२०८२ माघ ७ , बुधबार

पुराना दल सकिए भन्ने नठान्नुस्‚ एमालेको सरकार आउँछ : केपी ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न चेतावनी दिएका छन्। उनले चुनावपछि एमालेको सरकार आउने पनि दावी गरेका छन्। शनिवार च्यासलस्थित पार्टी कार्यालयमा पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने चुनौती दिए।

उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकाले महाधिवेशनलाई भव्य बनाउनुपर्नेमा जोड दिए। “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो। त्यसैले यसलाई सफल बनाउनुपर्छ”‚ उनले भने, “महाधिवेशन नेपाली जनता र देशको भविष्यको लागि आवश्यक छ।” उनले जनताको शक्तिलाई निर्णायक शक्तिमा महाधिवेशन आयोजना गरिएको बताए।

अध्यक्ष ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिए। “हामीले चुनाव पर्खिरहेका छौँ। चुनावबाट आउने सरकार एमालेको हुन्छ”‚ उनले भने, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउनेछ।” एमाले महासचिव शङ्कर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताए।

एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उनको भनाइ थियो। महाधिवेशन प्रचार समितिकी संयोजक पद्मा अर्यालले प्रभावकारी रूपले महाधिवेशन र पार्टीका गतिविधि प्रचार गर्न नवयुग ई–बुलेटिन प्रकाशनमा ल्याइएको बताइन्। महाधिवेशनको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्नेमा जोड दिइन्। ई–बुलेटिनमा हरेक दिन बेलुका ७ बजे महाधिवेशनको गतिविधि प्रकाशित गरिने बताइन्।

प्रकाशित मिति : २०८२ मंसिर २० गते शनिबार