
रुकुम पश्चिम । रुकुम पश्चिमका ग्रामीण सडकमा यात्रुहरुबाट यातायात व्यवसायीले मनपरि रुपमा भाडा असुल्दै आएका छन् । नेपालीहरुको महान चाड दशैं शुरु भएपछि राजधानीलगायत विभिन्न जिल्लामा अध्ययन गर्न गएका विद्यार्थी घर फर्किन थालेका छन् । यसको मौका छोपेर यातायात व्यवसायीले चर्को भाडा असुलेको यात्रुहरुको गुनोसो छ ।
आठबिसकोटको राडीदेखि मुसिकोट खलंगासम्म ४६ किलोमिटर पर्छ । राडीदेखि खलंगासम्म यात्रुले ६ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ, तर यातायात व्यवसायीले भने यसको दोब्बर भाडा लिने गरेको यात्रुहरु बताउँछन् । दोब्बर भाडा तिरेर आफूले यात्रा गरेको आठबिसकोटका एक स्थानीयले बताए ।
महँगो भाडा तिरे पनि गाडी समयमै नछुट्ने र क्षमताभन्दा बढी यात्रु चढाउने गरेका कारण यात्रुहरुले समस्या खेप्नुपरेको छ ।बाँफिकोटदेखि खलंगा पैदल यात्रा गर्ने हो भने २ घण्टा लाग्छ । सहज होला भनेर स्थानियहरु गाडी चढ्ने गरेका छन् । मनपरि भाडा असुल्दा खलंगादेखि आउँदा १ हजार रुपैयाँ लाग्ने गरेको यात्रुहरु बताउँछन् । जबकि बाँफिकोटदेखि खलंगा आउँदा जाँदा भाडादर ५ सय रुपैयाँ हो ।
रुकुम पश्चिममा ७३ वटा वडा छन् । ती मध्ये ७० वटा वडामा गाडी सञ्चालन भएका छन् । स्थानीयहरु सदरमुकाम खलंगा आउन गाडी चढ्नै पर्ने बाध्यता हुन्छ । त्यसको फाइदा उठाउँदै यातायात व्यवसायीले चर्को भाडा उठाउने गरेको पाइएको छ ।