२०८३ वैशाख ११ , शुक्रबार

रवि लामिछाने भ्रष्टाचारी हुन् : एमाले महासचिव पोखरेल



काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भ्रष्टाचारी भएको आरोप लगाएका छन्। शनिबार प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले लामिछानेले सहकारीको शेयर सदस्य नभई सहकारीको पैसा गोरखा मिडिया प्रालिमा लगानी गरेको दाबी गरे।

ग्यालेक्सी टेलिभिजनमा कार्यरत रहँदा रविले भ्रष्टाचार गरेको पाखरेलको दाबी छ । ‘गोरखा मिडिया प्रालिमा रविले विनालगानी १५ प्रतिशत शेयर भएको स्विकार गरेका छन्,’ पोखरेलले भने, ‘विनालगानी शेयरधनी बन्न पाउने नेपालको कानुनले परिकल्पना गरेको छैन । विनालगानी शेयर लिनु भनेको भ्रष्टाचार गर्नु हो ।’

सित्तैमा पैसा लिनु भ्रष्टाचार नै भएको दाबी गर्दै महासचिव पोखरेलले भ्रष्टाचारीका पक्षमा जनता लाग्न नहुने बताए । सहकारीको शेयर सदस्य नभएकालाई सहकारीले लगानी गर्नु गैरकानूनी भएकाले रविले सहकारीको सदस्य नभएको गोरखा मिडिया प्रालिमा सहकारीको पैसा हालेर अनुचित काम गरेको उनको भनाइ छ ।

सहकारी बचत रकम छानबिन समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिबार