२०८३ जेठ २७ , बुधबार

डोल्पा र कालिकोटको विमानस्थल परीक्षण उडान पुन: सारियो



पुर्ण कुमार डोल्पा । कर्णाली प्रदेशका दुई वटा विमानस्थलमा गर्ने भनिएको परीक्षण उडानको नयाँ मिति तोकिएको छ । कालिकोट सुनथराली र डोल्पाको मसिनेचौर विमानस्थलमा गत शनिबार परीक्षण उडान गर्ने भनिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले असोज १३ गते दुई वटै विमानस्थलको एकैपटक परीक्षण उडान गर्ने बताएका थिए ।

तर मन्त्री किरातीले भने अनुसार उडान हुन सकेन । यसअघि गत भदौ १३ गते गर्ने भनिएको परीक्षण उडान पनि स्थगित गरिएको थियो । असोज १३ गते गर्ने भनिएको परीक्षण उडान पुनः असोज २४ गतेका लागि सारिएको संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको सचिवालयले जानकरी दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमण गएकाले परीक्षण उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सूचना अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका थिए । त्यस्तै जहाज अभाव र प्राविधिक तयारी नपुगेकाले पनि परीक्षण उडान स्थगित गरिएको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डद्वारा विमानस्थल परीक्षण उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्ड देश बाहिर रहेकाले कार्यक्रम स्थगित गर्नुपरेको मन्त्रालयले बताएको थियो । डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान गर्ने जनाइएको थियो । गत असोज १३ गते परीक्षण उडान गर्ने तालिका रहेपनि अन्तिममा स्थगित गरिएको थियो ।

निर्माण कार्य सम्पन्न भइसक्दा पनि मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन । २०६८ मा निर्माण गरिएको विमानस्थलको २०७२ मा कालोपत्रे गरिएको थियो । पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ । तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन । त्रिपुरासुन्दरी नगरपालिकाको पहाडामा २०६६ सालदेखि विमानस्थलको निर्माण शुरु गरिएको थियो ।

२०६८ मा निर्माण सम्पन्न भइ २०७२ मा कालोपत्रे गरिएको हो । डोल्पामा हवाई यातायातको लागि जुफाल विमानस्थलपछिको अर्को विकल्पको रूपमा मसिनेचौर विमानस्थल निर्माण गरिएको हो । समयमै निर्माण गरिए पनि सञ्चालनमा भने बेवास्ता गरिएको छ । डोल्पाबाट निर्वाचित कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले सरकारले पटक–पटक उडान परीक्षण स्थगित गरेर नागरिकलाई दुविधामा पारेको बताए ।

विभिन्न समयमा सरकारलाई आफूहरूले दबाब दिइरहेको भन्दै उनले सरकारले सुनुवाइ नगरेको बताए । उनले भने, ‘‘यो पटक गरेर सरकारले चाररपाँच पटक परीक्षण उडानको मिति नै सारेको छ । नागरिकलाई निराश पार्ने काम सरकारको तर्फबाट भएको छ । छिट्टै विमानस्थल सञ्चालनमा ल्याउन हाम्रो माग छ ।’’

कालिकोट जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गबहादुर रावतले प्रधानमन्त्री विदेश गएका कारण र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताए । असोजको २४ गते नै परीक्षण उडान गर्ने गरी तयारी थालिएको उनको भनाइ छ । हवाई यातायातको सम्बन्धमा संघीय सरकारले आलटाल गरिरहेको उनको भनाइ छ ।

निर्माण सम्पन्न भएको विमानस्थल सञ्चालन नहुँदा नागरिकले दुःख र हैरानी पाइरहेको उनले बताए । कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो । विमानस्थल निर्माण कार्य सम्पन्न भएपनि नियमित सञ्चालनमा आउन सकेको छैन । पुनः परीक्षण गरेर नियमित गर्ने तयारी गरिएको छ ।

२०४२ सालदेखि विमानस्थल निर्माणको योजना अघि बढेको थियो । स्थानीय नागरिकको पहलमा त्यतिबेला तत्कालीन जिल्ला विकास समिति कालिकोटले एक लाख रकम विनियोजन गरेर विमानस्थल निर्माणको काम शुरु गरिएको थियो । त्यसको ६ वर्षपछि २०४८ मा मात्रै सरकारले सुनथराली विमानस्थललाई आफ्नो योजनामा राखेर बजेट विनियोजन गरेको थियो ।

सरकारको योजनामा परेपनि निर्माणको काम भने नियमित हुन सकेन । बीचमा द्वन्द्वका कारण पनि विमानस्थल निर्माण कार्य अवरुद्ध भयो भने द्वन्द्वपछि पनि बीचमै अलपत्र छोड्दा लामो समयसम्म विमानस्थल सञ्चालन हुन नसकेको हो । ३७ वर्षपछि विमानस्थलका लागि पूर्वाधार तयार भएको छ ।

प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार