२०८३ वैशाख १६ , बुधबार

जाजरकोटमा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढ्दै



जाजरकोट । जाजरकोटमा बालबालिकामाथि हुने दुर्व्यवहारका घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सबै निकायबाट बालबालिकासम्बन्धी काम गर्दै आएको भए पनि दुर्व्यवहारका घटना बढ्दै जानु चुनौतीपूर्ण रहेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार गत तीन वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७९/८० मा १३ वटा बालबालिकामाथिका दुर्व्यवहारका घटना भएका थिए ।

जसमा जबरजस्ती करणीका सात, अभद्र व्यवहारका तीन र ज्यान मार्ने उद्योग एउटा रहेका छन् । त्यस्तै आव २०८०/८१ मा जबरजस्ती करणीका १३ वटा घटना भएका छन् । यसै गरी आव २०८१/८२ मा १६ वटा घटना घटेको पाइएको छ, जसमा जबरजस्ती करणीका नौ वटा, जबरजस्ती करणी उद्योगका छ वटा, अभद्र व्यवहारका एउटा घटना भएका छन् ।

यो तथ्याङ्क हेर्दा बढी जसो बालिकामा जबरजस्ती करणीका घटना बढ्दै गएको पाइएको छ । त्यस्तै गत तीन वर्षमा जाजरकोटमा ७२ जना बालबालिका हराएका दर्ता भए पनि प्रहरीको सक्रियताले सबै जना फेला परेको प्रहरीको तथ्याङ्कले जनाएको छ । आव २०७९/८० मा १० जना बालक र १७ जना बालिका गरी २७ जना हराएका थिए । यस्तै आव २०८०/८१ मा १० जना बालक र छ जना बालिका गरी १६ जना हराएका थिए भने आव २०८१/८२ मा सात जना बालक र २२ जना बालिका गरी २९ जना हराएको पाइएको छ ।

यसरी हराएका सबै बालबालिका फेला पारेर अभिभावकलाई बुझाइसकिएको डिएसपी शर्माले जानकारी दिए । हराउने बालबालिकामा भागेर कालापहाडतर्फ तथा अन्य जिल्लामा जाने गरेको प्रहरीको भनाइ छ । यस्तै प्रहरीले वर्षभरि १ हजार ४ सय २ रोपनी जमिनमा अवैध रूपमा खेती गरिएको अफिम नष्ट गरेको छ । तीमध्ये नलगाड नगरपालिकामा १ हजार ३ सय ९२ रोपनी, भेरी नगरपालिकामा ७ रोपनी र बारेकोट गाउँपालिकामा ४ रोपनी क्षेत्रफलमा अफिम नष्ट गरिएको डिएसपी शर्माले जानकारी दिए ।

उनले लागुऔषध (अफिम) सम्बन्धी ३ मुद्दा दर्ता भएको बताए । जसमा ६ जना प्रतिवादी पक्राउ परेका छन् भने ८ जना फरार छन् । प्रहरीले ९ केजी १५० ग्राम अफिम बरामद गरेको छ । यस्तै प्रहरीले ५९ वटा प्रकोपका घटना घटेका छन् । जसमा ९ जनाको मृत्यु र ३४ जना घाइते भएका छन् । सबैभन्दा धेरै घटनाहरू पहिरो (२२), चट्याङ (१२) र आगलागी (९) बाट भएका हुन् ।

भूकम्पका कारण १ सय १८ घरमा क्षति पुगेको छ । यस्तै सवारी क्षेत्रलाई व्यवस्थित गर्न २७ सय २१ सवारी साधनलाई कारबाही गर्दै २८ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ । वैशाख, जेठ र असार महिनामा मात्र ४८२ सवारी साधन कारबाहीमा परेका छन् । सवारी दुर्घटनामा ६५ दुर्घटनाहरूमा २१ जनाको मृत्यु र १६७ जना घाइते भएका छन् ।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधबार