२०८३ वैशाख २६ , शनिबार

‘सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको विश्वास बढाउन जरुरी छ’



सुर्खेत । ‘सामुदायिक विद्यालय प्रति विद्यार्थी र अभिभावकको विश्वास बढाउन जरुरी छु हामीलाई अवगत नै छ कि सामुदायिक विद्यालयमा सरकारले विभिन्न चरणमा जाँच लिई छनौट भएका जनशक्तिले अध्यापन गर्छन् । सामुदायिक विद्यालयमा अध्यापन गर्ने अस्थायी, स्थायी, राहत, अनुदान तथा निजी सबै शिक्षकहरूले छनौटका प्रक्रियाहरू पूरा गरेका हुन्छन् । यस अर्थमा हरेक कोणबाट सक्षम जनशक्तिले सामुदायिक विद्यालयहरू हाकिरहेको अवस्था छ । राज्यले विद्यालय शिक्षामा ठुलो लगानी गरेको छ । विद्यालय सञ्चालन तथा भौतिक निर्माणको लागि उपयुक्त बजेट पनि उपलब्ध गराएको देखिन्छ । शिक्षण सिकाइको लागि तथा अतिरिक्त क्रियाकलापको लागि आवश्यक पर्ने सामग्रीहरू पनि उपलब्ध गराएको देखिन्छ । यति मात्र नभई विभिन्न दातृ निकायहरूले पनि बेलाबेलामा सामुदायिक विद्यालयहरूलाई ठुलो मात्रामा सहयोग गरेको पाइन्छ । समग्र सामुदायिक विद्यालयको शैक्षिक अवस्था र सुधारका लागि गर्नु पर्ने कार्यहरूको बारेमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर ६ का प्रधानाध्यापक गणेशकुमार न्यौपानेसँग विद्यालयको विगत, वर्तमान र भविष्यका योजनाको बारेमा सिद्धदर्शनकर्मी कुलेन्द्र शाहीले गरेको कुराकानीको सार-संक्षेप

विद्यालयको समग्र अवस्था कस्तो छ ?
समग्रमा भन्नुपर्दा वीरेन्द्रनगर भित्रको आर्थिक अवस्था कमजोर भएको विद्यालय हो । तर पनि, अहिले विद्यालय भौतिक रुपमा सम्पन्न छ, शैक्षिक उपलब्धिमा केही सुधार भएको छ, पठन पाठनमा अन्य विद्यालय भन्दा राम्रो नतिजा आउन सकेको छैन् । तर, सिकाइ गतिविधिमा अग्रसर भई अघि बढिरहेको छ । विद्यालयको शैक्षिक, आर्थिक, भौतिक अवस्थालाई तुलनात्मक रूपले हेर्दा सन्तोषजनक नै छ । सुधार गर्न हामी अहोरात्र जुटेका छौँ । विद्यालयमा करिब १ हजार ६ सय ८२ विद्यार्थी अध्ययनरत रहेका छन । उक्त विद्यार्थीको लागि ३१ पूर्ण र १४ जना आंशिक शिक्षक रहका छन । पर्याप्त स्वच्छ पिउने पानी, १९ वटा कक्षा कोठा, ८ वटा शौचालय र ५ वटा विद्यालयका भवन रहेका छन् । विद्यालयमा विद्याथीहरुकालाई खेल मैदानमा बिछ्याउने कार्पेटको अपुग रहेको छ ।

अन्य विद्यालयभन्दा यो किन फरक छ ?
हाम्रो विद्यालय अभिभावकविहीन भएका विद्यार्थीहरूलाई पढ्ने अवसर दिन्छ । साथै अन्य विद्यालयमा भर्ना शुल्क लाग्ने गर्दछ । हाम्रो विद्यालयमा भर्ना शुल्क नभए पनि विद्यार्थीहरूलाई हामीले निःशुल्क अध्ययन गर्न अवसर दिन्छौँ । हाम्रो विद्यालय एउटा सुधार केन्द्र पनि भएको छ । किनकि, हाम्रो विद्यालयमा अध्ययनरत कुनै कुनै विद्यार्थीहरू अन्य विद्यालयबाट निष्कासित भएर आएका पनि छन । उनीहरू लागूपदार्थ दुव्र्यशनी पनि हुन्छन । अन्य विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूको बानीमा सुधार ल्याउन नसकेका कारण हाम्रोमा आउने गरेका छन् । हामीले ती विद्यार्थीहरूलाई सुधार गर्छौ । सामुदायिक विद्यालयहरूको शिक्षाको गुणस्तर जुन हिसाबले घटिरहेको देखिन्छ । समुदाय र अभिभावकको विश्वास घटिरहेको अवस्था छ । विद्यार्थी सङ्ख्या पनि घटिरहेकै बेला छ । शैक्षिक सरोकारवालाहरूको विश्वास पनि त्यस्तै छ । तर, हाम्रोमा भने ठिक उल्टो छ । हामीले शैक्षिक सुधारका योजनाहरू निर्माण र त्यसको कार्यान्वयनमा दृढतापूर्वक लाग्ने गरेका कारण यस विद्यालयको शैक्षिक अवस्था राम्रो भएको छ ।

शैक्षिक सुधारका लागि विद्यालयले गरेका असल अभ्यासहरू के–के छन ?
विद्यालयमा प्रविधिमैत्री बनाउने उद्देश्यले विभिन्न दश वटा प्रोजेक्टर, स्मार्ट वार्डहरू छन । आधुनिक सामाग्रीमा पनि हामीले जोड गरेका छौ । हाल विद्यालयमा व्यवहार, कुशल सिप, सिकाई आदान प्रदान तथा सहकार्य गरिने गरिएको छ । शैक्षिक सत्रको कार्य योजना निर्माण, शिक्षण सामग्री निर्माण तथा शिक्षक तालीम जस्ता कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । विभिन्न खालका समितिहरू निर्माण गरी शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने गरिएको छ । अभिभावकको उपस्थितिमा मात्र नतिजा विद्यार्थीलाई दिइने र पूरक परीक्षाको व्यवस्था गरिएको छ । उत्कृष्ट अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारी सम्मान गर्ने गरिएको छ । विद्यालयकै नाम गरेको कापीहरू वितरण गर्न सफल भएको छ । नेपाल सरकारले तोकेका भन्दा पनि अरू कर्मचारी राखेका छौ । आफ्नै लगानीमा गरिबी विद्यार्थीहरूलाई विद्यालयको क्यान्टिनमा खाना खुवाउने व्यवस्था छ ।

डाँडा स्कुल एउटा सुधार केन्द्र पनि बन्ने गरेको छ । भन्नुभयो यसको कुनै रेकर्ड छ ?
अन्य विद्यालयबाट हामी डाँडा स्कुलमा आएर सुध्रेका विद्यार्थीको रेकर्ड छ । मैले अहिले नाम सार्वजनिक गर्दिन । विभिन्न वोर्डिङ्ग स्कुलमा सुर्धान नसकेका विद्यार्थीहरू हामीले राम्रोसँग आनीबानीमा सुधार गरेका छौ । पढाइमा नसुध्रिए पनि आनीबानीमा धेरै परिवर्तन आएको छन ।

यस विद्यालयका उपलब्धिहरू के–के छन ?
यस विद्यालयले निरन्तर तीन वर्ष राष्ट्रपति रनिङ्ग सिल्ड जितेर जिल्लमा पहिलो पटक नाम लेखाउन सफल भएको छ । सुर्खेतमा भएका अन्य विभिन्न कार्यक्रममा पनि विद्यालयले स्थान हासिल गर्दै आएको छ । नतिजाका रुपमा पनि विद्यालय समग्र रुपमा अगाडि नै रहेको छ ।

सामुदायिक विद्यालयको अवस्था देशभर खस्किँदै गइरहेको भनिन्छ । यसको कारण के हो जस्तो लाग्छ ?
सामुदायिक विद्यालयको अवस्था देशभर खस्किँदै गइरहेको भन्ने कुरा एकदम सही छ । यसमा पहिलो कुरा त सरकारी जागिर हो । मेरो जागिर सुरक्षित छ । मलाई कसैले केही गर्दैन भन्ने अधिकांश शिक्षकले यस्तो सोचाई राख्छन् । यस्तो सोचाईले गर्दा सामुदायिक विद्यालयको अवस्था कमजोर हुँदै गएको हो । अर्का शिक्षामा राजनीतिक हस्तक्षेप हुनु हो । शिक्षकहरू पठनपाठनमा भन्दा दलका झोला बोक्नमा व्यस्त छन् । दण्ड र पुरस्कारको व्यवस्था छैन । पढाए पनि, नपढाएपनि हुन्छ, नियमित गए पनि÷नगए पनि हुन्छ, दलहरुले शिक्षकका भातृ संगठनहरु खोलेका छन् । दलका भोट बैंक रहेका शिक्षक दलहरूबाटै संरक्षित छन् । उनीहरूलाई न कसैले दण्ड गर्न सक्छ न त सरुवा नै । न जागिरबाट हटाउनै सक्छ । जे गरे पनि हुन्छ । सामुदायिक विद्यालयमा अभिभावकको चासो पनि कम हुनु हो । साथै सचेतपुर्ण अभिभावकका छोराछोरी सामुदायिक विद्यालयमा पठनपाठन नगर्नु, नियमनकारी निकाय पनि प्रभावकारी नुहुन र अभिभावक र शिक्षकहरूको सम्बन्ध प्रगाढ नहुनु ।

तपाईँ यस विद्यालयमा कहिले प्रअ बन्नुभयो ? तपाईँ प्रअ बनेपछि के–के सुधार गर्नुभयो ?
म २०७६ मंसिर देखि यस विद्यालयको प्रअको जिम्मेवारीको रुपमा रहेको छु । मैले सुरुमा विद्यालयमा विद्यार्थीहरू अनुशासनबाट बाहिर रहेका थिए । कक्षा कोठामा पढाई हुँदाहुँदै भागेर घर जाने, शौचालयमा गएर चुरोट खाने लगायतका विभिन्न समस्या थिए । मैले ती समस्याहरु समाधान गरे । विद्यालयका भवनहरू जीर्ण अवस्थामा थिए । हामीले ती भवनहरू निर्माण गर्न सफल भयौ । साथै विद्यालयमा भूकम्प प्रतिरोधात्मक भवनहरू पनि निर्माण भए । यस्तै बिग्रेका कम्प्युटर थिए । त्यो पनि बनाए । शिक्षक नियमितता लगायतका समस्याहरु रात दिन नभनी खटिए ।

अभिभावकहरूले त अझै पनि सामुदायिक विद्यालयलाई पत्याएको देखिँदैन नि ? अब विश्वासिलो बनाउन के गर्नुपर्ला ?
हो तपाईँले भनेको कुरा शतप्रतिशत सही छ । हुन त अझै पनि झन्डै ७० प्रतिशत बालबालिका सामुदायिक विद्यालयमै पढ्छन । तर, हुनुपर्ने जति आकर्षण भने नभएकै हो । त्यसो हुनुमा नितान्त रुपमा शिक्षक, विद्यालय दोषी मान्न सकिँदैन । राज्यको ध्यान सामुदायिक सुधारमा निरन्तर हुनु जरुरी छ । जसले गर्दा सामुदायिक विद्यालयमा ध्यान कम भएको देखिन्छ । कतिपय सामुदायिक विद्यालय भौतिक रुपमा अत्यन्तै कमजोर छन् । उपयुक्त कक्षाकोठा, तालीम प्राप्त शिक्षक, यथेष्ट शिक्षक दरबन्दी छैन । अनि त्यस्तो अवस्थामा विद्यालयलेले निजी स्रोतमा शिक्षक खटाई विद्यालय चलाउनु परेको छ । दूर दराजका विद्यालयहरूमा नपत्याइएको अवस्था हो । तर आजको अवस्थामा आएर धेरैजसो सामुदायिक विद्यालयमा अभिभावकको मोह बढेको पाइन्छ । सबै शिक्षकले अरू विद्यार्थीहरूलाई पनि आफ्नो छोराछोरीहरू जस्तै सम्झिनुपर्छ । नियमित शिक्षकहरू विद्यालयमा उपस्थित हुनुपर्यो ।

यो विद्यालयमा नै विद्यार्थीहरू किन पढाउने ?
नेपाल राष्ट्रिय मावि एक निःशुल्क र सुधार केन्द्रका रुपमा परीचत छ । यसमा उत्कृष्ट, तालीम प्राप्त शिक्षकहरूको समूह छ । नेरामावि पढाउने थलो नभई सिकाउने थलो रुपमा स्थापित छ । उत्कृष्ट नतिजा सहित सुनिश्चित भविष्य र जीवनोपयोगी, व्यवहारमा कुशल ल्याउने सिकाइका लागि पनि हाम्रो विद्यालयमा स्वागत छ । अन्य विद्यालयबाट निष्कासन भएका विद्यार्थीहरू हाम्रोमा आएर धेरै कुराहरूमा परीर्वतन भएका छन । अन्य विद्यालयमा पैसा नभएर कति विद्यार्थीहरू पढ्न बाट वञ्चित भएका छन् । तर हाम्रोमा अहिले सम्म पैसा नभएर पढाई बाट वञ्चित भएको रेकर्ड छैन ।

राम्रो प्रअ बन्नका लागि तपाईँका सुझावहरू के–के छन ?
सुरुमा प्रधानाध्यापक राजनीति पूर्वाग्रही नभई सबैको साझा बन्नुपर्दछ । सबै शिक्षक तथा कर्मचारीहरूको मनोभावना बुझेको हुनु पर्दछ । आफ्नो छोराछोरीहरूलाई पनि सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ । अरू विद्यालयका विद्यार्थीहरूलाई मेरा छोराछोरी जस्तै ठान्नुपर्दछ । सबै शिक्षक तथा विद्यार्थी निर्धक्क भएर प्रअ सँग सहकार्य गर्ने वातावरण तयार गर्नु पर्दछ । विद्यालयको भौतिक, सामुदायिक, शैक्षिक पक्षहरूमा निरन्तर लागिरहनु पर्दछ । शिक्षकहरूको मनोबल बढाउने, विद्यार्थीहरूलाई निरन्तर सुझाव दिने, अभिभावकहरूसँग निरन्तर सम्पर्कमा आउने, व्यवस्थापन समितिसंग निरन्तर समझधारीको सहकार्य गर्ने हुनु पर्दछ । विद्यालयको लागि आवश्यक पर्ने स्रोतहरूको निरन्तर खोजी गरिरहने हुनु पर्दछ । म भन्दा पनि हामी भन्ने भावना भएको हुनुपर्दछ ।

सामुदायिक विद्यालयलाई कसरी प्रतिस्पर्धी बनाउन सकिएला ?
सामुदायिक विद्यालयलाई प्रतिस्पर्धी बनाउन केही कुरामा ध्यान दिन जरुरी छ । जसमा अभिभावकको चाहाना बुझ्ने हुनुर्पयो किन अभिभावक संस्थागत विद्यालय तर्फ फर्केका छन् । त्यो बुझेर सामुदायिक तर्फ फर्कने बनाउने, परीक्षाको परिणाम अर्थात सिकाइ उपलब्धि वृद्धि गरेर विद्यार्थीको आन्तरिक क्षमता अनुसार प्रतिस्पर्धाको वातावरण विद्यालयभित्र बनाउनु पर्दछ । ज्ञान, सीप, व्यवहारमा खास गरी खेलकुद, साहित्य, कलाकारिता, बोली, भाषा, संस्कार तथा सभ्यतामा आफ्नो आन्तरिक क्षमता अनुसार विकास गर्न सक्ने गरी शैक्षिक वातावरण बनाउनु पर्दछ ।

विद्यालयको आगामी योजना के–के छन ?
हाम्रो विद्यालयको मुख्य लक्ष्य भनेकै अब एसइईमा मात्रै होइन, हरेक कक्षाको नतिजा शतप्रतिशत बनाउने भन्ने नै हो । भौतिक संरचना निर्माण, शिक्षक व्यवस्थापन, शिक्षण सिकाइ, प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिने विषयमा हामी लागिरहेका छौँ । कम्प्युटर, इन्टरनेट र प्रविधिमा आधारित सिकाइ, शिक्षकहरूको दक्षता वृद्धिका लागि अनिवार्य कम्प्युटर, इन्टरनेट र प्राविधिक तालिम दिने टुहुरा, असहाय, गरिब तथा निमुखा बालबालिकाहरुलााई विद्यालय भित्र ल्याउने र खान, बस्न, लगाउन र पढ्न पाउने गरी व्यवस्था गर्ने हाम्रो योजना छ ।

प्रकाशित मिति : २०७९ फागुन १९ गते शुक्रबार