सुुर्खेत । जिल्ला अस्पताल हुम्लामा स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीहरुले सास्ती खेपेका छन् । स्वास्थ्यकर्मीको अभावले सामान्य बिरामीले पनि घण्टौं कुरेर चेकजाँच गर्नुपर्ने अवस्था छ । दशैं तथा तिहारको लागि घर बिदा गएका स्वास्थ्यकर्मीहरु पनि अहिलेसम्म अस्पताल हाजिर भएका छैनन् ।
अस्पतालमा १० देखि १२ जना डाक्टरको दरबन्दी भएपनि तीन, चार जना डाक्टरले मात्रै दैनिक आउने बिरामीको चेकजाँच गर्दै आएका छन् । अस्पतालले भने दुर्गम जिल्ला हुम्ला आउन हवाई सेवा प्रयोग गर्नुपर्ने, त्यसैमा हवाई टिकटको समस्या हुँदा दरबन्दी अनुसार स्वास्थ्यकर्मी आउन नसकेको जनाएको छ ।
अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले रिपोर्ट देखाउन डाक्टरलाई एक घण्टा भन्दा धेरै समय कुर्नु परेको स्थानीय पत्रकार समेत रहेका नरजन तामाङले बताए । शुक्रबार हुम्ला गोल्ड कपको खेलमा पत्रकारको टिमबाट फुटबल खेल्ने क्रममा खुट्टा भाँचिदा उपचार गर्न अस्पताल जाँदा स्वास्थ्यकर्मीको अभाव हुँदा बिरामीले सास्ती पाएको उनले बताए ।
उनले भने, ‘जम्मा तीन/चार जना डाक्टरले अस्पतालमा आउने बिरामी सबै हेर्नु पर्दा बिरामीले छट्पटाई डाक्टरको प्रतिक्षा गर्नुपर्यो ।’ आर्थिक अवस्था राम्रो भएका बिरामी जिल्ला बाहिर जान्छन् तर आर्थिक अवस्था कमजोर भएका बिरामी भने दुई तीन दिन लगाएर स्वास्थ्यकर्मी अभाव भएपनि जिल्ला अस्पतालमानै उपचार गर्न बाध्य भएका छन् ।
अस्पतालको यो अवस्था देख्दा सामान्य बिरामी जिल्ला बाहिर जानुपर्ने अवस्था सिर्जना भएको छ । तामाङले जिल्लामा रहेको अस्पतालको यस्तो अवस्था देख्दा आफू पनि जिल्ला बाहिर जान खोजेपनि आर्थिक अवस्था कमजोर हुँदा घरमै घरायसी उपचार गर्दै आएको बताए ।
जिल्लामा मौसम परिवर्तनका बिरामीको संख्या दैनिक बढ्दै गएको छ । अहिले अस्पतालमा दैनिक ५० जनाभन्दा बढी बिरामी आउने गरेका छन् । तर डाक्टरको अभाव हुँदा चेकजाँच गर्नमै दुईदेखि तीन लाग्ने गरेको बिरामीहरुको गुनासो छ । अस्पताल अहिले जिल्लाकै स्वास्थ्यकर्मीको भरमा चल्दै आएको छ । अस्पतालमा अहिले जिल्लामा भएका डाक्टरले हरेक खालका बिरामी हेर्दै आएका छन् ।