
सुर्खेत । लागुऔषध अफिमको ओसारपसारमा संलग्न रहेको आशंकामा सुर्खेत प्रहरीले ५ किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोप्य सूचनाका आधारमा निगरानी र सूचना विश्लेषण गरेपछि बुधवार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका–१० तालबारीमा अफिम कारोबार भइहेको सूचना प्राप्त भएको थियो।
प्रहरी उपरीक्षक सुधीर राज शाहीले जिल्ला प्रहरी कार्यालय सुर्खेत र ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले भेरीगंगास्थित तालबारीमा बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनले बोकेको झोलाभित्र लुकाइ राखेको अफिमजस्तो देखिने ५ किलो ५४० ग्राम गिलो पदार्थ बरामद गरेको जानकारी दिए।
बस्नेतको साथबाट अफिम तौल गर्न प्रयोग गरिने डिजिटल तराजु १ थान, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका चेक धितो ५ थान र नगद ४ हजार ७ सय ३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनीमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३, दफा १४, उपदफा ६(३) बमोजिम मुद्दा दर्ता गरिएको छ।
सो दफाअनुसार १०० ग्रामभन्दा बढी अफिमको कारोबार गर्नेलाई १५ वर्षदेखि जन्मकैदसम्म कैद सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। प्रारम्भिक अनुसन्धान अनुसार जाजरकोट लगायतका पहाडी जिल्लाबाट संकलन गरिएका अफिमलाई आर्थिक लाभका लागि सिमासम्म ओसारपसार गर्ने उद्देश्य रहेको खुल्न आएको छ।
बरामद अफिमको नेपालमा मूल्य करिब ८ लाख ८६ हजार ४ सय रुपैयाँ र प्रतिकिलो मूल्य १ लाख ६० हजार अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा भने अफिमको मूल्य करोडौं पर्ने भएकाले विदेश लैजान लागेको हुन सक्ने प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।