
सुर्खेत । नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर सुर्खेतको भेरीगंगा नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ । सोमबार र मङ्गलवार दसैँ, तिहार, छठपर्व जस्ता महान् पर्वलाई लक्षित गरी बजार अनुगमन गरेको हो । भेरीगंगा नगरपालिका, घरेलु महासङ्घ भेरीगंगा, उद्योग वाणिज्य सङ्घ भेरी, प्रहरी लगायतले संयुक्त रूपमा बजार अनुगमन गरेका हुन् ।
अनुगमन टोलीले खाद्यान्न, किराना पसल, गोदाम, लत्ताकपडा, माछा मासु, तरकारी, फलफूल, मिठाई पसल, होटेल, भेटनरी, मेडिकल लगायतमा अनुगमन गरेको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोखरेलले जानकारी दिए । उनकाअनुसार चाडपर्वको समयमा व्यापारीहरूले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले अनुगमन तीव्र पारिएको हो ।
अनुगमनको क्रममा भेरीगंगा नगरपालिकाभित्रका छिन्चु, रामघाट, र जहरे बजारमा खाद्यान्न, होटेल, मिठाई पसल, मेडिकल लगायतमा अनुगमन उनले बताए । बजारका पाँच दर्जनभन्दा बढी पसलहरूमा अनुगमन गरी ६० हजारभन्दा बढीका म्याद गुज्रिएका खाद्यवस्तु, एग्रोभेटका (बीउ बिजन, औषधी) सामाग्री, कस्मेटिकका सामाग्री, औषधीजन्य किट, जङफुड लगायतका सामाग्री नष्ट गरिएको उनको भनाइ छ 

बजारमा धेरै जसो एग्रोभेट सेन्टरबाट निषादीजन्य बस्तु, बीउ बिजन म्याद गुज्रेका वस्तु फेला परेका थिए । अनुगमनका क्रममा म्याद गुज्रेकामा खानेकुरा र पेय पदार्थ पाइएको थियो । उक्त म्याद गुज्रेका बस्तुहरू जफत गरी जनप्रतिनिधि, घरेलु महासङ्घ भेरीगंगाका प्रतिनिधि, उद्योग वाणिज्य सङ्घ भेरीका प्रतिनिधि तथा प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।
म्याद गुज्रेका खाद्यवस्तु, विषादी, बिउ बिजन, कस्मेटिक सामाग्री आगामी दिनमा नबेच्न सुझाव तथा चेतावनी दिइएको भरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले जानकारी दिइन् ।
त्यस्तै व्यवसाय दर्ता नगरी सञ्चालन गरीका पसलहरू पनि भेटिएको र त्यस्ता व्यापारीलाई तीन दिनभित्र नगरपालिका उपस्थित हुन निर्देशन दिएको उनको भनाइ छ । उनले भेरीगंगा क्षेत्रभित्र दर्ता नगरी पसल सञ्चालन गरेको भए उद्योग विकास तथा सहकारी शाखा दर्ता गर्नसमेत आग्रह गरेकी छन् ।
प्रकाशित मिति : २०८० कात्तिक २ गते बिहीबार