२०८३ वैशाख १३ , आइतबार

रक्षामन्त्री र कानुनमन्त्रीकै निर्वाचन क्षेत्रमा बाटोको बिजोग !



यात्रुहरुले गाडी धकेल्दै, तस्बिर : नविनजंग शाही

कुलेन्द्र शाही, सुर्खेत । केही दिन अघि सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडियो निकै भाइरल भयो, भिडियो थियो, धरमपोखरा–अवलचिङ्ग सडक खण्डमा यात्रुले गाडी धकेलिरहेको । जाजरकोटको शिवालय गाउँपालिका–६ का नविनजंग शाहीले यात्रुले गाडी धकेलिरहेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेका थिए । उनको त्यो पोष्टमा निकै नै आलोचनात्मक प्रतिक्रिया आएका थिए ।

 

भिडियो उनले मात्रै होइन धेरैले पोष्ट गरेका थिए । सुर्खेतको वीरेन्द्रनगरबाट करिब ६०र६२ किलोमिटर टाढा रहेको चिङ्गाड गाउँपालिकामा जान गाडीमा करिब ४ घण्टा लाग्ने गर्दछ । तर, बर्खामा भने त्यहाँबाट वीरेन्द्रनगर आउन करिब ६र७ घण्टाभन्दा बढी नै लाग्ने गरेको छ । वीरेन्द्रनगर आउन यात्रुले बर्सेनि सास्ती खेप्दै आइरहेका छन् । हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो यात्रुहरूको छ ।

 

कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाँडा लिने गरेका छन् । सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था रहेको यात्रुको भनाइ छ ।  ‘भाँडा पनि महँगो लिनुहुन्छ, त्यही पनि यात्रा भनेकोजस्तै भएको भए हुन्थ्यो, कहिले काँही गाडी धकेल्नुपर्छ खाल्टाखुल्टी मात्रै हुन्छन्, अहिले मात्रै होइन, १०/१२ वर्षदेखि यस्तै छ,’ यात्रु वसन्त बुढाले भने ।

 

नियमन गर्ने निकाय मौन छन् भने मर्मत गर्नुपर्ने पालिका र सरोकारवालाले समेत चासो नदिएको उनको भनाइ छ । ठाउँ ठाउँमा पहिरो जाने गरी खनिएका स्थानीय सडकको स्तरोन्नति नहुँदा वर्षायाममा हिलाम्मे र सुख्खायाममा धुलाम्मे हुने गरेको यात्रुको गुनासो छ । हिलाम्मे सडकका कारण गाडी फस्दा दुई रचार घण्टासम्म कुर्नुपर्ने, गाडी धकेल्नुपर्ने र अधिकांश ठाउँमा हिँड्नुपर्ने बाध्यता रहेको छ ।

 

२०६४/०६५ सालमा जिल्ला विकास समितिले सडक खनेर सुरु गरेको बाटोको अवस्था अहिले पनि नाजुक नै रहेको छ । सडक निर्माण सुरु गरेको दुई दशक पुग्न लागेपनि त्यस क्षेत्रका बासिन्दा अझै यातायातको सहज पहुँचमा छैनन् । यात्रुले डोरी लगाएर गाडी तान्नुपर्ने, धकेल्नुपर्ने र ढुङ्गा हालेर पास गराउनुपर्ने हैरानी छ । साथै पानी परेको दिनमा ठाउँमा गाडी नपुग्ने हुँदा यात्रुहरू अलपत्र पर्ने अवस्था विगतदेखि कायमै छ ।

 

‘वर्षातका कारण ठाउँ ठाउँमा गएको पहिरो र बाढीका कारण उक्त बाटोमा यात्रा कष्टपूर्ण मात्रै छैन, जोखिमयुक्त पनि उत्तिकै छ’ यात्रु श्रीधर रोकाले भने,‘कहिलेकाँही त पानी प¥यो भने टिकट काटेकै ठाउँमा समेत गाडी जान्न अनि बिच बाटोमै रोकिन्छ,’ उनले भने । केही समयअघि दैलेख गुराँस गाउँपालिका र सुर्खेतको चिङ्गाड गाउँपालिकाको सिमाना धरमपोखरासम्म पनि बर्खाको समयमा गाडी जान निकै समस्या हुने गरेको थियो ।

 

तर, त्यहाँ भने अहिले बाटो कालोपत्रे गरिसकेकाले केही सहज भएको छ । धरमपोखरादेखि चिङ्गाडको मटेलासम्म जान भने निकै सास्ती छ। मटेला हुँदै उक्त बाटोमा जाजरकोटको शिवालय गाउँपालिकाका मानिसहरू समेत जाने गर्दछन् । दैनिक सयौँ सवारी साधनको आवतजावत हुने सडककै अवस्था नाजुक हुँदा पनि त्यहाँका जनप्रतिनिधि मौन बस्दा नागरिक आक्रोशित छन्। नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीको पनि स्थायी घर त्यही बाटो हुँदै जाने गर्दछ।

 

तरपनि, उक्त बाटो सुरु भएको १५ वर्ष भइसक्दा पनि अझै स्तरोन्नति हुन् सकेको छैन । रक्षामन्त्री खड्का र कानुनमन्त्री जिसीको निर्वाचन क्षेत्रमै बाटोको अवस्था नाजुक हुँदासमेत बाटोको मर्मत सुधार नभएको भन्दै जनता दिक्क छन्। सामाजिक सञ्जालमा बाटोको विषयलाई लिएर भाइरल भएको भिडियोमा यी दुई मन्त्रीको निकै आलोचना  गरिएको छ । प्रतिक्रिया दिनेहरूले रक्षामन्त्री खड्काको निर्वाचन क्षेत्र भए पनि बाटो किन बनेन् भनेर प्रतिप्रश्न गरेका छन् ।

 

यता, कानुनमन्त्री जिसीले यो सडक विगतका सरकारको प्राथमिकतामा नपरेकाले स्तरोन्नति हुन नसकेको बताए । उनले यस पटक भने प्रदेश सरकारबाट ग्राभेल गर्नका लागि करिब १ करोड रकम विनियोजन गरेको जानकारी दिए । साथै उनले सकेसम्म यसै पटक सडक कालोपत्रे समेत भइसक्ने आश्वासन दिए । धरमपोखरा मटेला सडक खण्ड २०६४र०६५ मा जिविसले निर्माण गरेको बताउँदै मन्त्री जिसीले सडक मर्मतका लागि ठेक्का खोल्ने तयारी भइरहेको जानकारी दिए ।

 

यता, चिङ्गाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले सडक कालोपत्रे गर्नका लागि धेरै नै रकम लाग्ने भएकाले पालिकामा उक्त बजेटको अभाव भएको बताए । ‘पालिकामा त्यति धेरै बजेट नै हुँदैन, नत्र भने आजसम्म हामी सडक स्तरोन्नति गरिसक्ने थियौ,’ उनले भने, ‘अब मन्त्री ज्यूले हामी पहल गर्छौ भन्नुभएको छ, सायद अबको केही समयमा केही सुधार हुन्छ होला’

 

 

प्रकाशित मिति : २०८० असोज २३ गते मंगलबार