२०८३ वैशाख ४ , शुक्रबार

जाजरकाेटमा सरकारी रकमबाट माओवादी कमरेडको ‘सहिद स्मृति गेट’ निर्माण



सुर्खेत । कर्णाली प्रदेश सरकारको बजेटबाट जाजरकोटको भेरी नगरपालिका–४ मा ‘सहिद स्मृति गेट’ निर्माण गरिएको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन शीर्षकको बजेट डिभिजन वन कार्यालयमार्फत प्रयोग गरि गेट निर्माण गरिएपछि स्थानीयस्तरमा चर्को विवाद चुलिएको छ ।

झन्डै १५ लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको गेट नयाँ ट्रयाक नखुलेको ठाउँमा बनाइएको छ । जहाँ राम्रो सडक छ, न त खानेपानी वा बत्ती जस्ता आधारभूत सेवा । यस्तै ठाउँमा गेट बनाउनुको औचित्यमाथि स्थानीयले प्रश्न उठाएका छन् । ‘बाटो हिलाम्मे छ, बत्ती छैन, खानेपानी छैन, तर गेट भने सहिद सम्झनाको नाममा चम्किने बनाइयो,’ एक स्थानीयले भने ।

‘सहिदको नाममा गरिने यस्ता कार्यले जनयुद्धको भावना नै कमजोर पार्ने खतरा देखिएको छ ।,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी अज रावले गेट प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट उपभोक्ता समिति मार्फत निर्माण गरिएको जानकारी दिए। उनकाअनुसार जेठ महिनादेखि सुरु गरिएको काम असार अन्तिमसम्म सम्पन्न भइ ९ लाख रुपैयाँको मात्र भुक्तानी भएको छ ।

गेटसँगै प्रतिक्षालयसमेत निर्माण गर्ने योजना भए पनि प्रतिक्षालय नबनेको उनले बताए । बजेट प्रदेश सरकारले दिएको र डिभिजनले कार्यान्वयन मात्रै गरेको उनको दाबी छ । पर्यटक पुग्ने पूर्वाधार नभएको ठाउँमा गेट बनाउनु विकास नभई राजनीतिक आकांक्षा पूरा गर्न बजेटको दुरुपयोग भएको स्थानीयको आरोप छ ।

अन्य दलका स्थानीय नेताहरूले गेट माओवादी केन्द्रले आफ्ना कार्यकर्तालाई खुसी पार्न बनाएको आरोप लगाएका छन् । स्थानीय युवाहरूले गेट निर्माणका नाममा आएको बजेट गाउँको सडक, खानेपानी, विद्यालय वा स्वास्थ्यचौकीमा प्रयोग गरिएको भए बढी उपयोगी हुने तर्क गरेका छन् । तर नेताहरूले भाषण गर्न र सहिदको सपना पुरा भएको भ्रम छर्न गेट बनाइएको बताएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार