
सुर्खेत। नेपाल मगर महिला संघ केन्द्रीय समितिले कर्णाली प्रदेश संग्रहालय सुर्खेतमा मगर समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको छ । डोल्पामा बसोबास गर्ने मगर समुदाय अन्तर्गत गत काइके समुदायमा दुई दिने क्षमता अभिवृद्धि तथा नेतृत्व विकास तालिम सञ्चालन गरेर सुर्खेत आएको समितिले प्रदेश सङ्ग्रहालय वीरेन्द्रनगरमा बाह्रघरे, अठारघरे र काइके समुदायले लगाउने पोसाक हस्तान्तरण गरेको हो ।
संग्रहालयमा मगर समुदायले लगाउने पोसाक राखेपछि सबैले अवलोकन गर्ने भएकाले पोसाक हस्तान्तरण गरिएको नेपाल मगर महिला संघ केन्द्रीय समितिका अध्यक्ष हिरु रानामगरले बताईन् । ‘यसअघि संग्राहलय अवलोकन गरि मगर समुदायको पोसाक राख्ने प्रतिबद्धता जनाइएको थियो ।’ उनले भनिन् ‘समितिले हाल आएर मगर समुदाय अन्तर्गत तीन समुदायको मगर पोसाक प्रदान गरिएको छ ।’
पोसाक हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा मगर समुदाय अन्तर्गत अल्पसंख्यक काइकेको भाषा तथा पोशाक संरक्षणमा सिङ्गो मगर समुदाय नै लागि परेकाले सबैले सहयोग गरिदिन हुन पनि संघका केन्द्रीय महासचिव मीना घर्तिमगरले जानकारी दिइन् । पोसाक ग्रहण गर्दै कर्णाली प्रदेश संग्रहालय सुर्खेतका निमित्त प्रमुख अर्जुनबहादुर शाहीले मगर समुदायको पोसाकलाई सुरक्षित तरिकाले प्रर्दशन गरि राखिने प्रतिबद्धता जनाए ।