
सुर्खेत । गत १७ कात्तिकमा गएको भूकम्पबाट १५३ जनाको ज्यान गएको थियो । तर जाजरकोट भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिकामा सबै नागरिक सकुसल रहेका थिए । भूकम्पबाट आफ्नो गाउँपालिकाका सबै नागरिक जोगिएकोमा धन्य देखिएका पालिका अध्यक्ष बीरबहादुर गिरी अहिले तनाबमा परेका छन् ।
‘भूकम्पको केन्द्रविन्दु भएपनि हामी सबै सकुसल रहेका थियौ । तर चिसो काल बनिरहेको छ’, अध्यक्ष गिरी भन्छन् । त्रिपाल बाँडेर सबै नागरिकलाई राखेपनि चिसोबाट जोगिनेगरी अस्थायी बासको प्रबन्ध गर्न नसकिएको उनी बताउँछन् ।
‘पालिकाको सबैजसो घर भत्किएको छ । हामीसँग सबैलाई न्यानोमा राख्ने सामथ्र्य छैन’, उनी भन्छन् । दिनदिनै चिसोबाट ज्यान गुमाउने संख्या बढिरहेको गिरी बताउँछन् । उनका अनुसार, पालिकामा अहिलेसम्म १२ जनाको चिसोबाट मृत्यु भइसकेको छ ।
चिसोबाट १९ कात्तिकबाटै भूकम्प प्रभावितको ज्यान जान थालेको थियो । एक नम्बर वडाका कर्णे कामीको चिसोबाट मृत्यु भएको थियो । कर्णेपछि नरेन्द्रबहादुर सिंहको २८ कात्तिकमा मृत्यु भयो । ३० कात्तिकमा बिरबहादुर कामी र ३ मंसिरमा डुमे पुनको मृत्यु भएको थियो ।
६ मंसिरमा गोरी कामी र कमल सिंहको मृत्यु भएको थियो । ९ मंसिरमा ऐवान कामी, १० मंसिरमा डिल्लीबहादुर चलाउनेको मृत्यु भयो । यसपछि भीमबहादुर पयिार, मन्दरी कामी, कल्दरी थापा र मनबुजा महताराको चिसोबाट मृत्यु भएको छ । पालिकामा रहेका ५६ सय घरपरिवार नै अहिले त्रिपालमुनि बसिरहेका छन् । तर सरकारले अहिलेसम्म अस्थायी टहरा बनाउन आर्थिक सहयोग समेत दिन सकेको छैन ।