२०८३ वैशाख १३ , आइतबार

संविधान तलमाथि पार्न एउटा समूह सक्रिय : उपप्रधानमन्त्री खड्का



सुर्खेत । संविधानलाई तल, माथि पारेर आफ्नो स्वार्थ पूरा गर्न पाइन्छ कि भनेर एउटा समूह न्वारनदेखिको बल लगाएर षड्‌यन्त्रमा लागेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले बताए। धर्म र जातको नाम र अनेक बहाना बनाएर अहिले संविधानमाथि हमला सुरु भएको बताउँदै उपप्रधानमन्त्री खड्काले अप्ठ्यारो समयमा कांग्रेसले देशको निकास दिएको इतिहास साक्षी रहेको दाबी गरे।

शुक्रवार जाजरकोटस्थित नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनमा बोल्दै खड्काले देश आर्थिक रूपमा समस्यामा रहेको बताए। विदेशी मुलुकमा द्वन्द्वका बाछिटा नेपालमा परी त्यसले अर्थतन्त्रमा सिधा असर गरेको समेत उनले बताए। ऋण लिएर विकास निर्माणको काम गर्नुपरेको भन्दै उनले सबै पक्षहरू सकारात्मक रूपमा लाग्नुपर्ने बताए।

नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै नेता तथा जनप्रतिनिधिहरू सच्चिनुपर्ने बताए। अहिलेको समयअनुसार रूपान्तरण भएर अघि बढ्नुपर्ने भन्दै नेपाली कांग्रेसले अवलम्बन गरेको व्यवस्था संसारका धेरै देशमा सफल भएको समेत दावी गरे।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार