२०८३ वैशाख १३ , आइतबार

काँक्रेविहार क्लबको नयाँ नेतृत्व, अध्यक्षमा रायमाझी



सुर्खेत । काँक्रेविहार क्लबको विशेष साधारण सभा सम्पन्न भएको छ । मङ्गलवार वीरेन्द्रनगरमा क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभामा प्रमुख अतिथिको रूपमा कर्णाली प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री माननीय वेदराज सिंह, काँक्रेविहार क्लबका संरक्षक एवम् वरिष्ठ पत्रकार शुसिलराज शर्मा तथा वीरेन्द्रनगर-६ का वडा अध्यक्ष जनक रावलको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै मन्त्री सिँहले खेलकुदको विकासका लागि लगानी गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । ‘खेलकुद र खेलाडीको विकासका लागि प्रदेश सरकार हरदम तयार छ । असोज ७ गतेको मन्त्रीपरिषद्को बैठकबाट समेत हामीले शिर्षकगत रुपमा खेलकुदका लागि बजेट बिनियोजन गरेका छौं,’मन्त्री सिंहले भने, ‘कर्णाली र समग्र नेपाललाई विश्वमा चिनाउन खेलकुदले विषेश भूमिका खेलेको छ ।’

उनले यस्ता क्लवहरुबाट नै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने भएकोले क्लवलाई सक्षम बनाउन आवश्यक रहेको बताए । कर्णाली प्रदेश खेलकुद परिषद्का प्रशिक्षक प्रदिप राइले क्लवहरु स्वस्थ र अनुशासित खेलाडी उत्पादन गर्ने थलो भएकोले यस्ता क्लवहरुलाई जोगाउन राज्यले विषेश नीति तथा कार्यक्रम ल्याउन जरुरी रहेको बताए । खेलकूद ऐन २०७७ ले प्रशिक्षकको हदबन्दी तोकेका कारण केही वर्षमा ८० प्रतिशत खेलाडी रिटायर्ड हुने र प्रशिक्षकको कमी हुने अवस्था सिर्जना भएको उनले बताए ।

त्यस्तै वीरेन्द्रनगर—६ वडा अध्यक्ष एवं निवर्तमान सुर्खेत फुटबल संघका अध्यक्ष जनक रावलले खेलक्षेत्रमा सुर्खेत र कर्णालीको पहिचानमा कांक्रेबिहार क्लवको महत्वपुर्ण योगदान रहेको बताए । त्यस्तै कलवका संरक्षक सुशीलराज शर्माले खेल क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको क्लवले पहिलो कांक्रेविहार गोल्डकप लगायतका अन्य थुप्रै खेलकुद प्रतियोगिताको आयोजना गरी खेलाडी उत्पादनको कारखाना बनेको बताए ।

क्लवले विद्यालय र सामुदायिक रुपमा स—साना खेल तथा गतिविधि गरिरहेको छ शर्माको भनाई छ । त्यस्तै साधारणसभाले रमेश रायमाझीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमित सर्वसम्मत रुपमा चयन गरेको छ । जसको उपाध्यक्ष श्यामकुमार तामाङ्ग, सचिवमा मोहन राना, कोषाध्यक्षमा चन्द्र रेग्मी र सहसचिवमा पवन राना चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा प्रदिप थापा, सुदिप रोका, सुपबहादुर शाही अनमोल भट्टराई रहेका छन् । निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष चन्द्रप्रकाश शाहीले बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ९ गते मंगलबार