
भदौं २१, सुर्खेत
नेकपा एमाले विभाजन भएपछि सुर्खेतका पालिकाका केही वडा अध्यक्ष र सदस्य नेकपा (समाजवादी) मा लागेका छन् ।
सोमवारसम्ममा प्रदेश निर्वाचन आयोगको कार्यालयमा ११ जनप्रतिनिधिले सनाखत गरेको कार्यालय प्रमुख दुर्गा प्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरबाट तीन जना वडा अध्यक्ष र पाँच सदस्यसहित आठ जना, भेरीगंगा नगरपालिकावाट एक जना सदस्य र चौकुने गाउँपालिकावाट एक जना वडा अध्यक्षले सनाखत गरेका छन् ।
१ दिनको सनाखत गर्ने समय वाँकी रहेकोले सनाखत गर्नेहरूको संख्या अझै वढ्न सक्ने संभावना रहेको छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा सुर्खेतका ४३ वडामा विजय प्राप्त गरेको थियो ।
तीन ओटा स्थानीय तहहरुः चौकुने, सिम्ता र लेकवेसी नगरपालिकामा प्रमुख उपप्रमुख सहित वहुमत र वीरेन्द्रनगरमा उप प्रमुख सहित वहुमत सदस्य जितेको थियो ।
सिम्ताका अध्यक्ष कविन्द्र कुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, लेकवेशीका नगर प्रमुख गगनसिंह सुनार, उपप्रमुख शान्ति छन्तेल, चौकुनेका अध्यक्ष धिरवहादुर शाही र उपाध्यक्ष निर्मला राना एमालेमा वसेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसमेत एमालेमै रहेकी छिन । समाजवादीमा वीरेन्द्रनगर नगरपालिकाका तीन जना वडा अध्यक्षहरु लागेका छन् । उक्त दलमा वीरेन्द्रनगर वडा नं. ८ का थम्मप्रसाद गौतम, वडा नं. १० का रत्नवहादुर बुढा र वडा नं. १२ का लोकप्रसाद चालिसे रहेको श्रोतले वताएको छ ।