२०८३ जेठ २० , बुधबार
हरियाली कार्यक्रम

वातावरण संरक्षणका लागि जाजरकोटमा ५४ हजार बिरुवा उत्पादन



नर्सरीमा हुर्काइएका टिमुर र अन्य प्रजातिका बिरुवा

जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले गत आर्थिक वर्ष २०८१/०८२ मा लागि ५४ हजार बढी बिरुवा उत्पादन गरेको छ । कार्यालयले जाजरकोटको भेरी नगरपालिकामा बहुवर्षीय वन नर्सरी स्थापना गरेर ५४ हजार २ सय ३४ बिरुवा उत्पादन गरेको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी अज रावलले भेरी नगरपालिकामा स्थायी बहुवर्षीय वन नर्सरी स्थापना गरेर ती बिरुवा हुर्काइएको जानकारी दिए ।

उनले नलगाडमा पनि गत वर्ष २०८१/०८२ मा वर्ष नर्सरी स्थापना गरेको तर बिरुवाहरू भने उमार्ने काम सुरु नभएको बताए । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र सामुदायिक वन व्यवस्थापनलाई सशक्त बनाउन कार्यालयले ५४ हजार २ सय ३४ बिरुवा हुर्काएको उनको भनाइ छ । उनकाअनुसार त्यसमा जडीबुटी बिरुवा, डाले घाँस, बहु उपयोगी बिरुवा, बहुवर्षीय बिरुवा रहेका छन् ।

ती बिरुवामा डिभिजन वन कार्यालयको ९ लाख २ हजार २ सय ९४ रुपैयाँमा खर्च भएको छ । सूचना अधिकारीका अनुसार रिट्ठा, तेजपात, अमला, खयर, हर्रो, बर्रो, अमला, सिसौ, काउलो, धुपी, चिउरो, टिमुर, किम्बु, लस्सी, खयर, मयुर पङ्खी, कल्की फुल लगायतका विभिन्न प्रजातिका बिरुवाहरू हुर्काइएको छ । उनले यी बिरुवाहरूबाट काष्ठ, जडीबुटी, डाँले घाँस, सौन्दर्यमूलक तथा धार्मिक प्रयोजनका लागि लगाइएको बताए ।

‘हामी आफैले स्थायी बहु वर्षीय नर्सरी स्थापना गरेर बिरुवा उत्पादन गर्न लागेका छौँ,’ उनले भने, ‘यी बिरुवा सडक क्षेत्रमा तथा खाली जग्गाहरूमा लगाउन उपयोगी हुने गर्दछन् ।,’ सडकलाई हराभरा र सौन्दर्य राख्नका लागि पनि यी बिरुवा प्रयोग हुने गरेको उनको भनाइ छ ।

उनले जाजरकोटमा हरियाली कार्यक्रम अन्तर्गत सडक किनारा, सडक डिभाइडर, सार्वजनिक र धार्मिक क्षेत्र (विद्यालय, पार्क, मन्दिर आदि) मा रोपण गरी जिल्लाका विभिन्न क्षेत्रमा हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले यी बिरुवाहरू उत्पादन गरिरहेको वितरण गर्ने काम भइरहेको बताए । यी बिरुवाहरूले वातावरणीय सुधार मात्र होइन, वनजन्य सम्पदाको दीर्घकालीन संरक्षणमा पनि योगदान पु¥याउने उनको दाबी छ ।

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिबार