
सुर्खेत । खेलकुदको प्रवर्द्धन र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा खुला सडक दौड प्रतियोगिता हुने भएको छ। आज (आइतवार) पत्रकार सम्मेलनमार्फत एकेडेमीका कार्यक्रम संयोजक तेज विक्रम बस्नेतले आगामी जेठ २४ गते सुर्खेतको वीरेन्द्रनगरमा खुला दौड प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।
उनकाअनुसार बिहान ७ बजे घण्टाघरबाट सुरु हुने प्रतियोगितामा १० किलोमिटर दूरीको खुला दौड (महिला तथा पुरुष) र ५ किलोमिटर दूरीको विद्यालयस्तरीय अण्डर–१८ (छात्र–छात्रा) का लागि दौड सञ्चालन गरिने छ। प्रतियोगितामा सहभागी जनाउनका लागि जेठ २२ गतेसम्म अन्तिम नाम दर्ता गरिसक्नुपर्ने र सहभागिता जनाउनका लागि कुनै शुल्क नलाग्ने उनले बताए ।
संयोजक तेज विक्रम बस्नेतले १० किलोमिटर खुला दौड प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार, चौथोले १५ हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने भएका छन्। यस्तै विद्यालयस्तरीय ५ किलोमिटर दौडमा पनि प्रथम हुने छात्र तथा छात्राले समान २० हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार, चौथोले ५ हजार र पाँचौँ स्थान हासिल गर्नेले ३ हजार रुपैयाँ प्राप्त गर्ने छन्।
साथै, छैटौँदेखि दशौँ स्थानसम्म हुनेले समानरूपमा जनही १ हजार रुपैयाँ नगद प्राप्त गर्ने भएका छन्। संयोजक तेजविक्रम बस्नेतले कर्णाली प्रदेशमा हुन लागेको दशौं राष्ट्रिय खेलकुदको तयारीलाई ध्यानमा राख्दै यो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।