सुर्खेत । कर्णाली प्रदेश र मातहतका प्रहरी कर्मचारीहरूले अबदेखि ड्युटी गरिरहेको बेलामा मोबाइल चलाउन नपाउने भएका छन् । ड्युटीको समयमा आफ्नो जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी निगरानी हुन सकोस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक भीम ढकालले बताए ।
उनले भने, ‘सुरक्षा जस्तो संवेदनशील कार्यमा खटिएको कर्मचारीले एक चित्त लगाएर आफ्नो जिम्मेवारी क्षेत्र र विषयमा मात्र ध्यान केन्द्रित गरून् भन्ने उद्देश्यले यो व्यवस्था गरेका हौं ।’ उनले आफ्नो टिमको कमाण्डरको हकमा भने यो नियम लागू नहुने बताए ।
ड्युटी टिममा रहेका कर्मचारीलाई जरूरी भएमा कमाण्डरको फोनमार्फत सहजीकरण गरिने उनको भनाइ छ । यसरी मोबाइल नचलाउँदा सुरक्षा निगरानी प्रभावकारी हुने, अपराध भएमा तत्काल अनुसन्धान सफल हुने, सामाजिक सञ्जालको दुरूपयोगबाट प्रहरी कर्मचारीलाई बचाउन सकिने, प्रहरी कर्मचारी स्वयंको पनि मोबाइल खर्च बचत हुने देखिएको छ ।
यस कार्यले प्रहरीप्रतिको नागरिक विश्वास पनि बढ्ने अपेक्षा प्रहरीले गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका सबै जिल्ला, गण, तलिम केन्द्र, इलाका तथा चौकीलाई परिपत्र गरिसकेको छ । प्रहरीले प्रभावकारीरूपमा ब्रिफिङ र अनुगमन गर्ने व्यवस्था पनि मिलाएको छ ।