
सुर्खेत । ट्राफिक नियमको पालना गराउने ट्राफिक प्रहरी सुर्खेत जीर्ण सडक मर्मतमा जुटेको छ । अन्य समयमा सडकमा बसेर ट्राफिक नियम पालना गरे या नगरेको भन्दै सवारी चेकजाँचमा खट्ने ट्राफिक प्रहरी सडक मर्मतमा जुटेको हो । वीरेन्द्रनगर बजार भित्रका सडकमा ठुलठुला खाल्डा परेपछि संभावित हुनसक्ने सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीले खाल्डाखुल्डी पुरेको हो ।
ट्राफिक प्रहरीले वीरेन्द्रनगरका मुख्य चोक औद्योगिक क्षेत्र नजिक रहेको साँगुरो पुल, दैलेखी चोक, कालिञ्चोक, नेवारे जाने बाटो, घण्टाघर चौक बसपार्क क्षेत्र र बजारका विभिन्न सडकमा परेका खाल्डाखुल्डी पुरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख एवम् प्रहरी निरीक्षक देवेन्द्रसिङ बुढाथोकीले जानकारी दिए ।
उनले बिग्रेको सडक मर्मत नहुँदा दुर्घटनाको जोखिम उच्च रहेकोले ट्राफिक प्रहरीले मर्मतमा सक्रियता बढाएको बताए । उनकाअनुसार ‘बजारैभरि खाल्डाखुल्डी हुँदा आवागमनमा समस्या थियो,’ ट्राफिक प्रमुख बुढाथोकीले भने –‘ग्राभेल हालेर पुरेपछि अहिले सम्भावित हुनसक्ने सवारी दुर्घटना र खाल्डामा जमेको पानी पैदल यात्रुलाई छ्यापिने डर हटेको छ ।’
विशेष त सडक मर्मत सम्भार गर्ने काम सडक विभाग तथा स्थानीय सरकारको हो । तर स्थानीयहरूको गुनासोको सुनुवाइ नभएपछि बिग्रेको र भत्केको ठाउँ बनाउन ट्राफिक प्रहरी सडकमा उत्रिएको हो ।


