२०८३ वैशाख १३ , आइतबार

भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्यो अनेरास्ववियू



सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले शनिबारदेखि भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणमा आफ्नो सक्रियता बढाएको छ । संगठनकी अध्यक्ष आरती लामा नेतृत्वको टोली स्थानीयका लागि अस्थायी संरचना निर्माण गर्ने र भूकम्पबाट ध्वस्त भएका घरहरू पन्छाउने काममा जुटेको हो ।

अध्यक्ष लामाले कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट अनेरास्ववियूका नेता कार्यकर्ताहरु प्रभावित क्षेत्रमा पुगिसकेको र राजधानी लगायत अन्य प्रदेशबाट समेत कार्यकर्ताहरु श्रमदानका लागि आइरहेको बताइन् । प्रभावित क्षेत्रमा अनेरास्ववियूका केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्ला तथा क्याम्पस स्तरीय नेता, कार्यकर्ता जुटिरहेका छन् ।

अनेरास्ववियूले विद्यार्थीलाई उच्च प्राथमिकतामा राखेर राहत तथा पुनः निर्माणमा जोड दिने उनको भनाइ छ । अनेरास्ववियूले तिहारको समयमा राजधानीमा देउसी र भैलो आयोजना गरी उठेको सहयोग रकमबाट पुनः निर्माणको काममा जुट्ने निर्णय गरे बमोजिम जाजरकोटमा सक्रियता बढाएको हो ।

पहिलो चरणमा ५० जना कार्यकर्ता यो काममा सक्रियताका साथ खट्ने अखिलको योजना छ । अध्यक्ष लामाले प्रशासनले व्यवस्थित किसिमले काम गर्न नसकिरहेको देखिएकोले यस कामको सहजीकरणका लागि पनि अनेरास्ववियूले प्रशासन सँग समन्वय गरिरहेको जानकारी दिइन ।

प्रकाशित मिति : २०८० मंसिर १० गते आइतबार