
फाइल तस्बिर
सुर्खेत । सुर्खेत क्षेत्र नं २ वाट निर्वाचित प्रतिनिधि सभाका सांसद हृदयराम थानीले सुर्खेतको विकासका लागि आफू दिनरात लागिरहेको बताएका छन् । केही दिन अघि वीरेन्द्रनगर आएका थानीले आफ्नो ध्यान अब वीरेन्द्रनगरको एयरपोर्ट विस्तार, खानेपानी समस्याको समाधान र १३२ केभीए लाइन विस्तारमा केन्द्रित भएको बताए । थानीले कर्णाली प्रदेशको विकासको लागि तत्काल वीरेन्द्रनगरको एयरपोर्ट ३ सय मिटर विस्तार हुनुपर्ने बताए ।
यसका लागि वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा एयरपोर्ट विस्तार हुन नसक्ने भनी गरेको निर्णय नै वाधक बनेको उनको भनाइ छ । उनले भने, ’नगरपालिकाले गरेको यो निर्णय सच्याउनु पर्छ। यसका लागि मेरोतर्फबाट गर्नुपर्ने सबै काम तयार छु। अमर ज्योति विद्यालयलाई राम्रो संरचना बनाई अन्यत्र सार्न सकिन्छ।’ स्थानीयवासीले पनि उचित मुआब्जा लिएर एयरपोर्ट विस्तारमा सघाउने उनले आशा गरे ।
४ बिगाहा जमिन मात्रै अधिग्रहण गरे एयरपोर्ट विस्तार हुने बताउँदै थानीले यसका लागि बजेट व्यवस्था गर्न अप्ठ्यारो नभएको तर्क गरे। नगरपालिकाको निर्णय परिवर्तन हुन बित्तिकै आफू बजेट खोज्न लागिहाल्ने भन्दै उड्डयन प्राधिकरणसँग आफू सम्पर्कमै रहिरहेको जानकारी दिए । सुर्खेत अझ कर्णालीका राजनीति दलका प्रतिनिधि र यहाँको नागरिक समाज उठ्न बित्तिकै समस्या समाधान भई एयरपोर्ट विस्तार हुने उनको भनाइ छ।
’बजेट ठुलो कुरा होइन, ठुलो कुरा यस सम्बन्धमा यहाँका नागरिकहरू बिचमा एउटै बुझाइ महत्त्वपूर्ण हो, थानीले भने। उनले भने, ’सुर्खेतको एयरपोर्ट अन्तर्राष्ट्रिय स्तरकै बनोस् भन्ने मेरो पनि चाहना छ। राम्रो बनोस् केही फरक पर्दैन । तर, कुरा के हो भने अहिले जो एटिआर जहाज बसिराखेका छन्, ती लगभग १ हजार २ सय ५५ मा मिटरमा बसिरहेको अवस्था छ । यसलाई ३ सय मिटर बढाइदिएपछि हामीलाई जहाज ल्यान्ड गर्नपनि सजिलो हुन्छ।’ ३ सय मिटर बढाइदिँदा ’लोरिस्क’ मा जहाज ल्यान्ड गर्न सजिलो हुने उनको धारणा छ।
०६४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले यो एयरपोर्टलाई २ सय मिटर थपेर १ हजार २ सय ५५ मिटर बनाइदिएको उनले बताए । थानीले भने, ’हाम्रो भनाइ के हो भने ३ सय मिटर जति “रनवे“ बढाइदियौ भने तत्कालको समस्या हल हुन्छ । हामीले हिसाब गर्दा पनि रनवेका लागि ७५ मिटरको चौडाइ भए पुग्छ । यसको हिसाब गर्दा ४ बिघा जति आउन सक्छ । यहाँ पुरानो ऐलानी जग्गा पनि छ । ४ बिघाको हिसाब गर्ने हो भने ८० कठ्ठा हुन जान्छ । ८० कठ्ठालाई कतिका दरले दिने रेट के हो त्यो ८० कठ्ठा जग्गा लिन राज्यले सक्ने हो कि होइन राज्यले सक्दाखेरि एकातिर एयरपोर्ट पनि निरन्तर चलिरहने छ। ८० कठ्ठा जग्गा लिन राज्यलाई त्यति ठुलो समस्या पनि नहोला ।’
थानीले जनप्रतिनिधिहरू र पार्टीका नेताहरूलाई ४ बिघा जग्गा एयरपोर्ट बनाउन लाग्छ भनेर प्राविधिकको रिपोर्ट छ भनेर बुझाएको बताए । सुर्खेत लगायत कर्णाली प्रदेशको समस्या तत्काललाई यसरी समाधान हुन्छ भनेर आफूले केन्द्रमा कुरा गर्दाखेरि भनेको र उनीहरूले पनि यो सजिलै बाटो भन्ने सुझाएको उल्लेख गरे।
थानीले भने, ’प्राविधिकहरूले “एयरपोर्ट” “टु व” होइन, “वान वे” हो भनेका छन् । “वान वे“ गर्दाखेरि अहिले कर्णाली प्रदेशलाई पुग्न सक्छ।’ सुर्खेतमा अन्तराष्ट्रियस्तरकै एयरपोर्ट बन्छ भने पनि आफू त्यसका लागि लागिपर्ने उनले बताए । ’ अहिले यसैलाई बढाउ, पछि हामी पनि त्यसमा मदत गर्नेछौ । पहिले ३ सय मिटर अगाडि बढाऊँ । नयाँ एयरपोर्ट कहिले बन्ला भन्ने प्रश्नमा थानीले भने, ’ अहिले नै म केही भन्न सक्दिन एयरपोर्ट बन्न १५र२० वर्ष पनि लाग्न सक्छ। त्यो बेलासम्म हामीले के गर्ने रु मैले भनिरहेको छु १५/२० वर्षसम्म यो एयरपोर्ट चलाउने । अहिलेलाई धावनमार्ग पुगेको छैन । हवाईजहाज जबरजस्ती “लेण्ड” गरेको छ ।’
जग्गा अधिग्रहण गर्न पैसाको समस्या नभएको थानीको भनाइ छ। उनले भने, ’दुर्घटनालाई रोक्न ३ सय मिटर जति बनाऊँ भन्ने मेरो आग्रह छ । अरू के गर्ने कुन कुरा जायज हुन्छ त्यसैलाई मिलाएर जाऊँ । यसमा वीरेन्द्रनगर नगरपालिका पनि पोजेटिभ नै छ । कसैको पनि विरोध छैन । तर ३०० मिटर के हो कस्तो हो अगाडि नै धेरै लागत निस्कियो । अतिक्रमणको काम ठिक छ । पैसाको लागि हामीले अर्थमन्त्रालयलाई आग्रह गरेका छौ ।’ जग्गा अधिग्रहण गर्न अर्थमन्त्रालयबाट आफूले फाइल स्वीकृत ल्याएको थानीको दाबी छ।
एयरपोर्टको विस्तार गर्न प्रधानमन्त्रीलगायत सबैले चासो देखाएको थानीको भनाइ छ । वीरेन्द्रनगरमा खानेपानीको ठुलो समस्या भएको उल्लेख गर्दै थानीले भेरी लिफ्टिङ् परियोजना समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताए। सुख्खायाममा पानीको समस्या धेरै हुनेभएकोले स–साना पानीका श्रोतहरूको खोजी गर्दै भेरी लिफ्टिङ् परियोजना सम्पन्न नहुँदासम्म पानीको हाहाकार कम गर्न लाग्नुपर्नेमा जोड दिए। ’पहिलेको जनसङ्ख्यालाई झुप्रा खोलाको पानीले पुगेकोमा जनसङ्ख्या बढेसँगै झुप्रा खोलाको पानीले नपुग्ने भएको छ।
यसका लागि भेरीनदिबाट लिफ्ट गरी पानी ल्याउन टेण्डर भइसकेकोले तत्कालको समस्या समाधान हुने बताए। वीरेन्द्रनगरमा दैलेखको लोहोरे खोलाका पानी ल्याउन सकिनेतर्फ सङ्केत गर्दै पूर्वमन्त्रीसमेत रहेका थानीले भने, ’थप पानी कसरी ल्याउने भन्ने सन्दर्भमा २०७३ सालमा लोहोरे खोलाबाट ल्याउनुपर्छ भनेका थिए। त्यो त्यति असम्भव पनि थिएन। नजिकै बनेको भेरी बबई डाइभर्सनले सुरुङमार्गबाट वीरेन्द्रनगरमा पानी ल्याउन सकिन्छ भन्ने देखाइदिएको छ ।’
यो परियोजनाले मुलुकमा सुरुङमार्गबाटै यातायात र खानेपानी र सिँचाइका लागि पानी ल्याएर देशको कायापलट गर्न सकिने देखाएको उनको भनाई छ। लिफ्टिङ बाहेक वीरेन्द्रनगरमा अहिलेलाई अरू उपाय नभएकोले भेरीको पानीलाई लिफ्ट गरेर वीरेन्द्रनगरमा पानी ल्याउनुपर्छ भनेर आफूले सुरुवात गरेको उनको दाबी छ। पानी लिफ्ट गर्न नियमित र गुणस्तरीय बत्तीको आवश्यकता औँल्याउँदै थानीले लिफ्टिङ् आयोजना सम्पन्न नहुँदै १३२ केभिए बिजुली आउने बताए ।
वीरेन्द्रनगरमा ल्याइने लिफ्टिङ्को पानी अलि महँगो पर्ने उनले स्वीकार गरे। महँगो परेपनि अर्को विकल्प नभएको उनको भनाइ छ। उनले भने, ’ सबै मिलेर ल्याऊँ, सबै कुराको फाइनल भइसकेर टेन्डर प्रक्रियामा अगाडि गइसकेको छ। चार अर्बभन्दा बढीको लगानी हुने आयोजना भएकोले जोखिमको सम्भावना पनि धेरै छ।’ खानेपानी संस्था र नगरपालिकाबिच राम्रो कोअर्डिनेशन नभएकोले आयोजना निर्माणले गति नलिएको भन्ने बारेमा थानीले अनविज्ञता प्रकट गरे। संस्था भन्दा नगरपालिका आफै लागेकाले काम सम्पन्न हुने उनले विश्वास गरे।
उनले भने, ’ नगरपालिकाको प्रमुख नै अध्यक्ष हुने भनेपछि त अगाडि काम गरिरहेको साथीहरूलाई पनि दिक्क नहुनेगरी सबै पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू मिलेर काम गर्नुपर्छ।’ वीरेन्द्रनगरको चक्रपथको कामले गति नलिएको थानीले स्वीकार गरे। उनले भने, ’विशेषगरी जग्गाको कामले गर्दा यो परियोजना रोकिएको छ। सुरुमा जग्गाको मापदण्ड कति हो त्यो क्लियर गर्नुपर्छ। विवादहरू भएका ठाउँमा स्थानीय क्षेत्रका राजनीतिक दलहरूको सहयोग लिएर खुलाउन पहल गर्नुपर्छ। यति गर्दापनि खुलेन भने त कसले पहल गर्दा सम्भव हुन्छ, त्यसलाई जिम्मेवारी दिएर बाटो खोल्नुपर्छ।
चक्रपथ निर्माण गर्न पैसाको समस्या नहुने थानीको भनाइ छ। सुरुमा बाटो कति मिटरको बनाउने भन्नेबारेमा निर्णय लिन उनले नगरपालिकालाई आग्रह गरे। यसले लिने क्षेत्रफल क्लियर गरेपछि यहाँको श्रोत के हो खोजी गर्न उनले अनुरोध गरे। बाटो बनाउन पैसा नपुगे ल्याउने के के गर्नुपर्छ आफूले त्यो सबै गर्ने प्रतिबद्धता जनाए। अबपनि बाटो नै बनेन भन्न नहुने र यो कामको जिम्मा वीरेन्द्रनगर नगरपालिकाले लिनुपर्ने उनको भनाइ छ।
’धेरै निकायले हात हाल्दा काम नहुन सक्छ। यसको जिम्मेवारी नगरपालिकाले लेओस्,’ थानीले भने। वीरेन्द्रनगर उपत्यकामा जमिन मुनीको पानीको श्रोत सुक्दै गएकोमा उनले चिन्ता व्यक्त गरे। ’भूमिगत जललाई तान्ने मात्रै तर रिचार्ज गर्ने गरिएन भने बुलबुले लगायत कुवाहरू सुक्नेछन् । तलबाट पानी निस्किने छैन। अब यसलाई रिचार्ज गर्ने कुरामा अरू उपाय पनि के छ र त्यही त हो।’ उनले बुलबुले सुक्नसक्ने भन्दै चिन्ता व्यक्त गरे। ’वास्तविक रूपमा बुलबुले सुक्दैछ, हुनसक्छ त्यसको लागि पनि थप रिसर्च गर्नुपर्छ,’ उनले भने।
वीरेन्द्रनगरको उत्तरतर्फका डाँडाहरूमा सल्लाका रुख रोप्नु गलत भएको बताए। उनले भने, ’पहिला डाँडामाथि बयलकाँडा भन्दा तलका डाँडा खुुइलिसकेका थिए । त्यो समयमा सल्लोको बिरुवा लगाउँदा झन् पानी सोस्ने भएछ। सल्लोले पानी सोस्दो रहेछ, झन् समस्या भैगो, त्यसले गर्दा खेरी उपत्यकामा बगेर आउने पानीको श्रोतमा कमी आयो। बर्षातको पानी रिजर्भ गर्नसक्ने बिरुवा लगाएको भए उपत्यकामा यो तहको पानीको हाहाकार नहुन सक्थ्यो, अलिकति त्यहाँ मिस्टेक भयो।’
प्रदेशको विकासका लागि कर्णालीवासी अब उठ्नु पर्ने थानीले बताए। प्रदेश राजधानी यही भइसकेपछि यो क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने गम्भीर बहस गर्न ढिला भैसकेको उनको तर्क छ। उनले भने, ’अहिले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पनि छ । अब माथिको मात्र मुख ताक्नुपर्ने अवस्था छैन, माथि गर्ने कुरा माथि गरौँ, तल गर्ने कुरा तल गरौँ, मिलेर गरौँ, यसको भविष्य बनाऊँ, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर राम्रो रहेछ भन्ने कुरा यहाँका जनप्रतिनिधिदेखि पार्टीका नेता सबैले सोच्नुपर्छ।’
सुर्खेत पर्यटनका हिसाबले महत्त्वपूर्ण ठाउँमा रहेको थानीको भनाइ छ। सुर्खेतको पर्यटन विकासको लागि धेरै गर्न बाँकी रहेको थानीले स्वीकार गरे। पर्यटकहरू हजारौँको सङ्ख्यामा आउने गरेपनि एक नाइट स्टे मात्रै गर्ने गरेकोले अब अलिदिन यतै घुम्ने व्यवस्था मिलाउनु पर्नेमा उनले जोड दिए। उनले भने, ’अहिले त माथितिर जान थाले सिधै, नाइट स्टे गर्ने त्यसपछि कता जाने रारा जाने भाछ, अब यो सुर्खेतमै एक दुई दिन कतिसम्म हुन्छ,
यहाँ आएका पर्यटकहरूलाई बसाल्ने, नाइट स्टे गराउन सक्ने, उनीहरूलाई भुलाउन सक्ने चिजहरूको अभाव भएको बुझिन्छ, पश्चिमको बराह ताल लगायतका ठाँउहरुमा रोडको एक्सेस गराउने, ती ठाउँमा पर्यटकहरूका लागि सबै आधारभूत सेवा उपलब्ध गराउन सक्नुपर्छ।’ थानीले सुर्खेत पश्चिमका जनताले अझै ठुलो पीडा भोगिरहेको बताए। उनले भने, ’वीरेन्द्रनगरदेखि पश्चिमका जनताले अझ ठुलो दुख भोगिरहेका छन्। न गतिलो बाटो छ, न बत्ती न टेलिफोन लाग्छ। यातायातको दुख वर्णन गरेर साध्य छैन।’
अहिले पश्चिम क्षेत्रका लागि ठुलो बजेट छुटाइएको बताए । वीरेन्द्रनगरका वडा नं १३, १४, १५ र १६ नम्बर वडाहरू पनि धेरै पिछडिएको थानीको भनाइ छ। उनले यसका लागि आफूले विशेषखालको योजना बनाइरहेको बताए। थानीले भने, ’१३ नं हामी पनि पिछडियौँ भन्छ, १४ हामी पिछडिएको डाँडोमा छौ, हामीले के गर्ने भन्छ, १५ र १६ को आफ्नै कथा छ।’
थानीले वीरेन्द्रनगरलाई तत्कालका लागि एयरपोर्ट विस्तार, १३२ केभीएको बिजुली र भेरी लिफ्टिङ् खानेपानी आयोजना महत्त्वपूर्ण भएको बताए। ती सबै आयोजनाहरू निकट भविष्यमा सम्पन्न हुने उनको भनाइ छ। उनले भने, ’बत्ती कोहलपुरदेखि यहाँ ल्याउने हो । त्यो पनि लगभग अब आरक्षणको कुरा मिलिसक्यो। अब लफडा भएन भने आगामी असार मसान्तसम्ममा १ सय ३२ केभीएको बत्ती आइहाल्छ। भएन भनेपनि अर्को असोजसम्मका बत्ती आउन सक्छ। यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।