
कुलेन्द्र शाही,सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको विमानस्थललाई स्तरोन्नती गर्ने या सुर्खेत कै भेरीगंगामा अर्को क्षेत्रीय स्तरको नयाँ विमानस्थल बनाउने भन्ने वहसले जोर पकडेको छ। यो विषयले सोमवार सामाजिक संजाल निक्कै तात्तिएको छ।
सोमवार सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हृदयराम थानीले विभिन्न निकायले लेखेको पत्रहरु सार्वजनिक गरिदिएपछि यतिबेला सामाजिक सञ्जालमा तरङ्ग पैदा गरेको छ। उनले पत्रहरु सार्वजनिक गर्दै लेखेका छन्, ‘५७ वर्ष पुरानो सुर्खेत विमानस्थल सार्ने प्रयत्न भईरहेको छ । बाँकी कागजहरुले आफै बोल्छन् ।’
उक्त पत्रपछि सामाजिक संजाल यति तात्तियो कि विमानस्थल वीरेन्द्रनगरबाट रामघाट गर्ने निश्चित भैसक्यो। अनि यो विमानस्थल सार्ने मुख्य पात्र कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हुन्। कर्णाली प्रदेशको मुख्य शहर वीरेन्द्रनगरमा रहेको ५७ वर्ष पुरानो यो विमानस्थलबाट हाल काठमाडौंतर्फ दैनिक तीन उडान हुँदै आएका छन् भने कर्णालीका विकट जिल्लामा पनि उडान हुँदै आइरहेका छन् ।
वन विभागले प्रस्ताव गरेको पत्रमा वीरेन्द्रनगरबाट एयरपोर्ट सारेर भेरीगंगा लिए वीरेन्द्रनगरको एयरपोर्ट भएको ठाउँमा बन क्षेत्र बनाउनु पर्ने आसय प्रष्ट देखिन्छ।सांसद थानीले हालकै विमानस्थलको रनवे बढाएर ठूला जहाज बस्ने बनाउन आवश्यक रहेको बताउँदै आएका छन् । केही समय अगाडि सांसद थानीले खबरदृष्टिसँग कुराकानीमा आफ्नो ध्यान अब वीरेन्द्रनगरको एयरपोर्ट विस्तारतर्फ केन्द्रित भएको बताएका थिए ।
उनले कर्णाली प्रदेशको विकासको लागि तत्काल वीरेन्द्रनगरको एयरपोर्ट ३ सय मिटर उत्तरतर्फ विस्तार हुनुपर्ने बताएका थिए । यसका लागि उनले वीरेन्द्रनगर नगरपालिकाले वीरेन्द्रनगरमा एयरपोर्ट विस्तार हुन नसक्ने भनी गरेको निर्णय नै वाधक बनेकोले यसलाई सच्याउनु पर्ने उल्लेख गरेका थिए।
४ बिगाहा जमिन मात्रै अधिग्रहण गरे एयरपोर्ट विस्तार हुनसक्ने बताउँदै थानीले यसका लागि बजेट व्यवस्था गर्न अप्ठ्यारो नभएको पनि तर्क गरेका थिए । नगरपालिकाको निर्णय परिवर्तन हुन् बित्तिकै आफू बजेट खोज्न लागिहाल्ने भन्दै उड्डयन प्राधिकरणसँग आफू सम्पर्कमै रहिरहेको उनको भनाइ थियो।
राजनीतिले धेरै गिजोलिएको एयरपोर्ट विस्तारको काममा वीरेन्द्रनगर नगरपालिका, नेपाली कांग्रेसको दुईवटा खेमा मुख्य जिम्मेवार रहेको सरोकारवालाहरु वताउँछन। कांग्रेस भित्रको चरम गुटबन्दी र थानी खड्का लडाइँले एयरपोर्ट मिचाईमा परेको स्थानीय सुनिल शर्मा बताउछन्।
सांसद थानीले बन विभागले लेखेको पत्रलाई फेसबुकमा राख्दै सुर्खेतको रामघाटमा हालको विमानस्थलको विकल्पमा विमानस्थल बनाउन ईआइए गर्ने र सर्तहरूको बुँदा नं ७ मा रामघाट विमानस्थल बनेपछि हाल संचालनमा रहेको सुर्खेत विमानस्थललाई वनक्षेत्रका रुपमा विकास गर्न सकिन्छ वा सकिँदैन भनी ईआइएमा विकल्प विश्लेषण गर्ने निर्णय २०८० वैशाख २७ गतेको पत्रमा उल्लेख गरिएको छ ।
उक्त पत्र सार्वजनिक भएपश्चात कतिपयले विमानस्थल सार्नुपर्ने प्रतिक्रिया दिएका छन् भने अधिकांश कर्णालीका नागरिकहरुले भने भइरहेकै विमानस्थललाई थप सुदृढ बनाउनुपर्ने प्रतिक्रिया दिएका छन् ।
कर्णाली प्रदेश सरकारका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले २०७७ असोज १५ गते उक्त सम्झौता गरेका थिए ।
उक्त सम्झौताअनुसार विमानस्थलको रनवे बढाउने बारेमा विभिन्न अध्ययन भएका थिए । नागरिकलाई मुआव्जा दिन भन्दै प्रदेश सरकारले वर्षेनी बजेट समेत विनियोजन गर्दै आइरहेको थियो, तर मुख्यमन्त्रीका रुपमा काँग्रेसका जीवनबहादुर शाही आएपछि भने विमानस्थल विस्तार गर्ने निर्णय बन्द भएको थियो। यता, वीरेन्द्रनगर नगरपालिकाकी नगरप्रमुख मोहनमाया ढकालले भने वीरेन्द्रनगर नगरपालिका बाहिर विमानस्थल बन्ने कुरा कल्पना पनि गर्न नसकिने बताईन् ।
प्रमुख ढकालले उक्त पत्रमा पनि नयाँ विमानस्थल निर्माण सञ्चालन भए वन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ या सकिदैन भन्ने कुरा स्पष्ट रहेको बताईन् । उनले २०७७ सालमा तत्कालिन नगरप्रमुख देवकुमार सुवेदीको नेतृत्वमा भएको पत्रको विषयमा पनि विमानस्थल सार्न कुरा नभएको प्रष्टाईन् ।
यस्तै, नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले हाल सञ्चालनमा रहेको सुर्खेत विमानस्थल सार्न नहुने बताएका छन् । नेता कँडेलले मंगलवार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स राख्दै सुर्खेत विमानस्थलको तत्काल विकल्प सोच्ने कुरा गलत भएको बताएका हुन् । उनले बरु मुआव्जा दिन र विमानस्थलको धावनमार्गसहितका पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताएका छन् ।
नयाँ विमानस्थलका बारेमा भविष्यमा सोच्न सकिने धारणा राख्दै कँडेलले हाललाई सुर्खेत विमानस्थलको स्तरोन्नती आवश्यक रहेको वताए। सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले पनि हालको विमानस्थललाई ३ सय मिटर बढाउनुपर्ने पक्षमा आफुलाई उभ्याए। उनले पत्र आउँदैमा विमानस्थल सरिहाल्छ भन्ने कुरा अनुचित भएको बताए ।
नेताहरु वीच दोहोरी चलिरहदा नेताहरुकै कारण विमानस्थल नबन्ने र कर्णालीका जनताले फेरिपनि दुख नै पाईरहने भन्दै कर्णालीका जनताहरु चिन्तामा छन। नयाँ विमानस्थल पनि नबन्ने र भएको विमानस्थल पनि अलपत्र परेर पुनः नेपालगन्जकै विमानस्थल प्रयोग गर्ने दिनहरु आउने हुन् कि भन्ने चिन्तामा आम कर्णालीवासी परेका छन् ।