सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य एबम् पूर्व मन्त्री रणसिंह परियारले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निरन्तरता दिन नसक्ने बताएका छन्। पूर्व मन्त्री परियार आफ्नो गृह जिल्ला हुम्लाको अदानचुली गाउँपालिका १ स्थित जनकल्याण आधारभूत विद्यालय (प्रस्तावित माध्यमिक विद्यालय) कल्खेको अध्यक्ष पदमा सर्वसम्मत चयन भएका थिए।
विद्यालयको व्यवस्थापन समितिको अध्यक्षको लागि गत मंसिर २१ आईतबार गते बसेको सर्वपक्षीय बैठकले उनलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सर्वसम्मत चयन गरिएको थियो। अध्यक्ष भएको दुई दिनमै पूर्वमन्त्री परियारले मंगलबार एक विज्ञप्ति निकाल्दै विद्यालय व्यवस्थापनको अध्यक्षमा निरन्तरता दिन नसकिने बताएका छन् ।
परियारले विज्ञप्ति जारी गर्दै समुदाय, अभिभावक तथा बुद्धिजीवीहरूबाट प्राप्त विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै व्यक्तिगत कारणका कारण आफूले अध्यक्ष पद सम्हाल्न नसक्ने जानकारी दिएका छन्। उनले विद्यालयको शैक्षिक विकासका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्ने भएपनि आफ्नो कार्य दायित्वले सो भूमिकामा निरन्तरता दिन कठिन हुने भएकाले मिति २०८२ मंसिर २२ सोमबार बसेको भर्चुअल बैठकमै पद सम्हाल्न नसक्ने प्रस्ताव समितिमा पेश गरिसकेको समेत जानकारी दिए। उनले केही मिडियामा आफूलाई लक्षित गरी ‘अनर्गल प्रचार–प्रसार’ भइरहेको भन्दै परियारले यसबारे सचेत रहन समेत आग्रह गरेका छन्।
