रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ५ मा रहेको कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिकस्थल डिग्रेशाईकुमारी मन्दिरमा बिहीबारदेखि पूजापाठ सुचारु गरिएको छ । हरेक वर्षको कात्तिक शुक्ल हरिबोधिनी एकादशीदेखि पूर्णिमाको दिनसम्म दर्शनार्थीको बाक्लो भिड लाग्ने मन्दिरमा बिहीबार बिहानैदेखि पूजापाठ शुरु भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीले बिहीबार बिहान साढे ५ बजेदेखि शाईकुमारी मन्दिरको दर्शन तथा पूजापाठका लागि श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहेको बताए । उनका अनुसार मन्दिरमा बाह्रैमास पूजापाठ हुँदै आएपनि मूल पर्वको रुपमा एकादशीदेखि पूर्णिमाको दिनसम्म भव्यरुपमा पूजापाठ र मेला लाग्ने गर्छ ।
एकदाशीको दिन भने मन्दिरमा बोकाबली नहुने र शुद्ध शाकाहारी पूजापाठ हुने गरेको छ । सोही अनुसार मन्दिरमा आउने भक्तजन र दर्शनार्थीका लागि सरलरुपमा पूजापाठ गर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले बताएको छ । त्यस्तै मन्दिरको भिडलाई मध्यनजर गर्दै यस वर्षदेखि सीसी क्यामेरा जडान गरिएको छ ।
शाईकुमारी मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ । मन्दिर दर्शन गर्न रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जाजरकोट, बागलुङ, बाँके, दाङलगायतका जिल्लाबाट भक्तजन र श्रद्धालुहरु आउने गर्छन् ।
यस मन्दिरमा एक वर्षको अवधिमा १ लाख बढी दर्शानार्थीले अवलोकन तथा पूजापाठ गर्ने बताइएको छ । अहिलेसम्म मन्दिरको लिखित दस्तावेज नभेटिए पनि विक्रम सम्वत् १८४१ देखि पूजापाठ शुरु गरिएको जानकारहरुको भनाइ छ ।