२०८३ वैशाख १३ , आइतबार

डोजरको ठक्करबाट एक जना बालकको मृत्यु



सुर्खेत । शुक्रबार दिउँसो रुकुम पश्चिममा डोजर (स्काभेटर) को ठक्करबाट घाईते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर १० का भरत खड्काका ६ वर्षिय छोरा चन्द्रलाल खड्काको मृत्यु भएको हो ।

सोही ठाउँको घन्ठाना निवासी खड्कालाई शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कने क्रममा डोजरले ठक्कर दिएको थियो । उनी स्थानीय जनसेवा आधारभूत विद्यालय घन्ठानामा कक्षा एकमा अध्ययनरत थिए । डोजरको ठक्करले गम्भिर घाईते भएका बालक खड्कालाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो ।

अवस्था गम्भिर भएपछि हेलिकोप्टरबाट बाहिर लैजाने तयारी हुँदै गर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले जानकारी दिए । बा ०१००३ क ९१३० नम्बरको डोजरले बालकलाई ठक्कर दिएको थियो ।

गाउँपालिकाको केन्द्र सिम्लीबाट अर्मातर्फ जाने भित्रि सडक मर्मत गरेर फर्कने क्रममा बालकलाई डोजरले ठक्कर दिएको बताईएको छ । प्रहरीले डोजर चालक सानीभेरी गाउँपालिका वडा नम्वर ७ निवासी २३ बर्षिय धनेश कुमार ओली र डोजरलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ ।

प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार