२०८३ वैशाख १३ , आइतबार

ओझेलमा परेका धार्मिकस्थलको संरक्षण जरुरी : जनार्दन शर्मा



सुर्खेत । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोष अन्तर्गत दुदिलचौर तिर्थधाममा निर्मित नयाँ मन्दिरको पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उद्घाटन गरेका छन् ।

संघीय सरकार अन्तर्गत शहरी विकास आयोजना इकाइ सुर्खेतले मन्दिर निर्माणका लागि ५० लाखमा ठेक्का आह्वान गरेकोमा ३८ लाख ठेक्कामा मन्दिर निर्माण गरिएको हो । एक वर्षमा मन्दिर, जग्गेकुण्ड, बलि चढाउने ठाउँ, मन्दिर वरिपरि रेलिङ, फिल्ड र सिंढी निर्माण गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ ।

१९६५ मा निर्माण भएको मन्दिर रहेकै ठाउँमा नयाँ मन्दिर निर्माण भएको हो । मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शर्माले जिल्लालाई धार्मिक र पर्यटनसँग जोड्ने योजना अघि बढाएको र त्यही अनुसार मन्दिर निर्माण गरिएको बताए । जिल्लामा रहेको विभिन्न धार्मिक स्थलहरुको प्रचार–प्रसारका साथै ओझेलमा परेका धार्मिकस्थलहरुको संरक्षण गर्नुपर्नेमा उनको जोड थियो ।

रुकुम पश्चिमका सबै ठाउँमा ठूला तथा प्राचिन धार्मिकस्थलहरु रहेको बताउँदै उनले धार्मिकस्थलहरुको संरक्षण गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गरे । मन्दिर उद्घाटन कार्यक्रममा मयुर नाच र पञ्चे बाजा प्रस्तुत गरिएको थियो ।

बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह, प्रदेशसभा सदस्य महेन्द्र केसी, तुलसा मल्ल, कल्यानी खड्का, पूर्वराष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलगायतको आतिथ्यता रहेको थियो ।

बुढुमष्ट क्षेत्र विकास कोषका सल्लाहकार गोपाल केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रामप्रसाद केसीले गरेका थिए । उद्घाटन कार्यक्रममा क्षेत्र विकास कोषका सल्लाहाकार विपी रिजालले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते शनिबार