
फाइल तस्बिर
कुलेन्द्र शाही, सुर्खेत । बालबालिका हराउने र नभेटिने तथ्यांक डरलाग्दो छ, जसमा बालिका धेरै छन् । पछिल्ला सात वर्षमा कर्णालीमा २ हजार बढी बालबालिका हराएका छन् । कर्णालीका दश जिल्लाका २ हजार १ सय ८८ बालबालिका हराएको तथ्याङ्गक कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जसमध्ये ३ सय १२ अझै नभेटिएको प्रहरीको तथ्यांक छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले खबरदृष्टिलाई उपलब्ध गराएको तथ्यांकअनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी बालबालिका सुर्खेतबाट हराएका छन् । सुर्खेतमा बालक ३ सय १८ र बालिका ६ सय २७ हराएका छन् ।
तिमध्ये ३ सय बालक र ४ सय ६० बालिका भेटिसकेका छन् । यस्तै दैलेखमा १ सय २ बालक र १ सय ९९ बालिका हराएकोमा ९० जना बालक र १ सय ८३ जना बालिका भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्गकमा उल्लेख गरिएको छ । यस्तै जाजरकोटमा ६६ बालक र ९० जना बालिका हराएकोमा ६३ जना बालक र ८४ जना बालिका भेटिएको, रुकुमपश्चिममा ६८ जना बालक र ९९ जना बालिका हराएकोमा ५३ जना बालक र ८१ जना बालिका भेटिएको प्रहरीले जनाएको छ ।
यसैगरी सल्यानमा ५६ बालक र १ सय जना बालिका हराएकोमा ५२ जना बालक र ९७ जना बालिका भेटिएको, जुम्लामा ७४ जना बालक र ७४ जना बालिका हराएकोमा ७३ बालक र ६८ बालिका भेटिएको, हुम्लामा २१ जना बालक र २५ बालिका हराएकोमा १८ बालक र २४ बालिका फेला परिसकेको प्रहरीको तथ्याङ्गकमा उल्लेख गरिएको छ ।
यस्तै कालिकोटमा ६३ बालक र ६३ बालिका हराएकोमा ६१ बालक र ६० बालिका फेला परेको, डोल्पामा २८ बालक र ३९ बालिका हराएकोमा २४ बालक र ३२ बालिका फेला परेको र मुगुमा ४० बालक र २६ बालिका हराएकोमा ३३ बालक र २० बालिका फेला परिसकेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले जानकारी दिए ।
उनकाअनुसार कर्णालीमा पछिल्लो समय बालबालिका हराउने दर बढ्दो क्रममा छ । उनले आर्थिक अवस्था कमजोर भएका कारण पनि बालबालिका हराउने गरेको जानकारी दिए । प्रवक्ता ओलीले अभिभावकको लापरबाही र आर्थिक समस्याका कारण यस्तो घटना भइरहेको जनाए ।
उनले मध्यम बर्ग, निम्न वर्गका बालबालिका धेरै हराउने गरेको उल्लेख गरे । प्रवक्ता ओली भन्छन्, ‘आर्थिक अभाव र घरयासी समस्याले बालबालिका घर छोड्ने गरेको पाइएको छ, बा–आमाबाहेक अन्य आफन्तसँग बस्ने र अभिभावक नभएकाहरू धेरै हराउने गरेका छन् । ’अर्को आफन्तमा रहेका बालबालिकाको आफन्तले ध्यान नदिने हुँदा घर छोडेर हिँड्ने गरेको उनी बताउँछन् ।
त्यसको बाबजुद पनि प्रहरीको सक्रियताले हराएका बालबालिका छोटो समयमै फेला पर्ने गरेको उनको दाबी छ । अशिक्षा र गरिबी झेलिरहेको परिवारका नानीलाई जागिर लगाइदिने र पढाइ दिने बाहनामा स्वदेश तथा विदेशमा श्रम, यौनशोषण हराएका बालिका पर्न सक्ने उनले बताए । पछिल्लो समय हुनेखाने सक्षम परिवारले पनि आफ्नो सन्तानप्रति उत्तरदायित्व बहन गर्न नसक्दा बालिका यौन र श्रमशोषणमा परेको उनले बताए ।
आफ्ना सन्तानप्रति राज्यको मात्रै उत्तरदायित्व नभएर अभिभावकले पनि दायित्व बहन गर्नुपर्ने उनको भनाइ छ । बालबालिका सम्बन्धी ऐन २०७५ मा बाँच्न पाउने, शिक्षा, खेलकुद मनोरञ्जन तथा सांस्कृतिक, पोषण तथा स्वास्थ्य, बाबु आमासँग बस्ने भेट्ने, भेदभाव विरुद्धको अधिकार, अपाङ्गता भएका बालबालिकाको विशेष अधिकार, संरक्षण सहभागिताको अधिकार उल्लेख गरिए पनि कार्यान्वयन गर्ने कुरामा राज्यले जोड दिएको पाइँदैन् ।
परिवारमा राम्रो व्यवहार नहुँदा घर छाड्नेको संख्या बढ्दै
अधिकांश बालबालिका परिवारकै कारण हराउने गरेको प्रहरीको दाबी छ । परिवारमा राम्रो व्यवहार नगर्ने, बुबाआमा कलह गर्ने, बालबालिकाले माग गरेको पूरा नगरिदिने, रिसाउने, कुट्नेजस्ता कारणले बालबालिकाले घर छाड्ने गरेको अध्ययनमा देखिएको प्रहरी बताउँछ । कतिपय बालबालिका सानै उमेरमा प्रेममा परी विवाह गरेरसमेत भाग्ने गरेको प्रहरी तथ्यांकले देखाउँछ ।
प्रवक्ता ओली भन्छन् ‘बालबालिका हराउनुको मुख्य कारण परिवार तथा अभिभावक नै हुन् । ‘बालबालिका र अभिभावकबीच पर्याप्त कुराकानी नहुने, उनीहरूको भावना नबुझ्नेजस्ता कारणले पनि बालबालिका हराउँछन् । यसबारे अभिभावक सचेत हुनुपर्ने देखिन्छ ।,’
बालबालिका भेटेपछि परिवारले खबर नगर्दा प्रहरीलाई सास्ती
परिवारको सदस्य हराए पीडितले तुरुन्त प्रहरीलाई खबर गर्छन् । खोजी गरिदिन भन्दै ताकेता गर्छन् । तर हराएका मानिस भेटिए प्रहरीलाई कमैले मात्र जानकारी दिने गरेको प्रहरी बताउँछ । कतिपय महिला र किशोर किशोरीले भागी विवाह गर्छन् । यस्ता बालबालिकालाई प्रहरीले बेपत्ताकै सूचीमा राख्ने गरेको छ । हराएका बालबालिका भेटिएपछि प्रहरीलाई जानकारी नगराउने प्रवृत्तिका कारण पनि प्रहरीको तथ्यांकमा नभेटिने बालबालिकाको संख्या ठूलो रहेको प्रवक्ता ओलीले बताए ।
उनले भने, ‘हराएका बालबालिका फेला परेपनि घरपरिवारले प्रहरीलाई खबर नगर्दा हामी निरन्तर फ्लअपमा लागिरहेका हुन्छौँ, यसले गर्दा प्रहरीलाई दुःख हुन्छ ।,’ उनका अनुसार प्रहरी सबै अभिभावक र आफन्तको सम्पर्कमा पुग्न सक्दैन, कतिपयले नभेटिएसम्म प्रहरीकहाँ ताकेता गरे पनि भेटिएपछि भने खबर गर्दैनन् । ‘बालबालिका तथा अन्य उमेर समूहका मानिस हराउना साथ प्रहरीमा रिपोर्ट गर्नेको संख्या धेरै हुन्छ, तर आफैँले भेट्टाएपछि प्रहरीलाई उहाँहरू खबर गर्नुहुन्न,’ उनले भने, ‘त्यसकारण पनि प्रहरीको तथ्यांकमा नभेटिनेको संख्या बढी देखिन्छ ।’
बालबालिका हुर्कने वातावरण बालमैत्री हुनुपर्दछ : प्रवक्ता ओली
प्रवक्ता ओलीले समुदायमा बालबालिका हुर्कने वातावरण बालमैत्री हुनुपर्ने बताए । उनले बालबालिका हुर्कने वातावरण बालमैत्री भएमा बालबालिका हराउनेको संख्यामा कमी आउने बताए । साथै प्रवक्ता ओलीले बालबालिकाहरुलाई हराउन नदिन सरोकारवाला सबै पक्षले बालबालिकाहरुलाई शिक्षा दिक्षा, पालनपोषण, सामाजिकीक तर्फ अभिप्रेरित हुनुपर्ने बताए ।
यस्तै साथीलगायत अन्य पक्षमा संवेदनशिल भएर घरपरिवारले हेरचाह एवम् सही मार्गदर्शन दिन सकेमा बालबालिका हराउने दर कम हुने उनको भनाइ छ । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।