
गत माघ १० गते मंगलवार इलामका एक व्यवसायी प्रेम आचार्यले नेपालको संसद भवन अगाडि शरिरमा आगो लगाई आत्मदाह गरे । उनले मंगलवार संसद भवन अगाडि आत्मदाह गरेपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भयो ।
उनले आत्मदाह गर्नुभन्दा केहीसमय अगाडि सामाजिक सञ्जाल फेसवुकमा एउटा लामो स्टाटस लेखेका थिए।
उनले लेखेका थिए, “म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेमप्रसाद आचार्य आज छत्तिसौ वसन्त पार गरि सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाइ ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खादा, ब्यपार गर्दा, वैदेशिक रोजगारमा जाँदा एवम् उद्योग चलाउदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसरती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु।“
उनले फेसबुकमा अगाडि लेखेका थिए, “यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो । उनले लामो बिचमा लेखका थिए । सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन । श्रीमती छोराछोरी को माया र कर्तब्यले मर्न सकिन । फोन कल यति सामना गरे कि फोनो फोबिया नै भयो । कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने । २ ३ बर्ष देखि नै डिप्रेसनमा थिए कसैले बुझेन्। म डिप्रेसनमा छु भन्दा उल्टै गाली खाए । लड्दै पड्दै बाचियो।“
“छरिएको खुद्रा बिक्रीले पार नलाग्ने देखिएर डिलरशिपमा जाने निर्णय गरियो । फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराटनगर जान नपाइने भैयो । कारखानाले प्रत्यक्ष खुद्रा बिक्री गर्न नपाइने रे,“ उनले भनेका थिए।
उनको त्यो स्टाटसले व्यवसाय क्षेत्रमा घाटा लागेर अन्य कुनैपनि विकल्प नभएपछि आत्मदाह गरेको देखिन्छ। उनको मृत्यु लगत्तै विराटनगरमा विगत एक दशकदेखि व्यवसाय सञ्चालन गरिरहेका मोहन न्यौपानेले पनि झुण्डिएर आत्महत्या गरे ।
यसरी आत्महत्या गर्ने व्यवसायीहरु आर्थिक मन्दीका कारण व्यवसाय नचलेर आफ्नै जीवन समाप्त गरेको देखिन्छ। व्यवसायीहरूले आत्महत्या गर्नुको पछाडि धेरै कारण भएपनि बैंकको ऋण, व्याजदरमा अचाक्ली वृद्धि मुख्य कारण हुन। कोरोना र ईन्धनमा विश्वव्यापीरुपमा भएको वृद्धिका कारण व्यवसाय क्षेत्र लथालिङ्ग अवस्थामा पुगेको छ।
उधारो कारोबारले पनि उनको व्यवसाय बिग्रेको देखिन्छ । आचार्य मात्रै नभई आत्महत्या गरेका सबै व्यवसायीले लेखेका स्टाटस र अघि सामाजिक सञ्जालमा उल्लेख गरेका विषय हेर्दा बजारमा देखिएको आर्थिक मन्दी, उधारो कारोबार र बैंकको चर्को ब्याज नै समस्या बनेको प्रष्ट हुन्छ।
आर्थिक मन्दीको असर सुर्खेतमा पनि ठूलो मात्रामा परेको देखिन्छ। सुर्खेतका मुख्य सडकमा रहेका “सटर“ हरु खाली हुदै गएका छन। बैंकहरुमा लाग्ने गरेको भीड एकदमै कम हुदै गएको छ। बढि भीड हुने राष्ट्रिय बाणिज्य बैंक, ग्लोबल बैंकले ग्राहकको प्रतिक्षा गरेर बस्नुपर्ने अवस्था आएको छ।
“पिक सिजन“ मा पनि होटलका अधिकांश कोठा खाली छन्। सरकारी र गैरसरकारी संघ÷संस्थाहरुले गर्ने कार्यक्रम हुन छाडेका छन। वीरेन्द्रनगरका ठूला होटलहरुलेसमेत ग्राहक कुरेर बस्नुपर्ने अबस्थामा पुगेका छन्।
साँझपख यातायातका साधनहरुले जाम हुने वीरेन्द्रनगर वजारका चोकहरुमा फाट्टफुट्ट गाडी चल्ने गरेका छन्। मान्छेहरु सडकमा निस्कनै छाडेका छन्। साँझपख रेष्टुरेन्टहरुमा खचाखच हुने मानिसहरु कम हुदै गएका छन्।
वीरेन्द्रनगर यरीचोकमा फेन्सी कपडा पसल गर्दै आएकी ३४ वर्षकी सोनमाया न्यौपानेले कोरोना भाईरस र आर्थिक मन्दीका कारण व्यवसाय ठप्प भएको बताउँछिन् । उनी भन्छिन्, “पहिले दैनिक १३ हजार भन्दा बढी रुपैया कमाउथ्यौँ । तर अहिले दिनमा एक हजार पनि कमाई हुँदैन।“ उनले निराश हुदै भनिन्, “यस्तै हो भने अब व्यवसाय नै बन्द गर्नुपर्छ।“
यस्तै, वीरेन्द्रनगरमा कोल्ड स्टोर सञ्चालन गर्दै आएका श्याम श्रेष्ठले पहिले भन्दा अहिले पेय पदार्थको व्यापारमा पनि निक्कै गिरावट आएको वताए। उनले भने, “पहिले यहि व्यवसायबाट मैले घर खर्चका साथै २ जना छोराछोरीलाई नेपालगञ्ज पढाउथे । कोरोना भाईरस सुरु भएदेखि निरन्तर तीन वर्षसम्म पसल नै खोलेनौ । फेरी भर्खर भर्खर पसल सुरु गरेका थियौ अहिले पनि त्यस्तै भएको छ।“
वीरेन्द्रनगरमा भेटिएका सबैले आर्थिक मन्दीका कारण पसल व्यवसाय चल्न नसकेको वताए। उनीहरूले बैंकहरुले ऋण लिदा ८ प्रतिशतमा लिएको कर्जाको व्याजदर अहिले १४÷१५ प्रतिशत पुगेको भन्दै देशमा सरकार नै नभएको वताए।
व्यवसाय क्षेत्र तहसनहस भएको बेला राहत दिनुपर्नेमा उल्टै बैंकहरुले गरेको चर्काे व्याज वृद्धिले व्यवसायीहरु पसल बन्द गरी विरोध प्रदर्शनमा समेत उत्रिएका छन् । केही महिना अघि सुर्खेत उद्योग वाणिज्य संघ र सुर्खेत चेम्बर अफ कमर्सले व्यवसायीहरु बैंक व्याजका कारण तनावग्रस्त बनेको भन्दै वीरेन्द्रनगर बन्दसम्मको आन्दोलन गरेका थिए।
खासगरी, कोरोना महामारीबाट उद्योग व्यवसाय क्षेत्रमा सृजना भएको समस्यालाई राज्यले समयमै व्यवस्थापन गर्न नसक्दा राज्य नै असफलताको दिशा तिर गैरहेको छ। देशमा व्यवसायीक वातावरण समाप्त भएर गएको छ भने व्यवसायीहरुले ठुलो व्यावसायिक क्षति बेहोर्नुपर्ने अवस्था देखिएको छ ।
महामारीको समयमा बैंकको ब्याजदर ह्वात्तै बढ्नु र यही समयमा बजारमा कारोबार नहुँदा व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता र ब्याज बुझाउन सकिरहेका छैनन् ।
एकातिर महङ्गी बढेको छ भने अर्काेतिर आर्थिक मन्दी भएको बेलामा बैँक तथा सहकारी संस्थाले समेत ब्याज बढाएर थप तनाव दिएको सुर्खेत चेम्बरका अध्यक्ष चिन्तामणि शर्मा वताउछन। उनी भन्छन,“ राज्य जिम्मेवार भएको भए यस्तो अवस्थामा कर्जाको व्याजदर घटाउनु पर्ने हो।“
यसैबीच, वीरेन्द्रनगरमा केही दिन देखि निरन्तर लघु वित्त संस्थाविरुद्ध बैठक र कोणसभाहरु हुदै आएको छ। संघर्ष समिति नै गठन गरेर सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन तथा धर्नाहरु सुरु भएको छ। संघर्ष समितिले ५ बुँदे मागसहित जिल्ला प्रशासन कार्यालय सुर्खेत लगायत वीरेन्द्रनगरको बिच बजारमा धर्ना दिएका थिए।
संघर्ष समितिले लघुवित्त संस्थाहरूलाई नवसामन्तको आरोप लगाउँदै संस्था नै खारेज गर्नुपर्ने, सामूहिकरुपमा ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण दिनुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने लगायतका माग गर्दै नाराबाजी गर्ने गरेका छन् ।
पीडितहरूले नवसामन्तका रूपमा स्थापित भइरहेका लघुवित्त संस्थाहरू खारेज गर, लघुवित्त संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर, समाजवादी अर्थतन्त्रको विकास गर लेखिएका प्लेकार्ड र ब्यानर बोकेर विरोधमा उत्रिने गरेका छन् ।
विरोध प्रदर्शन भैरहदा नेपाल बैंक लिमिटेड सुर्खेतका शाखा प्रबन्धक सन्तोश श्रेष्ठले भने यति बेला सबैलाई आर्थिक अभाव भएको बताए । उनले नेपाल बैंक लिमिटेड सुर्खेत शाखामा पहिले निरन्तर किस्ता तिरिरहेका सेवाग्राहीले पनि अहिले किस्ता तिर्न नसकेको स्वीकार गरे।
आर्थिक मन्दी भनेको के हो ?
आर्थिक मन्दी भनेको उत्पादित वस्तु तथा सेवा बिक्री नभएको अवस्था हो । उत्पादन वृद्धि भइरहँदा पनि ग्राहकको क्रयशक्ति कम भएका कारण वस्तु बिक्री हुँदैन । जनताको खरिद क्षमता घट्दै जाँदा, नयाँ वस्तु उपभोगमा उपभोक्ताको चाख न्यून हुँदै जान्छ । उपभोगमा आएको न्यूनताले उत्पादित वस्तु बिक्दैन । वस्तु नबिकेपछि उत्पादकसँग कच्चा पदार्थ खरिद गर्न, श्रमिकलाई ज्याला दिन सक्रिय पुँजीको अभाव हुन्छ । वस्तु गोदाममा थुप्रिइरहन्छ, उत्पादकलाई थप वस्तु उत्पादन गर्न कठिन हुन थाल्छ ।
आर्थिक विकासको शास्त्रीय समयमा पनि यसै कारणले आर्थिक मन्दी सिर्जना भएको मानिथ्यो। तर, अहिलेको अवस्था शास्त्रीय समयभन्दा भिन्न रहेको पाइएको छ। मन्दी जनताको खरिद क्षमतामा कमी आउनु मात्र होइन, नयाँ वस्तु उपभोगमा चाहना नहुनु पनि हो ।