
चिन्तामणि शर्मा
सुर्खेत २६ माघ
२०६१ कार्तिक २५ गते नेपाली सेनामा भर्ना हुने र परिवारसंगै सुनौला जीवन विताउने सुनौला सपना वोकेर वीरेन्द्रनगर आएका भेरीगंगा नगरपालिका वडा नं ६ वाट ३ जना साथीहरूसहित आएका कविराम खड्का अहिले आफ्नो अपांग शरीरलाई ह्वीलचेयरमा राखेर पुराना दिन सम्झिरहेका छन् । सेनामा भर्ना हुने उद्देश्यले कपासे व्यारेकमा जवान पदमा फाराम भनेर फर्कदै गर्दा वीरेन्द्रनगर ७ को पुरानो कुष्ठरोग अस्पताल नजिक (आईएनफ नजिक) दिउँसो २:३० को समयमा उनी र उनका साथीहरूलाई गोली लागेको थियो।
आर्मी भनेर भ्रममा परी माओवादीहरुले झुक्किएर आफुहरुलाई गोली प्रहार गरेको हुनसक्ने खड्का वताउँछन। उक्त घटनामा सेनामा भर्ना हुन गएका मैनतडाका दौतरीहरु ४ मध्ये ३ जनाको घटनास्थलमा मृत्यु भएको थियो।
गोली चलेको आवाज आएपछि नेपाली सेना तत्काल आएर आफुलाई उद्दार गरेको उनी सम्झन्छन् । गोली लागेपछि ३ जना साथीहरूको घटनास्थलमै मृत्यु भएको र उनी भने करिब ५ मिनेट जति वेहोस वनेका थिए।
खड्कालाई खुट्टा र ढाडमा ३ वटा गोली लागेको थियोे ।
वेहोस भएपछि व्युझिदा उनले आफ्नो तल्लो शरिर नचलेको अनुभव गरे। ‘गोली चल्नु अघि छोप–छोप भनेको आवाज आएको थियो । त्यसपछि के भयो थाहै भएन, नेपाली सेनाले उद्दार गरि सुर्खेत अस्पताल पुर्याएछ, ‘त्रासदी लाग्दो घटना सम्झदै खड्का भन्छन्, तर त्यहा उपचार संभव नभएपछि सेनाले हेलिकप्टरवाट उपचारका लागि काठमाडौं लगेछ।’
५९ दिनसम्म आफुलाई काठमाडौंको शिक्षण अस्पताल महाराजगन्जमा राखिएको उनी वताउँछन। ढाडमा गोली रहेकोले निकाल्न नमिल्ने भन्दै शिक्षण अस्पताल महाराजगन्जले उनको शरिरमा रहेको गोली निकाल्न ईन्कार गर्यो। ‘अपरेशन गर्दा थप जोखिम हुने भन्दै नगरेरै मलाई डिस्चार्ज गर्यो,’ डाक्टरले भनेको उनी सम्झँन्छन, ‘अपरेसन गर्यो भने मरिहाल्छ, नगरे २/४ वर्ष वाँच्छ।’
त्यसपछि उनलाई आफ्नो घर आउन डर लाग्यो। उनको घर भएको ठाउँ मैनतडामा तत्कालीन माओवादीहरुको दवदवा थियो। माओवादीले फेरि भेट्टाए मार्छन कि भन्ने चिन्ताले उनी घर आउन सकेनन् ।
‘शरीरको पीडा वयान गरेर साध्यै थिएन। कता जाउ, के गरौ भन्ने भैरह्यो। दुखिरह्यो अनि कति वाचि पो हालिन्छ कि भनी भेरी अंचल अस्पताल नेपालगंजमा १४ दिन उनी भर्ना भएँ,’ उनी विगत सम्झँदै भन्छन।
उपचार गर्ने उद्देश्यले भन्दापनि घरमा आउदा माओवादीले मार्छन भन्ने डरले आफु नेपालगंज आएको र नेपालगंजको भेरी अस्पतालमा भर्ना भएको उनी वताउँछन। उनको जाँच गरिसकेपछि उनलाई नेपालगंजका डाक्टरले लखनउ जान सुझाव दिए। आफुसंग भएको ३० हजार रुपैया वोकेर लखनउ पुगेको उनी स्मरण गर्छन् । भर्ना भएको १ हप्तामा लखनउको संजीवनी अस्पतालमा अपरेसन भयो। उनले अपरेसन अघि आफन्तलाई नेपाल पठाएर रकमको जोहो गरे। घरमा आएर उनका आफन्तले जमीनलाई डिग (माथ) मा राखेर १ लाख रुपैया लिए। अनि खोल्टेपानी सामुदायिक वनले उनको उपचारको लागि रु ३० हजार रुपैया निर्व्याजी ऋण दियो।
खड्काको संजीवनी अस्पतालमा अपरेसन चार्ज मात्रै भारतीय रुपैया ६५ हजार लाग्यो । अपरेसन गरिएको दिनमा मात्रै रु १ लाख ३० हजार भारु खर्च भयो।
अपरेसन सफल भयो । ढाडमा वसेको गोली निकालियो। गोली निक्लन बित्तिकै उनको शरिर हल्का भएको महसुस भयो। डाक्टरले १ हप्ता कम्तीमा अस्पतालमा वस्नुपर्छ भनेपनि पैसा सकिएकोले जवर्जस्ती डिस्चार्ज भएर घर फर्किए ।
घरमा फर्के पनि जिउने आधार सवै समाप्त भैसकेको थियो। अन्न फलाउने जमीन उनको उपचारमा विक्री भैसकेकोले २ वर्ष जति जीवन लथालिङ्ग र निकै कष्टकर भयो। जीवन धान्न मागेरै भएपनि अघि वढ्नु पर्छ भनेर शाहस गरे। तत्कालीन मैनतडा गाविसमा आर्थिक सहयोग माग्न उनी गए। तर गाविसले रकमको सट्टामा सहयोग गरिदिनु भन्ने ‘जो जससंग सम्वन्धित छ’ व्यहोराको पत्र वनाईदियो।
त्यहि पत्र लिएर ‘मर्ता तो क्या नही कर्ता’ भनेझैं छिन्चुमा माग्न वसेको पहिलो दिनमै उनले १ हजार ९ सय चन्दा उठाए। छिन्चुमा माग्ने ठाउँ सकिएपछि वीरेन्द्रनगर जाने निर्णय गरेको उनी सम्झन्छन् । उनले वीरेन्द्रनगरमा ३ दिन मागेर ६ हजार रुपैया उठाए। अनि घरमा आएर उनले २०६३ सालमा त्यहि पैसावाट व्यवसाय सुरु गरे।
सुरुमा कुखुरा र बाख्रा पालन व्हील चेयरमै वसेर सुरु गरे। परिवारका सदस्यहरुको सहयोगमा उनले व्यवस्थापकीय भूमिका निभाए। उनले छोटो समयमै उपचार गर्दा वेचेको जमीन फिर्ता लिए । उनले अहिले ३ रोपनी जग्गामा नमुना पशुपंछी व्यवसाय गरिरहेका छन् ।
युट्वमा हेरेर वँधिया भाले वनाउन सिकेको उनी वताउछँन।
उनले अहिलेको व्यवसायमा ४२ लाख लगानी भएको वताए । वँधिया भालेको माग वढि भएको उनको भनाइ छ। वँधिया भालेलाई प्रती केजी १ हजार र लोकल कुखुराको भालेलाई प्रतिकिलो ७ सय रुपैयामा उनले विक्री गर्दै आएका छन् । यसका साथै उनले आफैले स्थानीय कच्चापदार्थको प्रयोग गरि ह्याचरी मेसिन समेत वनाएका छन् । मासिक हजारौं चल्ला उत्पादन गरि उनले विक्री वितरण गरिरहेका छन। उनको फर्ममा अहिले बँदेल प्रजनन् गरिएको छ। १२ वटा माँउ बँदेल र वीर राख्ने उन्नत खोरको निर्माणमा उनी जुटेका छन् । उनले वट्टाई चरा, टर्की, वोयर बाख्राको पालन गरिरहेका छन् ।
खड्काले अहिले खर्च कटाएर मासिक सरदर ५० हजार वचत गरिरहेका छन। उनले यूट्युवमा हेरेरै उन्नत तरिकाले खसी वाख्रा, कुखुरा पाल्न सिकेको दाबी गरे।
उनलाई कुनैपनि संघ संस्थाले हालसम्म कुनै उल्लेखनीय सहयोग गरेको छैन। ‘भेरीगंगा नगर पालिकाका पशु स्वास्थ्य शाखा प्रमुख भोजप्रसाद चपाई सरको पहलमा नगरपालिकावाट केही समय अघि ५ हजार नगद पुरस्कार पाएको वाहेक केही सहयोग लिएको छैन,’ उनी दाबी गर्छन्।
चपाईकै अनुरोधमा पशुपन्छी विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मोहोन गिरीले केही दिन पहिले खड्काको फर्ममै आई अवलोकन गरि उनलाई सहयोग गर्ने वचन दिएका थिए। उनले पशुपंछी विकास निर्देशनालयमा प्रस्ताव हाल्न खड्कालाई आग्रह
समेत गरेका थिए। गिरीले प्रस्ताव लगायतका आवश्यक सवै कागजात तैयार गर्न सहजीकरणका लागि भेरीगंगा नगर पालिकाको पशु सेवा शाखाका प्रमुख चपाईलाई निर्देशन समेत दिएका थिए।
गिरी र चपाईकै पहलमा पशुपंछी निर्देशनालयले खोर थप गर्ने परियोजनाका लागि रु ४ लाख ५० हजार दिने निर्णय गरेको छ। सोही वमोजिम वीरेन्द्रनगरवाट फर्म रहेकै स्थानमा गई संझौता गरिएको छ । फर्ममा ५०/५० प्रतिशतको लागत सहभागीतामा कुखुरा र बँदेल क्रस गर्ने थप अर्को एउटा खोर वन्न लागेको छ।
संझौता गर्न र अवलोकन गर्न खड्काका फर्म रहेको भेरिगंगा नगरपालिका वडा नं ६ को घारीवन पुगेका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रले उनको हिम्मतवाट आफु प्रभावित भएको वताए । मन्त्रालयले उनले गरिरहेको कृषिकर्मलाई सकेसम्म सहयोग गर्ने प्रतिवद्दता जनाए ।
आफ्नो व्यवसाय वढाउन उनले कृषि लोनका लागि कृषि विकास वैकको छिन्चु शाखामा गएपनि शाखाका कर्मचारीले उनलाई वेवास्ता गरेको उनी वताउँछन। अपांगलाई कर्जा नदिने भनी आफुलाई वैकका कर्मचारीले आफुलाई अपमान गरेको उनले उल्लेख गरे।
‘कृषि विकास वैक छिन्चुवाट आएका एक कर्मचारीले परिवारको नाममा फर्म नामसारी गर्नुस, ४० लाख दिन्छु भने, तर आफनो अपमान गरेकोले त्यतातिर लागिन,’ केही महिना अघिको घटना सम्झिँदै उनी भन्छन् ।
माओवादीको जनयुद्धले धेरैको विजोग वनाएको उनको वुझाई छ। ‘सेनामा भर्ना हुन गएको मेरो तन्दुरुस्त शरीर अहिले ह्वीलचेयरमा वसेर जिउनु परेको छ,’ उनी आक्रोशित हुदै भन्छन, ‘मलाई यो अवस्थामा पुर्याउने १ नंवरको दुस्मन प्रचण्ड नै हो।’ उनी भन्छन्, ‘म त सेनामा जागिर खान गएको मानिस हो, मलाई माओवादीवाट दिउँसै गोली हानियो, मेरो के दोष थियो र २१ वर्षको उमेरमा आफुलाई गोली लागेको र त्यसवेलादेखि आफु यहि अवस्थावाट गुज्रिरहेको उनले वताए । उनले अहिले आफ्नो उमेर ३८ वर्ष भएको पनि वताए । ‘लोकतन्त्रको प्रतिफल के १७ हजार अवोध नागरिकहरुको कत्लेयाम हो र’ उनी प्रश्न गर्छन।
खड्कालाई सहजरूपमा दिसापिसाव हुदैन । मलद्वारमा औषधी राखेर दिसा निकाल्नु पर्छ भने पिसाब निकाल्न उनको शरिरमा पाईप जोडिएको छ। उनलाई मासिक ६ हजार रुपैयाको नियमित औषधी सेवन गर्नुपर्छ। अहिले सुगर रोगले पनि उनलाई समातेको छ।
उनी वर्तमान राजनीति अवस्था प्रति दुखी छन् । यत्रो क्रान्ति नेताका परिवारको सुख सुविधाका लागि मात्रै भएको उनको ठोकुवा छ। जनताका लागि खासै केही नभएको उनले वताए। देशको राजनीति यहाँसम्ममा आईपुग्नुमा नेकपा अध्यक्ष प्रचण्ड मुख्य दोषी भएको उनको दाबी छ। ‘देशको दुर्दशा प्रचण्डले गराए। अन्तिममा आफु हार्ने निश्चित भएपछि उनी एमालेसंग गाभिन गए,’ उनी भन्छन्, ‘यो देशमा प्रचण्डलाई कसैले ठेगान लगाउँछ भने त्यो केपी नै हो, प्रचण्ड भन्दा पनि ओली झन चालू रहेछन्। ‘प्रधानमन्त्री ओलीले साँच्चिकै देशको हित चाहने हो भने प्रचण्डलाई छिटोभन्दा छिटो जेल हाल्नु पर्ने उनको तर्क छ।