।
जिल्लागत रूपमा सुर्खेतका एक सय १२, जाजरकोटका ७५, दैलेखका ७४, कालीकोटका ६५, हुम्लाका ४८, जुम्लाका ४८, डोल्पाका ३९, मुगुका ३३ र रूकुम पश्चिमका २३ जना प्रतिनिधि रहेका छन् । असोज ११ गते अधिवेशनको बन्द सत्र हुनेछ । बन्द सत्रबाट पार्टीको राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदन पारित गर्नेछ । अधिवेशनबाट ५ जना पदाधिकारीसहित १३५ सदस्यीय प्रदेश कमिटी बन्नेछ ।
अधिवेशनको उद्घाटन सत्रमा करिब ५ हजार जनाले अवलोकन गर्ने एमाले प्रदेश कमिटीले जनाएको छ । अवलोकनका लागि सिटी हलको बाहिरपट्टि पनि टेन्टको व्यवस्थापन गरिएको प्रदेश अध्यक्ष शाहले जानकारी दिए । उनले अधिवेशनलाई एउटा अवसरको रुपमा लिएको बताए ।
यस्तै शाहले कर्णाली प्रदेशमा नयाँ नेतृत्व सर्वसहमतिले चयन गर्ने प्रयास भइरहेको समेत बताएका छन् । अध्यक्ष शाहले सर्वसम्मत नेतृत्व चयन गर्ने बताए पनि कर्णालीमा भने मतदान हुने निश्चित देखिन्छ । नेतापिच्छे गुट उपगुट बनिरहेका कारण मतदान हुने सम्भावना छ ।