
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सहकारी गठ भन्नेलाई पाप लाग्ने बताएका छन् । उनले सहकारीको सदस्य नै नभएको मान्छे लाई सहकारी ठग भनेको भन्दै आपत्ति जनाए । उनले मिडियालाई सहकारीका समस्याबारे आवाज उठाउन आग्रह गर्दै आफ्नो लागि लड्ने आफू नै सक्षम रहेको बताए । बुधवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सहकारी भन्ने नै रवि हो भन्ने भाष्य मिडियाले बनाइदिएको भन्दै गुनासो गरे ।
सभापति लामिछानेले आफू कुनै सहकारीको सदस्य नरहेको र सहकारी पनि रहेको दाबी गरे । ‘सहकारी भन्ने नै रवि भन्ने बनाइदिँदा लाखौँ सहकारी पीडितलाई अन्याय भएको छ । तर, मैले त प्रमाण पाए छोडिदिन्छु भनेर बसेको मान्छे । म त आफ्नो लागि लडिहाल्छु नि, आवाज भएको मान्छे हुँ, सांसद हुँ,’उनले भने, ‘तर ती तमाम मान्छेहरू छन्, जसको रकम डुबेको छ, उनीहरूमाथि अन्याय गरिएको छ, पाप लाग्छ उनीहरूलाई । सहकारी नै रवि भन्ने भ्रम छ जसको सहकारी नै छैन, सहकारीको सदस्य नै होइन ।’
सभापति लामिछानेले पोखरामा आफूलाई समाचारमा आएजस्तो व्यवहार नदेखाइएको बताए । उनले सबै नेताहरू पोखरा जाँदा पीडितहरूले आन्दोलन गर्ने गरेको सुनाए । ‘पोखरामा यस्तो भइरहन्छ, प्रधानमन्त्री जाँदा पनि कालोझण्डा देखाइएको थियो । तर के के न भएजस्तो समाचार आउँछ, त्यस्तो होइन,’उनले भने,‘उहाँहरुले न्यायको लागि आन्दोलन गर्नुभयो, म त्यसको सम्मान गर्न चाहन्छु । तर मेरो विरोध गरेर समस्या समाधान भइरहेको छैन है भनेर मैले बुझाउने कोसिस गरेको छु ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उपसभामुखलाई हटाउने कदम नचाल्न आग्रह गरेको जानकारी पनि दिए । लामिछानेले प्रधानमन्त्री ओलीलाई भेटेर उपसभामुखको विषयमा भइरहेको चर्चा परिचर्चाहरूको बारेमा वास्तविकता के हो भनी प्रश्न गरेको बताए ।
उनले आफूले यदि उपसभामुखलाई हटाउन लागेको हो भने गलत गर्दै हुनुहुन्छ भनेर सचेत गराएको बताए । उनले भने– ‘प्रधानमन्त्रीसँग मैले उपसभामुखको विषयमा असाध्यै धेरै समाचारहरू आयो । विभिन्न प्रतिक्रियाहरू विभिन्न ठाउँबाट आएका हुनाले त्यसको वास्तविकता के हो रु के सोचिरहनु भएको छ रु यसको वास्तविकता जान्नु जरुरी थियो । त्यस कारणले म उहाँसँग छलफल गर्न गएँ र मैले भने, यदि यो गर्दै हुनुहुन्छ भने गलत गर्दै हुनुहुन्छ ।’