जुम्ला । जुम्लाको पातारासी गाउँपालिका वडा नं. ४ लाई छुईगोठ मुक्त घोषणा गरिएको छ । सर्वोदय नेपालको साझेदारी, पातारासी गाउँपालिकाको महिला तथा बालबालिका शाखा र वडा नं. ४ को आयोजनामा वडालाई छुईगोठ मुक्त घोषणा गरिएको हो ।
यस्तै धामीले पनि महिनावारी हुँदा घरमै बस्न आग्रह गरेका छन् । छुइगोठ मुक्त घोषणा कार्याक्रममा थिर्पु गाउँका महारुद्ध देवतका धामी जगबहादुर बोहोराले महिनावारी हुँदा सरफाइ गरेर घरमै बस्न आग्रह गरेका छन् ।
उनले भने, ‘देवता पनि मान्छेले नै मानेका हुन् । घरमा बस्दा देवता रिसाउँछन्,पढाइ बिग्रन्छ, बिरामी परिन्छ भन्ने कुरा गलत हो । पहिलेका मान्छेसँग धेरै कपडा हुँदैन थियो । त्यसैले फोहोरका कारण अलग्गै बस्न भनिएको हो । अहिले त्यो अवस्था छैन, सरफाइ गरेर घरमा बस्दा फरक पर्दैन। म धामी भएपनि मेरा श्रीमती, छोरी र बुहारीलाई महिनावारी भएका बेला घरमा राख्ने गरेको छु ।’
पातारासी गाउँपालिकालाई छुईगोठ मुक्त पालिका बनाउने लक्ष्यका साथ सर्वोदय नेपालको साझेदारीमा सचेतना कार्याक्रम गरिएको महिला तथा बालवालिका शाखाका प्रमुख भगवती गरीले बताइन् । उनले पहिलेको तुलनामा छुईप्रथाविरुद्ध भएका सुधार र सामाजिक सशक्तीकरण राम्रो पक्ष भएको बताइन् ।
पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले गाउँमा अहिले छुईप्रथा मान्ने कुनै घर नभएको बताए । उनले भने, ‘सबै महिला, किशोरी घरमै बस्दै आएका छन् । धामी झाँक्रीहरुलाई पटक-पटक अभिमुखीकरण गर्दै आएका थियौं ।’ ४ नम्बर वडाका तिर्खु, लाम्री र डिल्लीचौ गरी तीन गाउँमा कुल पाँच सय घरधुरी रहेका छन् ।
त्यहाँ दुई हजार एक सय ९५ जनसंख्या रहेको छ । जसमा महिला एक हजार ७० जना र पुरुष एक हजार एक सय २५ जना रहेका छन् । तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले समाजमा विकृतिका रुपमा जरा गाडेर बसेको छुइप्रथा न्यूनीकरणका लागि छुईगोठ मुक्त अभियान कोशेढुंगा सावित हुने बताइन् ।
उनले भनिन्, ‘छुईप्रथा महिलाको वृत्ति विकासको बाधक हो । अब छुईप्रथालाई उन्मुलन गर्न जरुरी छ ।’ त्यस्तै सर्वोदय नेपालका निर्देशक कमल खत्रीले छुईगोठ मुक्त घोषणा गर्नुभन्दा पहिला वडाका विभिन्न गाउँका महिलाहरुलाई सचेतना दिइएको बताए । उनका अनुसार महिलाहरुलाई छुईप्रथा र छुईगोठमा बस्दा हुने असर तथा घरमा बस्दा हुने फाइदाका विषयमा जानकारी गराइएको थियो ।