सुर्खेत। जाजरकोटका सामुदायिक विद्यालयहरूले विद्यार्थी संख्या बढाउने उद्देश्यले घरदैलो अभियान सुरु गरेका छन्। नयाँ शैक्षिक सत्र सुरु भएसँगै जाजरकोटका विद्यालयहरूले विद्यार्थी भर्ना दर वृद्धि गर्न अभियान थालेका हुन्। भेरी नगरपालिका–१३ कुदुमा रहेको भगवती माध्यमिक विद्यालयले मंगलबारदेखि औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेको छ।

विद्यालयकी शिक्षक ज्योति कार्कीका अनुसार विद्यार्थी संख्या घट्दै गएपछि तथा बालबालिका विद्यालय शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। ‘नजिकै दुई वटा बोर्डिङ र तीन वटा प्रावि विद्यालय भएकाले हाम्रो विद्यालयमा विद्यार्थी संख्या कम छ,’ उनले भनिन्, ‘त्यसैले हामी घरघरमै पुगेर भर्ना गराइरहेका छौँ।,’
विद्यालयका शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका पदाधिकारीहरू मिलेर पहिलो चरणमा एक वडामा अभियान सञ्चालन गरिएको उनले जानकारी दिइन्। उनका अनुसार पहिलो दिनमै अभियानमार्फत गत वर्ष भर्ना नभएका करिब ७ जना विद्यार्थी पुनः भर्ना भएका छन्। विद्यालयले आगामी दिनमा अन्य वडाहरूमा पनि अभियान विस्तार गर्ने तयारी गरेको छ।

साथै अभिभावकहरूलाई विद्यालयमा प्रदान गरिने गुणस्तरीय शिक्षाका साथै सरकारी सुविधा र छात्रवृत्तिबारे जानकारी दिइएको छ। नेपाल सरकारले प्रदान गर्ने निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा तथा विभिन्न छात्रवृत्तिबारे धेरै अभिभावक अनभिज्ञ रहेकाले घरदैलो अभियानमार्फत सचेतना फैलाइएको शिक्षिका कार्कीले बताइन्।
उनका अनुसार सामुदायिक विद्यालयप्रतिको अभिभावकको घट्दो विश्वास बढाउन पनि यस्तो अभियान आवश्यक भएको हो। गत वर्ष यस विद्यालयमा ३१९ जना विद्यार्थी अध्ययनरत थिए। यस वर्ष विद्यार्थी संख्या बढ्ने आँकलन गरिएको विद्यालयले जनाएको छ।