
देशभर व्यावसायिक नेटवर्क बनाएर काम गर्दै आएको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको निक्षेप फिर्ता गर्न छाडेको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको शाखाले रकम फिर्ता नदिएपछि बचतकर्ताहरू विचल्लीमा परेका छन् ।
जाजरकोट जिल्लाबाट वीरेन्द्रनगर वडा नं १० शान्तिनगरमा चियापसल गर्दै आएकी कल्पना क्षेत्री छाक काटेर बचत गरेको ३२ हजार फिर्ता माग्न जादा संस्थाले नदिएको उनले गुनासो गरिन । सोही ठाउँमा भेटिएका रिजवाज नामका काठको कामसम्वन्धी मजदुरी गर्ने अर्का व्यक्तिले पनि बचत गरेको ४ हजार ५ सय माग्न जादा नदिएको वताए ।
सुर्खेतका जानेमाने पत्रकार सुशील खड्काले पत्रकार ग्रुपमा शिवशिखरले ३ लाख भन्दा बढी बचत फिर्ता नपाएको लेखेका छन् । सोही ग्रुपमा अर्का पत्रकार रमन र अप्सरासमेतले सहकारीबाट बचत रकम फिर्ता नपाएको उल्लेख गरेका छन् ।
मंगलबार वीरेन्द्रनगर वडा नं १० वसपार्क नजिक रहेको उक्त सहकारीको कार्यालय परिसरमा भेटिएकी एक महिलाले बाल बचत खातामा जम्मा गरेको २ लाख रुपैया फिर्ता नपाएकोमा विलौना गरिरहेकी थिईन । पीडितहरुले कार्यालयको फोन उठ्न छाडेको र पहिले आईरहने कर्मचारीहरु आउन छाडेको वताए । उनीहरूले व्यवस्थापकलेसमेत मोबाइल फोन अफ गरेर बसेका वताए । आफ्नो पेट काटेर जम्मा गरेको रकम ठगी गर्नेलाई तत्काल कारबाही गरि रकम असुली गरिदिन उनीहरूले अनुरोध गरेका छन ।
वीरेन्द्रनगर दैनिक ज्यालादारी गर्दै आएकी कल्पना देउजाले पनी मासिक रुपमा २ हजार ५ सयका दरले जम्मा गर्दै आएको ४७ हजार ५ सय रुपैयाँ माग्न जादा नपाएको वताईन । सहकारीको बारेमा समाचार माध्यमबाट नराम्रो समाचार सुनेपछि संस्थामा पैसा माग्न जादा नपाएको वताईन । खाता खोल्न भन्दै सहकारीका कर्मचारी पहिले घरघरमा पुग्दै चौध प्रतिशतसम्म व्याज दिने र धितोबिना पनि पाँच लाख रुपैयाँसम्म ऋण दिने भन्दै फकाएर लुटेको देउजाले वताईन ।
सहकारीमा बचत गरेको रकम जोखिममा रहेको थाहा पाएपछि उनी जस्तै सुर्खेत शाखामा वचत गरेका ६ हजार भन्दा बढि ग्राहकले यस्तै समस्या भोग्ने गरेका छन् । अहिले रकम भुक्तानीको व्यवस्था बन्द गरिएको छ ।
कार्यालयका व्यवस्थापक र अन्य कर्मचारीहरु सम्पर्कविहीन बनेका छन् । धेरै प्रयासपछि सम्पर्कमा आएका सुर्खेत शाखाका प्रबन्धक चन्दन थापाले सहकारीमा समस्या आएकाले बचत फिर्ता गर्न नसकिएको स्वीकार गरे । उनले अब केही दिनभित्रै संचालक समितीका सदस्यहरु सुर्खेतमा आएर वचतकर्ताको सबै बचत फिर्ता गर्ने योजना बनेको सुनाए ।
सहकारी संस्थाहरूको नियमक निकायका रूपमा संघीय सरकारको गरिबी निवारण तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी विभाग छ । प्रदेश स्तरमा रजिस्ट्रारको कार्यालय र पालिकास्तरमा सहकारी शाखा छन् । नियमनकारी निकायले यतिठूलो समस्या देखिदापनि उदासीन बनेको र जनताको बचतको सुरक्षा गर्न सकेको छैन ।
सहकारीको नियमित अनुगमन हुन नसक्दा समस्या देखिएको सहकारीका अभियन्ताहरुको भनाइ छ । राष्ट्रिय सहकारी बैंकका पूर्व संचालक हरिहरनाथ योगीले संस्थामा जम्मा हुने बचतबाटै सदस्यहरुलाई कर्जा दिईने भएकोले संस्थाले एकैचोटी बचत फिर्ता गर्न नसक्ने वताए । संस्थामा १५ देखि २० प्रतिशत मात्रै तरलता हुनेभएकोले बचतकर्ताको रकमबाटै कर्जा लगानी हुने प्रष्ट पारे ।
योगीले शिवशिखरको सम्पत्ति दायित्वभन्दा बढी रहेको आफुले सुनेको बताए । बचतकर्ताहरुले एकैचोटी निक्षेपफिर्ता नमागी अत्यावश्यक भएकाहरुले मात्रै माग गर्दा संस्थालाई सहज हुने वताए । कर्जामा लगानी भएको रकम भाकाभन्दा अगावै ताकेता गर्न नमिल्ने भएकोले वचतकर्ताहरुले पनि यो अप्ठ्यारोलाई ख्याल गरिदिनुपर्ने उनको भनाइ छ । देशभर शाखा रहेको शिवशिखर राष्ट्रियस्तरमा अनुमति लिएको सहकारी संस्था हो ।
राष्ट्रियस्तरमा अनुमति लिएका सहकारीको अनुगमन केन्द्रबाट हुने भएकोले प्रदेश र स्थानीय तहले कुनै कार्वाही गर्न सक्दैनन्। शिव शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुर जिल्लामा रजिस्टर्ड छ। यो सहकारीले २०६९ साल असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र पाएको थियो। उक्त सहकारी संस्थाले देशका विभिन्न स्थानमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर्स’ संचालन गरिरहेको छ।