२०८३ वैशाख १४ , सोमबार

वीरेन्द्रनगरमा शुक्रवार हुने सांगीतिक कार्यक्रमको तयारी पुरा, कार्यक्रम मार्फत १५ लाख सहयोग रकम जुट्ने अनुमान



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रवार साँझ हुने सांगीतिक कार्यक्रमको तयारी पुरा भएको छ । बिहीवार ज्योती फाउन्डेसनले पत्रकार सम्मेलन मार्फत सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिटी हलमा हुने सांगीतिक कार्यक्रमको तयारी पुरा भएको जनाएको हो ।

उक्त कार्यक्रम जाजरकोट भुकम्पबाट प्रभावित क्षेत्रका महिलाहरुको सहयोगार्थका लागि हुन लागेको हो । कार्यक्रममा राष्ट्रियस्तरका कलाकार तिलक सिंह पेला, राज सिग्देल र शिशिर योगी लगायतका कलाकारले प्रस्तुति गर्ने उक्त फाउन्डेसनकी अध्यक्ष ज्योति कटुवालले जानकारी दिइन् ।

उनकाअनुसार कार्यक्रममा बागीना समूहको समेत प्रस्तुति रहेन र कार्यक्रमका प्रमुखअतिथि खलंगामा हमला पुस्तकका लेखक मदन पुरस्कार विजेता तथा सामाजिक अभियन्ता राधा पौडेल रहने बताइएको छ । कार्यक्रममा भूकम्प भोगेका छोरीहरुले आफ्ना अनुभव पनि सुनाउने अध्यक्ष कटुवालले जानकारी दिइन् ।

भूकम्प प्रभावित महिला र बालबालिकाको पुर्नस्थापना र गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ । कार्यक्रम मार्फत कम्तीमा लक्ष्य १५ लाख सहयोग रकम जुट्ने अनुमान गरिएको छ । यसमध्ये ५ लाख आन्तरिक खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमबाट संकलन भएको आर्थिक रकम बैंकमा दाखिला गरि सम्पूर्ण खर्च विवरण सार्वजनिक समेत गरिनेछ ।

प्रकाशित मिति : २०८० मंसिर १४ गते बिहीबार