२०८३ वैशाख १४ , सोमबार

भाइरलले सिंगो गाउँ नै थला !



डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं।२ मा पर्ने रसी गाउँनै भाइरलले थला परेको छ । चिसो बढेसँगै एक महिनादेखि गाउँका प्रत्येक घरजस्तो रुघाखोकी, ज्वरो र घाँटी दुख्ने लक्षण भएका बिरामीहरु देखिएका छन् ।

गाउँमा रहेको झण्डै १ सय ४० घरधुरीमध्ये अधिकांश घरमा रुघाखोकी, ज्वरो र घाँटी दुख्ने समस्या भएका बिरामीहरु रहेको स्थानीय बुधबहादुर बुढाले बताए । उनले भने, ‘करिब एक महिना भयो, घरै पिच्छे बिरामी छन् । रुघाखोकी, ज्वरो,टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको छ ।’

भाइरल ज्वरोले सिंगो गाउँनै थला परेपनि अहिलेसम्म पनि स्वास्थ्यकर्मीको टोली उपचारका लागि नपुगेको उनले बताए । यता त्रिपुरासुन्दरी नगरपालिकाको टोली आजै स्वास्थ्यकर्मीसहित गाउँ जान लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुल बहादुर श्रेष्ठले जानकारी दिए ।

रसी गाउँमा केही हप्ता देखि भाइरलका बिरामी बढेको भन्ने जानकारी शुक्रबारमात्रै आएकाले औषधीसहितको स्वास्थ्यकर्मीको टोली आज जान लागेको उनले बताए ।

प्रकाशित मिति : २०८० मंसिर १६ गते शनिबार