
सुर्खेत । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशले आफुले गरेका उपलब्धीहरु सार्वजनिक गरेको छ । बिहीवार कर्णाली प्रदेश प्रहरी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रहरी श्रीमती संघ कर्णाली प्रदेश सुर्खेतले आफुले गरेका उपलब्धीहरु सार्वजनिक गरेको हो ।
संघले गरेका कामहरूको फेहरिस्त सार्वजनिक गर्दै कर्णालीमा मात्रै नभई लुम्बिनीमा समेत विभिन्न कार्यक्रमहरु गरेको जानकारी दिएको छ । साउन ६ गते सुर्खेतको गुर्भाकोट–८ मेहेलकुनामा १ दिने निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरी स्त्रीरोग, नाक, कान घाँटी, हाड जोर्नी, जनरल फिजिसियन तथा दाँत समेतको समस्याहरूको चेकजाँच गरिएकोमा ७ सय ९६ जना स्थानीय नागरिकहरूले सेवा लिएको जानकारी दिएको छ ।
यस्तै, गत साउन ७ गते सुर्खेतको देउती बज्यै मन्दिर परिसरमा सरसफाई कार्यक्रम गरिएको र सोही दिन कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा रहेका अमर, पूर्व एवं बहालवाला प्रहरी परिवारसंग प्रहरी परिवारको उत्थान एवम् वृत्ति विकासका लागि आयआर्जनमूलक सीपयुक्त तालिम संचालन गरेको, व्यवसाय उन्मुख सहुलियत ऋण तथा शैक्षिक छात्रवृत्ती प्रदान गर्ने र भावी योजनाहरूको सम्बन्धमा अन्तरक्रिया तथा छलफल गरिएको जानकारी दिएको छ ।
यस्तै आगामी दिनहरुमा कर्णाली प्रदेशभित्रका अमर, पूर्व एवं बहालवाला प्रहरी परिवारको सशक्तिकरणलाई मूर्तरुप दिनुका साथै विभिन्न सीपमुलक, आयआर्जन र सिर्जनात्मक एवम् जनहित तथा सचेतना अभिवृद्धिका कामहरूको लागि नन्दा श्रेष्ठ अध्यक्षतामा समन्वय समितिसमेत गठन भएको श्रीमती संघ कर्णाली प्रदेशको तर्फबाट “कारगारमा किताब अभियान” अन्तर्गत “मावली दिदी, बिन्दुहरु”, “नदीझैँ जिन्दगी, समृद्ध बनाउ नेपाल, राष्ट्रियता बोल्दछ”,“जेष्ठ नागरिक योद्धा सिताराम ढकाल” समेतका १ सय १४ वटा किताबहरु एक समारोहबीच “कारागारमा किताब अभियान” का सह–संयोजक ज्योती कटुवाललाई हस्तान्तरण गरेको जानकारी दिएको छ ।
यस्तै, नेपाल पुलिस स्कुल सुर्खेतमा शैक्षिक सामाग्री वितरण, दैलेख जिल्लामा राउटे समुदायमा खाद्यान्न वितरण, फूलखेतीको लागि अनुदान वितरण र कार्यक्रम कार्यान्वयन्, सुर्खेत जिल्लामा रहेका अमर, पूर्व एवम् बहालवाला प्रहरी कर्मचारीहरूको परिवारलाई स्वरोजगारमूलक फूलखेती गर्नको लागि नेपाल प्रहरी श्रीमती संघ अन्तर्गत कल्याणकारी कोषबाट ३ लाख ५ हजार अनुदान प्रदान गरिएको जनाएको छ ।
संघको भावी योजनाहरु
नेपाल प्रहरी श्रीमती संघ कर्णालीले प्रहरीका बालबालिकाको लागि छात्रवृति कोष स्थापना गर्ने जनाएको छ । नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशकी अध्यक्ष विन्दु अधिकारी ढकालले पत्रकार सम्मेलनमा प्रहरीका बालबालिकाका लागि कोष स्थापना गर्ने बताएकी हुन् । साथै उनले प्रहरीका परिवारहरूलाई स्वरोजगार बनाउन ऋण र अनुदान सहयोग गर्ने पनि बताइन् ।
अध्यक्ष अधिकारीले स्वरोजगारका लागि ऋण र अनुदानसँगै अन्य सीपमुलक तालिमहरू, नयाँ भवनमा आवश्यक श्रोत साधन र जनशक्ति व्यवस्थापन, आफ्नै सवारी साधन, नागरिकका लागि एम्बुलेन्स सेवा, सामाजिक चेतनाका लागि निःशुल्क परामर्श कार्यक्रम, प्रदेशस्तरमा संघकै नेतृत्वमा पेट्रोल पम्प र लागूऔषध दूर्व्शसनी सुधारका लागि आसरा सुधार केन्द्र स्थापना गर्ने तयारी थालेको बताइन् । उनले कार्यक्रममार्फत सबैको सहयोगको अपेक्षासमेत गरेकी थिईन।