२०८३ जेठ ३ , आइतबार

रुसबाट फर्केका दीपेन्द्र भन्छन् – बाँचियो, भाग्य बलियो रहेछ



रुसको लडाइँबाट फर्केका दीपेन्द्र थापा

कुलेन्द्र शाही, सुर्खेत । रुस–युक्रेन युद्ध निरन्तर चलिरहेको छ । बेरोजगार नेपाली युवाको रुस यात्रा भने रोकिएको छैन । अवैध हिसाबले युक्रेन पुगेका नेपालीहरू धमाधम मारिरहेका छन् । रुसमा अहिले अनुमानित २० हजार बढी नेपाली युवाहरू सेनामा रहेको बुझिएको छ । तर, आधिकारिक तथ्याङ्क भने कहीँ कतै छैन, सरकारसँग समेत छैन ।

नेपालीहरू श्रम, अध्ययन र व्यवसायका लागि रुस पुगेपनि पछिल्लो समय त युद्ध मैदानमा होमिनका लागि पनि त्यहाँ पुग्न थालेका छन् । आकर्षक तलब र त्यहाँको नागरिकता पाइने आशामा नेपाली युवा रुसी सेनामा होमिने क्रम बढेको छ । सरकारले युद्धग्रस्त मुलुकमा नजान सचेत गराउँदा–गराउँदै पनि युवाहरू दलाललाई लाखौँ रुपैयाँ बुझाई यहाँ पुगेर बन्दुक बोकिरहेका छन्।

रुसी सेनामा एक वर्ष काम गरेपछि त्यहाँको नागरिकता पाउने व्यवस्था छ । एक हजारभन्दा बढी नेपालीले रुसको नागरिकतासमेत लिइसकेका छन् । यही लोभमा उनीहरूले आफ्नो ज्यान हत्केलामा राखेर युद्ध लडिरहेका छन्। गत भदौ ९ गते जाजरकोटका एक युवक पनि प्रलोभनमा परेर रुस गए ।

शिवालय गाउँपालिका–६ सुँगरखालका ३३ वर्षिया दीपेन्द्र थापा रुस गएका थिए । उनी नेपालमा भने जस्तो कुनै पनि रोजगार नपाएको भन्दै रुस गएका थिए । उनले रुस जानुभन्दा पहिले कतार र मलेसियाको समेत भिजा लगाएका थिए । तर उनले लगाएको भिजा समयमै नआएपछि भिजिट भिजामा उनी रुस गए ।

थापा खुसी र रहरले नभई कुनै पनि विकल्प नभएकाले भिजिटमै भएपनि रुस जान तयार भएका थिए। उनी भन्छन् ‘रुस जानुको कारण आर्थिक नै हो । नेपालमा कुनैपनी काममा इमानदारिताले बाँच्न नसकिने भएपछि परिवारलाई खुसी अनि सुखी बनाएर आफ्नै पसिनाको कमाइ राख्नको लागि विदेश जान बाहेक अरू केही विकल्प देखिन् ।’

अन्तिममा विदेशिनु परेको उनको भनाइ छ । उनी केही वर्ष पहिले नेपाली सेनामा समेत भर्ती भएका थिए । कारणवश उनले उक्त जागिर पनि छाडेका थिए । उनी भन्छन्, ‘केही वर्ष पहिले नेपाली सेनामा भर्ती भएर जागिर छाडेको थिए, त्यति बेला नै बन्दुक चलाउन जानेको थिए । रुसमा गएपछि पनि बन्दुक चलाउनु पर्ला सोचेर रुस जान तयार भए र जसोतसो दुई महिना लगाएर रुस पुगे ।

उनी आकर्षक तलबको लोभमा आफैले जानेको काम भनेपछि प्रलोभनमा परेर रुस गएको बताउँछन् । उनी गत भदौ २७ गते रसिया पुगेका थिए । उनी आफ्नो लागि मात्र नभई परिवारको खुसीको लागि समेत त्यहाँ गएको बताउँछन् । रुसमा लडाइँ भइरहेको थाहा हुँदाहुँदै पनि आफू रुस गएको उनले बताए ।

‘मलाई लडाई हुन्छ भन्ने थाहा थियो, भाग्नु नै पर्छ भनेर गएको थिएन, मैले त्यहाँको बारेमा बुझ्दा लडाइमा मृत्यु भएपनि लास भारत र बेलायतको सेनामा कार्यरत सैनिकहरू जस्तै नेपाल ल्याइन्छ र परिवारले पाउनुपर्ने सेवा सुविधाहरू पाउँछन् भन्ने बुझेको थिए,’ उनी भन्छन्, ‘त्यति भएपनि मेरो परिवारले त केही सेवा सुविधाहरू त पाउँछन् भनेर म त्यहाँ गए ।’

तर, त्यहाँ गएपछि आफूलाई वास्तविकता थाहा भएको उनको भनाइ छ । ‘यतिको कुराहरू पहिले नै थाहा पाएको भए म जान्थेन होला । त्यसपछि मैले नेपाल फर्किने मनसाय बनाए,’ उनी भन्छन्। उनी त्यहाँ भएका गतिविधिको बारेमा त्यति व्याख्या गर्न चाहान्नन। तर उनी भन्छन् ‘लडाइँमा होमिएको सिपाहीले चुनौतीको कुनै बयान र व्याख्या गरिरहनुपर्दैन होला ।

किनभने त्यहाँ बाँच्ने कुनै आधार देखिएको हुँदैन,’ उनी भन्छन्। त्यहाँको अवस्था निकै डरलाग्दो हुने भएकोले शब्दमा वर्णन गर्न नसकिने उनको भनाइ छ। धेरै सोचेपछि अन्ततः नेपाल आउन सफल भएकोमा उनी खुसी व्यक्त गर्दछन्। । उनी भारतीय दूतावास मार्फत युक्रेनबाट रसिया आउन सफल भए । युक्रेनबाट रसिया पुग्दासम्म धेरै चुनौतीहरू भएको बताए ।

उनी भन्छन्, ‘मेरो भाग्य अनि सम्पूर्ण आफन्त र नेपाली दाजुभाइ दिदिबहिनीहरुको आशीर्वाद लाग्यो र नेपाल आउन सफल भए । त्यहाँ गइसकेपछि घर फर्किन्छु भन्ने आशा मारेको थिए ।’ उनले पारिश्रमिकलाई मात्र हेर्ने हो भने नेपालीहरूको लागि धेरै नै राम्रो भएको बताए । उनले मासिक १ लाख ९५००० तलब र भत्ता जोडेर २ लाख भन्दा बढी कमाउने गरेको बताए ।

उनी अहिले भन्छन्, ‘ पैसा नै सबै थोक रहेनछ । जीवन भए थोरै भएपनी रमाउन सकिन्छ भन्ने यो भोगाइबाट प्रष्ट भएको छु ।’ कतिपय साथीहरूको आफ्नै आँखा अगाडि मृत्यु भएको उनी बताउँछन् । गाउँघर र छिमेकका मान्छेहरूलाई त्यहाँ जानुभन्दा देशमै सुखका साथ बसेर काम गर्न सुझाव दिन्छन्। कतिपय मानिसहरू आफूले नजाऊँ भन्दापनि गए ।

रसिया पुगेपछि पनि आफूले नेपाल फर्किन आग्रह गरिरहेको बताउँदै नेपालीहरूले नमानेको बताए। अहिले आफै पनि धेरैको सम्पर्कमा नभएको उनको भनाइ छ। नेपालीहरू त्यहाँ ठुलो समस्यामा रहने गरेकाले सरकारले त्यहाँ पुगेका सबै नेपालीहरूलाई फिर्ता गर्न उनले अनुरोध गरे।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमबार