२०८३ वैशाख १३ , आइतबार

कालिमाटी कफी उत्पादन पकेट क्षेत्र हुन्छ : मन्त्री शर्मा



सल्यान । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले कालिमाटी कफी उत्पादन पकेट क्षेत्र बनाउने बताएका छन् । माओवादी केन्द्र कालिमाटी गाउँसमितिको आयोजनामा गरिएको संकल्प सभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले भने ‘अहिले कालिमाटी वडा २ ,३ र ४ का किसानसंग एक घर एक कफिको बोट छ अब एक बोट हैन सय बोट बनाउन प्रदेश सरकार तयार छ ।’ उनले पालिकाको वडा नं २ को हल्देटाकुरा, किचन खोला, वडा नं ३ को सिमलचोकदेखि पुतलीबजार तथा वडा नं ४ को घुरचौर, असुरेनी क्षेत्र कफि उत्पादनको राम्रो क्षेत्र भएकोले कालिमाटी कफि उत्पादन पकेट क्षेत्र बनाउने बताए ।

शारदा नदि करिडोर अन्तर्गत वडा नं २ देखि ४ सम्म कफि उत्पादन पकेट क्षेत्र बनाउन प्रदेश सरकार तयार भएको उनको भनाइ छ । अहिले नागरिकलाई पैसा कमाउने माध्यम चाहिएकाले सरकारले नागरिकका आधारभूत आवश्यकता पूरा गर्न अवको समृद्धिको यात्रामा जनतालाई उत्पादन र रोजगारसंग जोड्न प्रदेश सरकार तयार भएको मन्त्री शर्माले बताए ।

उनले कालिमाटी बाख्रा, अदुवा बेसार, टिमुर र तरकारीबालीसँगै खाद्यान्न उत्पादन राम्रो क्षेत्र भएका बताए । यस क्षेत्रका नागरिकको आर्थिक समृद्धि कृषिबाट नै सम्भव भएकोले स्थानीय सरकारले प्रदेश सरकारसंग समन्वय गरि यस क्षेत्रको कृषि बिकास गर्न हातेमालो गर्न तयार भए प्रदेश सरकार पनि तयार हुने उनको भनाइ छ ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते शनिबार