२०८३ वैशाख १४ , सोमबार

अपाङ्गता भएका व्यक्तिहरुले गरे अवसर नपाएको गुनासो



सुर्खेत । शाहस र आँट हुने हो भने अपाङ्गता भएकाहरूले पनि राम्रो काम गर्न सक्छन् । तर अपाङ्गता भएका कतिपय व्यक्तिहरूले सिप सिकेर पनि कुनै अवसर नपाएको र कतिपयले अन्य समस्या भएको गुनासो गरेका छन्। उनीहरुको अरुबाट सहयोगको अपेक्षा धेरै राख्ने र त्यो नपाएको गुनासो छ।

मंगलवार परिलक्षित संस्थाले सुर्खेतको गुर्भाकोट नगरपालिकामा गरेको अनुगमनका क्रममा उनीहरुले अवसर नपाएको र आशा धेरै भएको बताएका हुन् । संस्थाले केही महिना अघि अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत गुर्भाकोट नगरपालिकाका ४ जनालाई बाख्रा तथा किराना पसलका लागि नगद सहयोग गरेको थियो ।

उनीहरुलाई आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले बाख्रा तथा किराना पसलमा सामान किन्ने पैसा दिएर सहयोग गरेको संस्थाले बताएको छ । जसमा गुर्भाकोट नगरपालिका–१३ गुमीका चन्द्रबहादुर गाहालाई बाख्रा किन्नको लागि नगद २० हजार रुपैयाँ दिईएको थियो ।

यसैगरी गुमीकै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत ५ जना अपाङ्गगता भएका व्यक्तिलाई पनि उक्त संस्थाले पोषण वापत सहयोग गरेको थियो । गुर्भाकोट नगरपालिकाकै शेरबहादुर दमाईलाई किराना पसलको लागि नगद ४० हजार रकम दिएको थियो ।

सहयोग गरेका व्यक्तिहरुले भनेअनुसार काम गरे÷नगरेको विवरण लिनको लागि मंगलवार संस्थाले अनुगमन गरेको संस्थाका फिल्ड कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिए ।

अनुगमनका क्रममा सहयोग गरेका व्यक्तिहरुले भनेअनुसार काम गरेका थिए। तर, अझै पनि उनीहरूले धेरै कुराको अपुग भएको बताए। गुर्भाकोट–१३ का चन्द्र गाहाले बाख्रा किन्नको लागि रकम पाएपनि खोर व्यवस्थापन, बाख्रापालन सम्बन्धी तालिमको माग गरे ।

यस्तै, नेपाल राष्ट्रिय माविका प्रधानाध्यापक हर्कबहादुर बुढाले अपाङ्गता भएका विद्यार्थीहरुको लागि छात्रवास आवश्यक भएको बताए । उनले विद्यालयको आफ्नै छात्रवास नभएकोले अरुको घरमा बसाल्नुपर्ने समस्या देखाए ।

‘जाडोको समय छ विद्यालयको आफ्नै छात्रवास छैन्, अरुको घरमा बसाल्नुपर्छ,’ उनले भने, ‘न्यानो कपडा भएको भए धेरै सहज हुने थियो ।’ यस्तै गुर्भाकोटकै शेरबहादुरले विगतमा भन्दा परिलक्षित संस्थाले आफुलाई सहयोग गरेपछि धेरै नै सहज भएको बताए ।

उनले अहिले गुर्भाकोटमा एग्रोभेट सञ्चालन गरिरहेका छन् । उनले पसलमा सामान भएपनि कृत्रिम गर्भधारण सम्बन्धी तालिम लिन नपाएको गुनासो गरे । तालिम लिन पाएमा झनै सहज हुने उनको प्रतिक्रिया छ ।

गुर्भाकोट नगरपालिकाका उपप्रमुख मैना विकले अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाईन् । उनले अनुगमनमा गएर अपाङ्गता भएका व्यक्तिहरुका सुझाव तथा अपेक्षा समेत संकलन गरेकी थिइन।

उप–प्रमुख विकले नेरामाविमा अपाङ्गता भएका विद्यार्थीको लागि सकेसम्म केही दिनमा न्यानो कपडा वितरण गर्ने जानकारी दिईन। संस्थाका फिल्ड कार्यक्रम अधिकृत लामिछानेले संस्थाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : २०८० मंसिर २० गते बुधबार