
जाजरकोट । नेपाल टेलिकमले जाजरकोट जिल्लास्थित छेडागाड नगरपालिकामा फोरजी/टुजी सेवा सञ्चालनमा ल्याएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई नवीनतम दूरसञ्चार सेवाको पहुँचमा ल्याउने उद्देश्यले टेलिकमले छेडागाड नगरपालिका–१ को स्वडारीको संगुरखाल ठाउँमा टावर निर्माण गरेर मोबाइल सेवा सुरु गरेको हो ।
यो सेवा सञ्चालनमा आएसँगै छेडागाड नगरपालिकाको वडा नम्बर १, २, ३, ४, १२, १३ र शिवालय ९ का स्थानीय बासिन्दाहरू लाभान्वित भएको छेडागाड नगरपालिकाका सुचना अधिकारी देवबहादुर बुढाले बताए । उनले यस अघि छेडागाडका विभिन्न ठाउँमा फोन नलाग्ने हुँदा टावर सुचारु भएपछि सहज रुपमा फोन गर्न सकिने बताए । वर्षायाममा पनि बाटोघाटोको असुविधालाई ख्याल गर्दै पालिकाको तर्फबाट विभिन्न समन्वयमा फाेरजी सेवा सुचारु गरिएकाे छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्र बहादुर थापाले जानकारी दिए ।
यस्तै नेपाल टेलिकमका कर्णाली प्रदेश निर्देशक डा. कमल लामिछानेले साल्मा, दशेरा, सुवानाउली, झाप्रा लगायतका गाउँका यस सेवा विस्तारले स्थानीयको दैनिक जीवनयापन, शिक्षा, स्वास्थ्य र व्यापार/व्यवसायमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास लिएको बताए । गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्य सम्पादनमा समेत सहज हुन भएको छ ।