
सुर्खेत । जाजरकोटको छेडागाड नगरपालिका ५ चंखेलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा ल्याइएको छ । बुधवार चंखिलामा औपचारिक कार्यक्रमको आयोजना गरी इलाका प्रशासन कार्यालयको नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले सो कार्यालयको भवन उद्घाटन गरेका हुन् ।
प्रशासन कार्यालयको उद्घाटन भएसँगै पश्चिम जाजरकोटका नागरिकहरू नागरिकता लिनका लागि सदरमुकाम खलंगा जानुपर्ने बाध्यता हटेको छ । यहाँबाट सेवा प्रारम्भ दिनको अवसरमा आज एउटा नागरिकता समेत वितरण गरिएको छ । सो अवसरमा स्थानीय सीता कुमारी गिरीले नागरिकता प्राप्त गरेकी छन् । नागरिकता प्राप्त गरेपछि स्थानीय गिरीले खुसी व्यक्त गरिन् ।
उक्त कार्यालयबाट प्रशासनिक कार्यहरू अन्तर्गत नागरिकताको नयाँ प्रमाणपत्र र प्रतिलिपीको काम हुने भएपनि क्रमश मतदाता नामावली र राहदानी लगाएतका काम पनि सुचारु हुने इलाका प्रशासन कार्यालयमा खटाइएका कामु प्रशासकीय अधिकृत सत्यदेव खनालले जानकारी दिए ।
यसअघि खलंगास्थित जिल्ला प्रशासन कार्यालयबाट प्रशासनिक सेवा लिइरहेका छेडागाड नगरपालिका, जुनीचाँदे, कुशे र शिवालय गाउँपालिका स्थानीयले अब चंखिलीबाटै सेवा लिन पाउने छन् ।