२०८३ वैशाख ८ , मंगलबार

कर्णालीमा कोरोनाविरुद्धको २५ लाख ६७ हजार डोज खोप लगाइयो



सुर्खेत । सुर्खेतसहित कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसविरुद्धको २५ लाखभन्दा बढी डोज खोप लगाइएको छ । प्रदेशका १० वटा जिल्लामा यही चैत २१ गतेसम्म २५ लाख ६७ हजार १ सय ६८ डोज खोप लगाइएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सुर्खेतमा ७ लाख २१ हजार ८ सय ३ डोज खोप लगाइएको छ । सबैभन्दा कम डोल्पामा ५४ हजार ३ सय ४९ डोज कोरोनाविरुद्धको खोप लगाइएको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले खबरदृष्टिलाई जानकारी दिए ।

यस्तै, मुगुमा एक लाख ४ हजार ४ सय ४८, हुम्लामा ८१ हजार ६ सय ६६, जुम्लामा एक लाख ८७ हजार ७२, कालीकोटमा दुई लाख एक हजार ६ सय ६९, दैलेखमा तीन लाख ५९ हजार ७ सय १४, जाजरकोटमा दुई लाख ५९ हजार २ सय ८२, रुकुम पश्चिममा २ लाख ५० हजार ८ सय ३२ र सल्यानमा तीन लाख ४६ हजार एक सय ८३ डोज खोप लगाइएको छ । प्रदेशमा हालसम्म १२ लाख ५९ हजार ६ सय ४८ जनाले पहिलो खोप लगाएका छन् ।

 

सुर्खेतमा ३ लाख ३८ हजार ४ सय ४३, डोल्पामा २३ हजार ६ सय १०, मुगुमा ५० हजार ८७, हुम्लामा ३७ हजार ६ सय ३६, जुम्लामा ८२ हजार ८४, कालिकोटमा ९६ हजार चार, दैलेखमा एक लाख ९३ हजार ८ सय ५९, जाजरकोटमा एक लाख ३२ हजार ४ सय ९३, रुकुम पश्चिममा एक लाख ३० हजार २ सय २७ र सल्यानमा १ लाख ७५ हजार एक सय ५ जनाले पहिलो खोप लगाएको निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै प्रदेशमा हालसम्म ४ लाख ६७ हजार ४ सय ९६ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन् । सुर्खेतका एक लाख ३५ हजार ३ सय २२, डोल्पाका ६ हजार ३ सय १५, मुगुका १३ हजार ४८, हुम्लाका ७ हजार ६ सय ७९, जुम्लाका, २६ हजार ७६, कालीकोटका २७ हजार ६ सय ३२, दैलेखका ६८ हजार ६ सय ७१, जाजरकोटका ३४ हजार ९ सय ९२, रुकुमपश्चिमका ८० हजार ७ सय ८४ र सल्यानका ६६ हजार ९ सय ७७ जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको केसीले जानकारी दिए ।

कर्णालीमा कोभिसिल्ड, अस्ट्राजेनेका, भेरोसेल, जोन्सन एन्ड जोन्सन, फाइजर, मोडर्ना खोप लगाइएको हो । जसअन्तर्गत प्रदेशमा एक लाख ५२ हजार एक सय ३८ जनाले कोभिसिल्डको पहिलो र एक लाख ३४ हजार ७ सय ५१ जनाले कोभिसिल्डको दोस्रो खोप लगाएका छन् । यस्तै भेरोसेलको पहिलो र दोस्रो गरी कुल १० लाख ५० हजार ७०३, जोन्सन एन्ड जोन्सनको एक लाख ६४ हजार ७ सय ४०, अस्ट्राजेनेकाको एक लाख ३० हजार ४६, फाइजरको चार लाख ८५ हजार ८ सय ९ र मोडर्नाको ४ लाख ४९ हजार १ सय ३१ जनाले खोप लगाएको केसीले बताए ।

प्रदेशमा अहिले पनि कोरोनाविरुद्धको खोप लगाउने अभियान जारी रहेकाले खोप लगाउन बाँकी रहेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ । प्रदेशमा दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ । संक्रमण देखिने अधिकांश व्यक्तिहरु भारतबाट फर्किएका भएको निर्देशनालयको भनाइ छ । संक्रमणको जोखिम बढ्दै गएकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा पालना गर्न निर्देशनालयले सर्वसाधारणलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत २८ गते मंगलबार