
सुर्खेत । सुर्खेतका एकजना नौ वर्षीय बालकले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एउटा सुझाव चिठ्ठी दिएका छन् । मंगलवार गुर्भाकोट नगरपालिका–१० भेडाबारीका नौ वर्षीय किशोर पौडेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्राका क्रममा सुर्खेतमा रहेका ओलीलाई सुझाव चिठ्ठी दिएका हुन् ।
उनले चिठ्ठीमा लेखेका छन् ‘सम्मानीय पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ज्यु म र म जस्ता बालबालिकाहरू युवा अवस्थामा पुग्दासम्म पनि पेट पाल्नको लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गरिदिनुहुन अनुरोध गर्दछ ।’
अध्यक्ष ओलीले ती बालकले आफूलाई दिएको चिठ्ठीसहित फेसबुकमा राख्दै आफ्नो पार्टीको अभियान त्यसैका लागि भएको बताएका छन् । ‘मंगलबार हाम्रो यात्रा सुर्खेतबाट सल्यान हुँदै जाजरकोटतिर लाग्दै थियो । हिँड्ने बेलामा ९ वर्षीय बाबु किशोर पौडेलले एउटा सानो चिठ्ठी हातमा थमाए ।
स्वदेशमै कमाइको वातावरण बनाउन उनले सल्लाह दिए’, ओलीले लेखेका छन्, ‘मैले सोचेँ –हामीले मध्यपहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नुपर्छ ।’
साथै उनले ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेको भन्दै ‘सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन् । यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ ।’