२०८३ वैशाख १४ , सोमबार

जाजरकोटमा भूकम्पपछि चिसोले मर्नेको सङ्ख्या बढ्याे



सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरू हिउँदे चिसोले मर्न थालेका छन् । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिमलाई ठुलो क्षति पु¥याएको थियो । लाखौँ नागरिक घरबारविहीन भएर त्रिपालमा ओत लाग्ने अवस्थामा पुगेका छन भने हजारौँ घरहरू ध्वस्त र चर्किएर बस्न नमिल्ने भएका छन् ।

साथै १ सय ५४ जना भन्दा बढी नागरिकले भूकम्पमा परेर अकालमा ज्यान गुमाएका छन् । उक्त भुकम्पमा परी हजारौँ मानिस घाइते भए । तर, पछिल्ला दिनहरूमा भूकम्पबाट बाँचेकाहरु चिसोले मर्न सरु भएको छ। बिहीबार मात्रै जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीकी सुनिल वादीकी तीन वर्षीय छोरी रक्षा वादीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भयो ।

चिसोका कारण उनलाई निमोनिया भएको थियो । निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको हो । गएको कात्तिक १७ गतेको भुईँचालोबाट घर चर्किएपछि सुनिलको परिवार त्रिपालमुनि बसिरहेको छ । यस्तै मङ्गलवार जाजरकोटको बारेकोट गाउँपालिका–७ नुवाकोटका ६५ वर्षीय हरियो दमाईको मृत्यु भयो ।

भूकम्पले घरमा क्षति पु¥याएपछि उनी त्रिपालमा बस्दै आएका थिए । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको थियो ।उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा मङ्गलवार उनको मृत्यु भएको हो । मङ्गलवार नै भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीय शर्मिला चदाराको पनि मृत्यु भएको थियो ।

उनी सुत्केरी भएको करिब महिना हुन लागेको थियो । त्रिपालमुनि बस्दै आएकी चदाराको चिसोका कारण मृत्यु भएको थियो । यसरी भूकम्प प्रभावितहरूको चिसोले दिनप्रतिदिन मृतकको संख्या बढ्दै गएको छ । अस्थायी टहरोहरूमा बसिरहेका भूकम्पपीडितहरू धमाधम बिरामी समेत पर्न थालेका छन् ।

चिसोका कारण बालबालिकालाई निमोनिया र सुत्केरीलाई ज्वरो, रुघाखोकी तथा वृद्धवृद्धालाई दमजस्ता रोग बढी देखिन् थालेको छ । जिल्ला अस्पताल जाजरकोटका अनुसार पहिलेभन्दा हिजोआज बिरामीहरू अस्पताल आउनेको सङ्ख्या बढी देखिएको छ । धेरैजसो त्रिपालमुनि बास बस्ने गरेकाहरू अस्पताल आउने गरेका छन् ।

तर, सरकारले भने यति बेला यो विषयमा चासो दिएको देखिँदैन । अस्थायी आवास निर्माणका लागि सरकारले दिने भनेको रकमसमेत पीडितहरूले पाउन सकेका छैनन् । कार्यविधि बनिसकेपनि रकम निकासा भइसकेको छैन । कार्तिक २६ गते नै आवास निर्माणको कार्यविधि पास गरेको सरकारले भूकम्पपीडितलाई दिनुपर्ने ५० हजार रकम वितरण गर्न सकिरहेको छैन ।

दुई किस्तामा वितरण हुने भनिएको उक्त रकमको पहिलो किस्ता पनि सबैले प्राप्त गर्न सकिरहेका छैनन् । जसका कारण भूकम्पपीडितहरू त्रिपालको भरमा गुजारा गरिरहेका छन् । जाजरकोट र रूकुमपश्चिमका भूकम्पपीडितहरूलाई यति बेला चिसोले सताएको छ ।

रुकुम पश्चिममा भने भूकम्पले घर भत्किएका परिवारलाई अस्थायी आवासका लागि पहिलो किस्ताबापत धमाधम रकम निकासा भइरहेको छ । तर, जाजरकोटका भने अस्थायी आवास निर्माणका लागि तथ्याङ्क सङ्कलन भइरहेको छ ।

रुकुममा रकम निकासा भइसक्दा जाजरकोटमा तथ्याङ्क सङ्कलन नै सकिएन !

भूकम्पले घर भत्किएका परिवारलाई अस्थायी आवासका लागि रुकुम पश्चिममा पहिलो किस्ताबापत धमाधम रकम निकासा भइसक्दा पनि जाजरकोटमा भने भर्खरै अस्थायी आवास निर्माण गर्न यहाँ पहिलो किस्ताबापतको रकम स्थानीय तहमा पठाउन सुरुआत गरिएको छ । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषले बिहीबार शिवालय गाउँपालिकामा पहिलो किस्ता पठाएको हो ।

रुकुम पश्चिममा मङ्गलबारदेखि नै यो प्रक्रिया सुरु भएर स्थानीय तहले लाभग्राहीलाई रकम वितरणसमेत सुरु गरिसकेका छन् । शिवालयमा तीन हजार तीन सय नौ लाभग्राहीलाई पहिलो किस्ता पठाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटका लेखापाल एकराज उपाध्यायले जानकारी दिए ।उनका अनुसार प्रतिलाभग्राही २५ हजारका दरले रु आठ करोड २७ लाख २५ हजार पठाइएको छ ।

पालिकाले भने लाभग्राहीको विवरण पुनः पहिचान गरी रकम वितरण गर्ने जनाएको छ । शुक्रबारदेखि नै यो प्रक्रिया थालिने पालिका अध्यक्ष शेरबहादुर शाहीले बताए । लेखापाल उपाध्यायले अन्य गाउँपालिकाबाट भने लाभग्राही विवरण प्राप्त हुन नसकेको बताए । विवरण प्राप्त भएलगत्तै स्थानीय तहमा रकम पठाइने बताए । जिल्लामा शिवालय बाहेक अन्य स्थानीय तहमा अहिलेसम्म पनि तथ्याङ्क सङ्कलन सकिएको छैन ।

रुकुमपश्चिममा एकै दिन दश करोड रकम स्थानीय तहमा पठाइयो
रुकुमपश्चिममा भूकम्पले घर भत्किएका परिवारलाई अस्थायी आवासका लागि बिहीवार मात्रै झन्डै १० करोड रुपैयाँ स्थानीय तहमा पठाइएको छ । पहिलो किस्ता बापत प्रतिपरिवार २५ हजारका दरले जिल्लाका आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिकाका लागि नौ करोड ९२ लाख ७५ हजार पठाइएको छ ।

यस्तै बिहीवार नै आठबीसकोट नगरपालिकाका चार हजार, चौरजहारी नगरपालिकाका दुई हजार पाँच सय ११ र त्रिवेणी गाउँपालिकाका एक हजार ६० लाभग्राहीका लागि पहिलो किस्ता पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मंसिर १५ गते शुक्रबार